सिधै मिडियामा गएको भन्दै कप्तानसहित चार खेलाडीलाई क्यानले सोध्यो स्पष्टीकरण

सोमपाल कामी किन ‘बी’ श्रेणीमा परेको भनेर प्रमाणित गर्ने आधार क्यानसँग भएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले दाबी गरे। उनले भने, ‘‘पछिल्लो वर्षदेखि खेलिएका ६ राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सोमपालले चारवटा मात्र खेलेका छन्। अनि कसरि ‘ए’ श्रेणीमा राख्न मिल्छ?”

सिधै मिडियामा गएको भन्दै कप्तानसहित चार खेलाडीलाई क्यानले सोध्यो स्पष्टीकरण

काठमाडौं। नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले बेलाबेलामा नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान)सँग विभिन्न विषयमा असन्तुष्टि जनाउँदै आएका छन्। पछिल्लो समय क्यानले गरेको खेलाडी वर्गीकरणमा चित्त नबुझेपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसँगै केही खेलाडीले १७ कात्तिकमा एक मिडियामा असन्तुष्टि पोखेका थिए।

सोही विषयमा क्यानले कप्तान ज्ञानेन्द्रसँगै अन्य तीन खेलाडीलाई स्पष्टीकरण सोधेको छ। खेलाडी वर्गीकरणको विषयमा आधिकारिक रुपमा संघमा नआइकन मिडियामा गएको भन्दै ज्ञानेन्द्रसँगै उपकप्तान दिपेन्द्र सिंह ऐरी तथा सोमपाल कामी र कमल सिंह ऐरीसँग पनि क्यानले स्पष्टीकरण सोधेको हो।

क्यानले चार पाँच दिनअघि नै खेलाडीहरुसँग स्पष्टीकरण मागेको भए पनि सोमबार मिडियामा सूचना आएको हो। क्यानले जवाफका लागि सात दिनको समय दिएको छ। आउँदो बुधबारसम्म खेलाडीहरुले क्यानसँग लिखित स्पष्टीकरण पेश गर्नुपर्नेछ।

क्यानको असोजमा बसेको बोर्ड बैठकले खेलाडीसँग नयाँ सम्झौताका लागि नयाँ वर्गीकरण सूची पारित गरेको थियो। तत्कालीन उपाध्यक्ष राजुबाबु श्रेष्ठको संयोजकत्वमा गठित समितिले सन् २०२१ को अप्रिलदेखि डिसेम्बरसम्मको सम्झौताका लागि नयाँ वर्गीकरण सूची बनाएको थियो।

खेलाडीको प्रदर्शन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताको प्रमुख आधारमा क्यानले खेलाडीहरुलाई तीन श्रेणीमा बाडेको थियो। जसअनुसार राष्ट्रिय क्रिकेट टिमका पुरुष खेलाडीहरुले ‘ए’ श्रेणीमा पर्नेले मासिक ५० हजार, ‘बी’मा पर्नेले मासिक ४० हजार र ‘सी’मा पर्ने खेलाडीले मासिक ३० हजार पाउने व्यवस्था छ।

विशेषगरी सोही वर्गीकरणमा क्यानले नेपालका फाष्ट बलर सोमपाल कामीलाई ‘बी’ श्रेणीमा राखेकोले यी चार खेलाडीले असन्तुष्टि जनाउँदै एक मिडियामा बोलेका थिए। जसकारण चारै जना खेलाडीलाई क्यानले पत्र काटेको हो।

“क्यानले गरेको वर्गीकरणमा खेलाडीहरुलाई चित्त नबुझ्न पाउँछ। खेलाडीहरुले असन्तुष्टि जनाउन पनि पाउँछन्। त्यसका लागि नेपाल क्रिकेट संघसँग सोध्न पाउने अधिकार संघले सुरक्षित गरेको छ”, क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल भन्छन्, ‘‘तर आधिकारिक रुपमा पत्रसहित क्यानमा आउनुप¥यो, मिडियामा जाने होइन। यस्तो विषयमा संसारका कुनैपनि क्रिकेट बोर्डमा रहेका खेलाडीहरु मिडियामा जाने गर्दैनन्। त्यसैले स्पष्टीकरण सोधिएको हो।”

सचिव मल्लका अनुसार यो विषयमा कप्तान ज्ञानेन्द्र मल्लले टेलिफोनमा मात्र असन्तुष्टि पोखेका थिए। आधिकारिक रुपमा कुनै पनि खेलाडी क्यानमा गएका छैनन्।

सोमपाल जस्तो अन्तर्राष्ट्रिय स्तरको खेलाडी किन ‘बी’ श्रेणीमा परे त? भन्ने नेपाल भ्यूजको प्रश्नमा सचिव मल्ल भन्छन्, “कुन खेलाडी वर्गीकरणमा कहाँ पर्छ भन्ने अधिकार खेलाडीमा हुँदैन, क्यानको समितिमा हुन्छ। समितिले खेलाडीलाई उसले गरेको प्रदर्शन र टिममा निरन्तरताको आधारमा वर्गीकरण गरेको हो।”

सोमपाल कामी किन ‘बी’ श्रेणीमा परेको भनेर प्रमाणित गर्ने आधार क्यानसँग भएको मल्लले दाबी गरे। उनले भने, ‘‘पछिल्लो वर्षदेखि खेलिएका ६ राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सोमपालले चारवटा मात्र खेलेका छन्। अनि कसरि ‘ए’ श्रेणीमा राख्न मिल्छ?”

सोमपालले चोटका कारण सन् २०१९ को डिसेम्बरमा नेपालमा नै भएको दक्षिण एसियाली खेलकुद अन्तर्गतको क्रिकेटमा पहिलो खेलपछि अन्य खेल खेल्न पाएका थिएनन्। त्यसैगरी उनले त्यसपछि सन् २०२० को फेब्रुअरीमा नेपालमा नै भएको आईसीसी विश्व लिग डिभिजन-२, मार्चमा थाइल्याण्डमा भएको एसीसी टी-ट्वान्टी कप र प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि खेलेका थिएनन्।

सोमपालले यसपछि भने यसैवर्ष काठमाडौमा भएको ट्राई-नेसन सिरिज र आईसीसी विश्व लिग डिभिजन-२ अन्तर्गतको ओमान टुरका दुई प्रतियोगिताका खेलहरु भने खेलेका थिए।

खेलाडीहरुले वर्गीकरणमा सोमपालको बी ग्रेडसँगै युवा खेलाडी रोहित कुमार पौडेल र गुल्सन झा नर्पनुमा पनि असन्तुष्टि पोखेका छन्। यस विषयमा भने क्यानले केही जानकारी गराएको छैन।

क्यानले गरेको नयाँ वर्गीकरण अनुसारको नयाँ सम्झौतामा करिब आधाआधी खेलाडीले मात्र हस्ताक्षर गरेका छन्। तर असन्तुष्टिका कारण मात्र नभई काठमाडौं बाहिर रहेकाले कतिपय खेलाडीले हस्ताक्षर गर्न नपाएको क्यानको ठहर छ।

पहिला खेलाडी वर्गीकरणमा भएको ढिलाइका कारण नयाँ सम्झौता हुन नसकेर र हाल खेलाडीहरुले असन्तुष्टिका कारण सम्झौतामा हस्ताक्षर नगरेर खेलाडीको गत मार्च यताको तलब पनि रोकिएको छ।

गत मार्चसम्म भने पुरानै सम्झौताअनुसार खेलाडीहरुले तलब पाएका थिए। खेलाडीले सम्झौता पत्रमा हस्ताक्षर नगरुनजेलसम्म आईसीसीसामु तलबको पैसाको खर्च प्रमाणित गर्न क्यानलाई नै समस्या पर्छ।

गतवर्ष पनि क्यानले गरेको वर्गीकरणमा खेलाडीहरुले असन्तुष्टि जनाएका थिए। पछि क्यानले वर्गीकरणमा आफ्नो गल्ती स्वीकारेर खेलाडीको श्रेणीमा पुनरवलोकन गर्दै हेरफेर गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved