एमाले महाधिवेशनमा प्रदेश २ बाट २३२ प्रतिनिधि

प्रभु साह र रघुवीर महासेठ एकै पदमा उठ्ने !

नेपालभ्युज

एमाले महाधिवेशनमा प्रदेश २ बाट २३२ प्रतिनिधि

जनकपुरधाम। नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा शुक्रबारदेखि शुरु हुँदैछ। एमालेका लागि प्रदेश २ अहिले निकै महत्वपूर्ण मानिएको छ।

एमाले विभाजनपछि प्रदेश २ मा नेकपा एकीकृत समाजवादी बलियो देखिएको छ भने एमाले तुलनात्मक रुपमा कमजोर छ।

यस पटकको महाधिवेशनमा एमालेभित्र गुट नदेखिए पनि आन्तरिक रूपमा भने गुटबन्दी मौलाउँदै गएको नेता-कार्यकर्ताहरूको भनाइ छ।

यद्यपि माधव नेपालको नेतृत्वमा एमालेबाट एउटा समूह बाहिरिएपछि भने एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खासै कसैले बोल्ने आँट गर्न सकिरहेका छैनन्।

आसन्न महाधिवेशनमा प्रदेश २ बाट दुई दर्जनभन्दा बढी कुनै न कुनै पदमा आकांक्षी बन्ने चर्चामा छन्। यद्यपि महाधिवेशनमा प्रदेश २ बाट कसले कुन पदमा उम्मेदवारी दिने सम्बन्धमा नेताहरू खुल्न खोजेका छैनन्।

जसरी एमालेको नवौँ महाधिवेशनमा विभिन्न पदका आकांक्षीहरूको चहलपहल निकै देखिएको थियो त्यस हिसाबमा अहिले १० औं महाधिवेशनमा भने उम्मेदवारीका लागि आकांक्षीहरूको चहलपहल देखिएको छैन।

१० औं महाधिवेशनमा ओली नजिक मानिएका रघुवीर महासेठ र माओवादीबाट एमाले प्रवेश गरेका प्रभु साह एउटै पदमा भिड्ने स्थिति रहेको बताइएको छ। यी दुई नेता सचिव पदमै भिड्ने योजनामा छन्। दुवै अहिले ओली नजिकका नेता मानिन्छन्।

महासेठ धनुषाबाट र साह रौतहटबाट प्रतिनिधित्व गर्छन्। प्रदेश २ बाट महासेठलाई सचिव पदमा साहले चुनौती दिने देखिएपछि ओलीलाई यी दुईमध्ये एकलाई रोज्न समस्या हुने देखिएको छ।

प्रदेश २ बाट जुली महतो, सुमन प्याकुरेल, हरिनारायण महतो, उत्तम गौतम, टेकबहादुर बलमपाकी, सुवोध यादव, रामदयाल मण्डल, लीलानाथ श्रेष्ठ, राजनारायण साह, बलवीर चौधरी, प्रभु हजरा, रामचन्द्र मण्डल, बसरुद्दिन अन्सारीलगायत नेताहरू केन्द्रीय सदस्य पदका आकांक्षी मानिएका छन्।

एमाले १० औँ महाधिवेशनका लागि प्रदेश २ बाट २३२ जना प्रतिनिधि छन्। प्रदेश २ का एमाले सचिव मनोज खड्काका अनुसार अहिलेसम्म २३२ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ। तर यसमा संशोधन हुन सक्ने सम्भावना रहेको उनले बताए।

उनका अनुसार धनुषाबाट ५३, महोत्तरीबाट ३२, सर्लाहीबाट १३, सिरहाबाट २२, सप्तरीबाट २०, रौतहटबाट २७, बाराबाट ३८ र पर्साबाट २७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ।

यस्तै, प्रदेश कमिटीबाट ५ जना मनोनित गरिएको छ भने मजदुरबाट ७ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन्। केन्द्रले पनि आजै प्रदेश २ बाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved