धनुषाका ९ पालिकामा कांग्रेसको अधिवेशन सकियो, सबै निधिनिकट चयन

धनुषाका ९ पालिकामा कांग्रेसको अधिवेशन सकियो, सबै निधिनिकट चयन

जनकपुरधाम। आइतबारदेखि शुरु नेपाली कांग्रेसको पालिका अधिवेशनअन्तर्गत धनुषाका १८ स्थानीय तहमध्ये आठ वटामा सर्वसम्मत नेतृत्व चयन भएका छन्।

निर्धारित तालिकाबमोजिम जनकपुरधाम उपमहानगरपालिकासहित धनुषाका नौ वटा पालिकामा कांग्रेसको अधिवेशन सम्पन्न भएको छ भने विवादका कारण नौ वटा स्थानीय तहमा भने अधिवेशन हुन सकेको छैन।

अधिवेशन सकिएका यी नौ वटै स्थानीय तहमा सभापति शेरबहादुर देउवाभन्दा विमलेन्द्र निधि पक्ष बलियो देखिएको छ।

उपसभापति निधि आफैं तीन दिनदेखि धनुषामा सक्रिय छन्। केही समयअघिसम्म देउवा पक्ष निकै बलियो देखिए पनि अहिले अवस्था उल्टिएको हो।

अर्को तर्फ वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको नेतृत्व गरिरहेका रामकृष्ण यादवले भने मध्यमार्ग अपनाएर आफ्नो गुटको पक्षमा राम्रो नतिजा ल्याएको दाबी गरिरहेका छन्।

कांग्रेस धनुषाका सभापति महेश शंकर गिरीले केहीमा सर्वसम्मतको प्रयास भइरहेको र केहीमा चुनाव गर्ने टुंगो लागिसकेको जानकारी दिए।

सभापति गिरीका अनुसार जनकपुरधाम उपमहानरपालिकामा मनोज साह, नगराइन नगरपालिकामा विनय यादव, क्षीरेश्वरनाथ नगरपालिकामा लालबाबु यादव, हंसपुर नगरपालिकामा जयनारायण कापडी, धनुषाधाम नगरपालिकामा चन्द्रदेव यादव, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा विश्वनाथ यादव, लक्ष्मीनिया गाउँपालिकामा भोगेन्द्र मिश्र, मिथिला नगरपालिकामा जोगी महतो र औरही गाउँपालिकामा युगल सिंह कांग्रेसका सभापति चयन भएका छन्। यी पालिकामा सर्वसम्मत नेतृत्व छानिएको हो।

त्यसैगरी मिथिला बिहारी नगरपालिका, धनौजी गाउँपालिका र बटेश्वर गाउँपालिकामा पनि सहमति जुटाउने प्रयास भइरहेको सभापति गिरीले जनाए।

यस्तै सबैला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका, विदेह नगरपालिका, सहिद नगरपालिका र जनकनन्दनी गाउँपालिकामा पनि सर्वसम्मती नजुटेपछि निर्वाचन गर्ने टुंगो लागिसकेको उनले बताए। सभापति गिरीले भोलि मंगलबारसम्म बाँकी सबै पालिकामा अधिवेशन सक्ने तयारी रहेको जानकारी दिए।

निर्वाचन अधिकृत अरुण कुमार ज्ञवालीले पनि सहमति नजुटेको पालिकाहरूमा निर्वाचन प्रक्रिया बढिसकेको बताए।

विवाद भएका कतिपय पालिकामा पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल र उपसभापति निधिका पक्षधरबीच विवाद रहेको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved