चुरे तराईको जीवन हो, संरक्षण र सम्वर्द्धनमा सबै एकजुट हुनुपर्छः राष्ट्रपति भण्डारी

सीताको जन्मभूमिमा जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास, अशिक्षाले सिर्जित गरिबीको समस्या हुनु चुनौती र दुःखको विषय हो।

चुरे तराईको जीवन हो, संरक्षण र सम्वर्द्धनमा सबै एकजुट हुनुपर्छः राष्ट्रपति भण्डारी

जनकपुरधाम। राष्ट्रपति विद्यादेवी भण्डारीले तराईको जीवन चुरे रहेकाले यसको सबै एकतावद्ध भएर संरक्षण गर्नुपर्ने बताएकी छन्। तराईको दिगो विकासका लागि बाढी र डुबानको समस्या हटाउन जरुरी रहेको बताउँदै उनले यसका लागि नदी नियन्त्रण र चुरे दोहन रोकी चुरेको संरक्षण गर्नु जरुरी रहेको बताइन्।

आज महोत्तरीको मटिहानी नगरपालिकामा नवनिर्मित रङ्गशालाको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘‘चुरे तराईको जीवन हो। यसको संरक्षण सम्वर्द्धन गर्न सबै एकजुट भएर लाग्नु पर्छ।”

चुरे विनाशले नै वर्षेनी डुबान र ठूलो जनधनको क्षति हुने गरेको बताउँदै राष्ट्रपति भण्डारीले चुरे दोहन रोक्नु र नदी प्रणालीलाई सुधारको आवश्यकतामा जोड दिइन्। उनले भनिन्, ‘‘तराईलाई दिगो विकासको अवधारणाबाट विकास गरी बचाउनु पर्छ। समृद्ध बनाउनु पर्छ।”

उनले अन्नको भण्डार तराईलाई कृषि आधुनिकीकरण तथा व्यवसायीकरण गर्नुपर्ने बताइन्। देशमै सीप सिकाएर स्वरोजगारको वातावरण सृजना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने उनको भनाइ छ।

जनताको विकास आकांक्षाहरुलाई मूर्तरुप दिन जनप्रतिनिधिहरु लागि पर्नु खुशीको कुरा रहेको चर्चा गर्दै राष्ट्रपति भण्डारीले जनआकांक्षालाई आत्मसात् गरी स्थानीय सरकार जनताका आवश्यकतालाई सम्बोधन गर्न अग्रसर हुनुपर्ने बताइन्।

भण्डारीले जनकनन्दिनी सीताको जन्मभूमिमा जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास, अशिक्षाले सिर्जित गरिबीको समस्या हुनु चुनौती र दुःखको विषय भएको बताइन्। उनले भनिन्, ‘‘प्राचीन ऋषिहरुको ज्ञान, विवेचना र मीमांसाको यो थलोमा अझै पनि बालविवाह, अनमेल विवाह, दहेज र तिलक प्रथा तथा बोक्सी प्रथाजस्ता विकृति विसंगति हुनु दुःखको विषय हो।”

प्रदेश सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमको सराहना गर्दै राष्ट्रपति भण्डारीले यस्ता कार्यक्रमलाई अन्य प्रदेशले पनि लागू गर्नुपर्नेमा जोड दिइन्।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारको असहयोगले प्रदेश सरकारले गति लिन नसकेको बताउँँदै मानव सूचकाङ्कमा कर्णालीभन्दा पनि पछिपरेको बताए। उनले प्रदेश २ सीमित स्रोतसाधनको वावजुद सुधारको दिशामा अगाडि बढिरहेको जनाए।

राष्ट्रपति भण्डारीले नेपालकै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गरेकी छन्। ५५० वर्षको इतिहास बोकेको मटिहानीस्थित लक्ष्मी नारायण मठमा पूजा अर्चना गरेकी छन्।

भण्डारीले मटिहानीको रंगशाला उद्घाटनपश्चात् महोत्तरीको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गरेकी छन्। उनले पूजा गर्ने भएपछि बाह्रैमास पानीमा जम्ने जलेश्वरनाथ महादेवको गुफाबाट नेपाली सेनाले पानी बाहिर निकालेको थियो। त्यसपछि, उनले गुफा गृहमै प्रवेश गरेर पूजाअर्चना गरेकी थिइन्।

जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिंढीमुनि जमिनभित्र रहेको छ। यहाँ सधै जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षभरि नै जलमै विराजमान रहने धार्मिक विश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved