खाडी मुलुकमा लगाइएको कामदार प्रतिबन्ध फुकुवा गर्नुपर्छ : श्रममन्त्री श्रेष्ठ

नेपालभ्युज

खाडी मुलुकमा लगाइएको कामदार प्रतिबन्ध फुकुवा गर्नुपर्छ : श्रममन्त्री श्रेष्ठ
फाइल तस्वीर

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले खाडी मुलुकमा घरेलु कामदार पठाउन लगाइएको प्रतिबन्ध फुकुवा गर्न संसदीय समितिलाई आग्रह गरेका छन्।

मन्त्री श्रेष्ठले विदामा आएका घरेलु कामदारलाई विदेश जान पुनः श्रम स्वीकृति दिने वातावरण बनाउन प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा यस्तो आग्रह गरेका हुन्। उनले कतिपय घरेलु कामदार आउन नपाउने डरले विदेशमा नै बसेको र विदामा घर आएका नेपाली कामदार रोजगारीमा फर्कनबाट बञ्चित भएको बताए।

‘‘रोजगारिका लागि जान चाहने नयाँ घरेलु कामदारको विषयमा छलफल गर्न सकिन्छ तर पुरानाको हकका भने समितिले तत्काल निर्देशन जारी गर्नुपर्छ,” उनले भने।

समितिको बैठकमा सांसद्हरूले बिचौलियाका कारण वैदेशिक रोजगारीमा जाने कामदार ठगिने गरेको भन्दै नियन्त्रण गर्न कठोर कदम चाल्न मन्त्री श्रेष्ठलाई सुझाव दिएका थिए। सांसद्हरूले वैदेशिक रोजगारमा जाने कामदारका लागि व्यवस्था गरिएको फ्री भिसा फ्री टिकट कार्यान्वयन नै नभएको भन्दै गुनासो समेत गरेका थिए। सांसद्ले निर्णय भएको लामो समय बित्दा पनि कामदारले म्यानपावर व्यवसायीलाई मोटो रकम बुझाउनुपर्ने अवस्था विद्यमान रहेकाले यसको समाधान गर्न आग्रह गरेका थिए।

उक्त समितिमा श्रम, रोजगार तथा सामाजिक सुरक्षासचिव सूर्यप्रसाद गौतमले सरकारले बेलायतमा रोजगारीका लागि १० हजार नर्स पठाउन लागिएको बताएका थिए। नर्स लैजाने विषयमा बेलायतसँग सम्झौता तयारी भइरहेको उनले बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved