बलात्कार पश्चात् हत्या गरेको आरोपमा २ युवक पक्राउ

बलात्कार पश्चात् हत्या गरेको आरोपमा २ युवक पक्राउ

जनकपुरधाम। महोत्तरीकी अमृता सदाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी बलात्कार तथा हत्याका आरोपीहरूलाई सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा महोत्तरीको भंगहा नगरपालिका–५ सीतापुर बस्ने २४ वर्षीय विपिन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी प्रकाश विष्टले जानकारी दिएका छन्। भंगहा–२ बखरी टोलकी दलित समुदायकी ३५ वर्षीया अमृतामाथि रातभरि बलात्कार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

डिएसपी विष्टले मंसीर १ गते बुधबार आरोपी विपिनलाई उनकै गाउँबाट र मनोजलाई सिरहाको मिर्चैया नगरपालिका–५ पक्राउ गरिएको जनाए। उनीहरूमाथि जबर्जस्तीकरणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ। गत असोज १३ गते झन्डा मेला हेर्न लगेर उनीहरूले अमृतामाथि रातभरि बलात्कार गरेको एसपी दिनेश आचार्यले बताए।

‘‘मेला हेर्न जाउ भनी झुकाएर साँझ ९ बजे लगे। गाउँ नजिकैको चौरीमा पुर्‍याएर दुवै जनाले पालैपालो बलात्कार गरे,’’ एसपी अचार्यले भने, ‘‘सामूहिक बलात्कारबाट बेहोस भएकी अमृतालाई भोलि पल्ट बिहान ३ बजे घर नजिकै सडकमा छोडेर फरार भए।’’

घाइते अमृतालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएकोमा उनको असोज १४ गते उपचारको क्रममा मृत्यु भएको थियो।

दुई वर्षअघि अमृता र मनोज बीच चिनजान भएको थियो। मनोजले आफ्ना साथी विपिनसँग मिलेर असोज १३ गते अमृताको घर अगाडि पुगेर फोन गरी बोलाएर राति ज.९ प ५१५८ नम्बरको मोटरसाइकलमा लगेर बलात्कार पश्चात् हत्या गरेको अभियोग उनीहरूमाथि लागेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved