फेरि कोभिड लहर शुरु हुने संकेत, यूरोप र पूर्वी एशियामा यात्रा प्रतिबन्ध

वैज्ञानिकहरूले अहिलेसम्म देखापरेका कोरोना भाइरसका भेरिएन्टमध्ये यो सबैभन्दा धेरै उत्परिवर्तित भएको बताएका छन्।

नेपालभ्युज

फेरि कोभिड लहर शुरु हुने संकेत, यूरोप र पूर्वी एशियामा यात्रा प्रतिबन्ध

काठमाडौं। नेपालमा राजनीतिक दलहरूले महाधिवेशन र सम्मेलनका लागि भीडभाडयुक्त कार्यक्रम, भेला र आवतजावत तीव्र बनाइरहँदा संसारमा फेरि एकपटक कोभिडको लहर शुरु हुने संकेत देखापरेको छ।

यही हप्ताको शुरुमा दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपछि यूरोपेली र पूर्वी एशियाली देशहरूले यात्रा प्रतिबन्ध लगाएका छन्।

विश्व स्वास्थ्य संगठनले ‘जोखिमका आधारमा र वैज्ञानिक तरिकाले’ अनुसन्धान गर्ने भन्दै यात्रा प्रतिबन्ध नलगाउन कडा चेतावनी दिँदादिँदै पनि बेलायत, जापान र नेदरल्याण्डले दक्षिण अफ्रिका, बोत्सवाना, नामिबिया, जिम्बावे, इस्वतीनी (पुरानो स्वाजिल्याण्ड) र लेसोथोबाट आउने विमानमा प्रतिबन्ध लगाएका हुन्।

सिंगापुर, इटाली र इजरायलले ती देशलगायत मोजाम्बिकलाई खतराको सूचीमा राखेका छन्।

यूरोपियन कमिसनकी प्रमुख उर्सुला भोन डेर लेयेनले यूरोपेली युनियनभरी भेरियन्ट फैलिएको क्षेत्रबाट उडान प्रतिबन्ध लगाउने प्रस्ताव राखेकी छन्। ती देशमा १२ घण्टाभन्दा बढी बिताएका व्यक्तिलाई भोलि(२७ नोभेम्बर) देखि प्रवेश प्रतिबन्ध लगाउने निर्णय चेक गणतन्त्रले गरेको छ।

त्यस्तै कोभिड महामारीको चौथो लहरमा रहेको जर्मनीले दक्षिण अफ्रिकाबाट जर्मनहरूलाई मात्र आउन दिने र भ्याक्सिन लगाएको भए पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय गरेको छ।

वैज्ञानिकहरूले नयाँ भेरियन्टबारे अझै धेरै जानकारी बटुलिसकेका छैनन् तर यसबारे चिन्ता व्यक्त गरिरहेछन्।

वैज्ञानिकहरू यो भेरियन्ट कति छिटो प्रसार हुन्छ भन्ने अनुसन्धान गरिरहेकाले यसको असर बुझ्न केही हप्ता लाग्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

यो चिन्ता गर्नुपर्ने कारण के हो भने, यसअघि देखापरेका कोरोना भाइरसका विभिन्न भेरियन्टभन्दा यो धेरै हिसाबले फरक छ।

वैज्ञानिकहरूले अहिलेसम्म देखापरेका कोरोना भाइरसका भेरियन्टमध्ये यो सबैभन्दा धेरै उत्परिवर्तित भएको बताएका छन्। त्यसैकारण अघिल्ला भेरियन्टका कोरोना भाइरसका लागि बनाइएको भ्याक्सिनले काम नगर्ने खतरा छ।

यसअघि देखापरेका भेरियन्टलाई डेल्टा, बीटा नाम दिइएजस्तो यसको नामकरण पनि भइसकेको छैन। अहिलेसम्म यो भेरियन्टलाई ‘बी.१.१.५२९’ भनिएको छ। आज रातीसम्म विश्व स्वास्थ्य संगठनले यसको नामकरण गर्ने आशा गरिएको छ।

कहाँ–कहाँ फेला पर्‍यो ?

विश्व स्वास्थ्य संगठनका अनुसार एक सयभन्दा कम नमूना मात्र पठाइएको छ। खासगरी यो भेरियन्ट दक्षिण अफ्रिकामा भेटिएको छ। त्यसैगरी हङकङ, इजरायल र बोत्स्वानामा पनि यसको संक्रमण पाइएको छ।

बेलायतका स्वास्थ्य मन्त्री साजिद जाभिडले यो भेरियन्ट अन्य देशमा पनि फैलिनसक्ने सम्भावना उच्च भएको बताएका छन्।

हालसम्म दक्षिण अफ्रिकाको जनसंख्याको २४ प्रतिशतले मात्र पूर्ण रूपमा कोभिड भ्याक्सिन लगाएका छन् जसले गर्दा त्यहाँ संक्रमण फैलिन सक्ने ‘साइन्टिफिक प्यान्डेमिक इन्फ्लुएन्जा मोडलिङ ग्रुप’का एक सदस्यले बताएका छन्।

हङकङमा दक्षिण अफ्रिकाबाट आइपुगेका व्यक्ति होटल क्वारेन्टाइनमा बसेका बेला अर्का व्यक्तिलाई सरेको पाइएको छ। दुवैले पूर्ण रूपमा भ्याक्सिन लगाएका थिए।

इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले नयाँ भेरियन्टका कारण ‘आपतकालीन स्थितिको संघारमा रहेको’ बताएका छन्।

दक्षिण अफ्रिकाका विदेश मन्त्रीले भने प्रतिबन्ध घोषणा गर्ने बेलायतको आलोचना गरेका छन्। ‘हतारको निर्णय’ भन्दै उनले टिप्पणी गरेका हुन्।

कति फरक छ यो भेरियन्ट ?

वैज्ञानिकहरूले यो भेरियन्टलाई महामारी शुरु भएयता भेटिएकामध्ये सबैभन्दा डरलाग्दो बताएका छन्। कोरोना भाइरसको सतहमा प्रोटिनका तीखा चुच्चाहरू छन् जसलाई ‘स्पाइक प्रोटिन’ भनिन्छ। अहिलेसम्म बनाइएका धेरैजसो भ्याक्सिन यही स्पाइक प्रोटिनमा आधारित छन्। तर यो भेरियन्टमा भने स्पाइक प्रोटिनमा ३२ वटा उत्परिवर्तन भएको पाइएको छ। उत्परिवर्तन भनेको आनुवंशिक गुणमा आउने हठात् परिवर्तन हो। यसमा भएको उत्परिवर्तन डेल्टा भेरियन्टको तुलनामा दोब्बर हो। उत्परिवर्तनले मानव कोषलाई असर गर्ने र फैलिने क्षमता तीव्र बनाउन सक्छ।

बीबीसी र गार्जियनको सहयोगमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved