सुरक्षा घेरामा अदालतभित्रै कुटिएँ : कानून व्यवसायी

नेपालभ्युज

सुरक्षा घेरामा अदालतभित्रै कुटिएँ : कानून व्यवसायी

काठमाडौं। नेपाल बार एशोसिएशनले सर्वोच्च अदालतभित्रै कानून व्यवसायीमाथि कुटपिट भएको बताएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध विगत एक महीनादेखि आन्दोलनरत कानून व्यवसायी र अदालत परिसरमा खटिएका दंगा प्रहरीबीच केही दिनयता धकेलाधकेल हुँदै आएको छ।

सोही क्रममा बारका सदस्य प्रकाश महर्जन गम्भीर घाइते भएका छन्। आफूलाई सुनियोजित रुपमा तानेर सुरक्षा घेरामा अदालतभित्रै कुटपिट गरिएको उनले बताए। ‘‘अदालतलाई गृह मन्त्रालयको कब्जामा राखेजस्तो देखियो। कलम बोकेका निहत्था कानून व्यवसायीमाथि आक्रमण गरियो,” उनले भने, ‘‘प्रधानन्यायाधीशविरुद्ध सबै दल मिलेर तुरुन्त महाअभियोग लाउनुपर्छ।”

उनले तत्काल अदालतबाट प्रहरी हटाउनुपर्ने बताए। जबराले रञ्जन कोइरालाको मुद्दा सजाय घटाउने फैसला गरेको आरोप लगाए।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले संसारमा कुनै पनि अदालतमा प्रहरी एसएलआर बन्दुक बोकेर नआउने बताउँदै जबराले व्यक्तिगत, सार्वजनिक र संवैधानिक नैतीकता गुमाएको आरोप लगाए।

मानव अधिकार आयोगकी पूर्वसदस्य तथा अधिवक्ता मोहना अन्सारीले सर्वोच्च युद्धमैदान नभएको बताउँदै प्रहरी हटाउनुपर्ने बताइन्। ‘‘प्रधानन्यायाधीशमाथि भ्रष्टाचार आरोप लागेको छ तर, सबै विधायिका मौन छन्,” उनले भनिन्। मानवअधिकार र संविधानको उल्लंघन भएको उनको भनाइ थियो।

अधिवक्ता परशुराम कोइरालाले सीमित मुद्दा हेर्दा बेञ्च बसिरहेको बताउँदै उनले आफूले नै सर्वोच्च चलाइरहेको भ्रमबाट जबराको दिवास्वप्न भएको बताए। जबरा आफू पनि बदनाम भएको र संस्थालाई पनि बदनाम लागिपरेको आरोप कोइरालाको थियो।

न्यायाधीशहरूले बुधबार फुलकोर्ट बैठकबारे छलफल गर्ने एक न्यायाधीशले बताए। छलफलबाट फुलकोर्ट बैठकको मिति तय गर्ने जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved