जनकपुरमा थपियो निषेधाज्ञा

जनकपुरधाम उपमहानगरपालिका २० मा आइतबार राती १० बजे सम्मको लागि लगाएको निषेधाज्ञालाई बढाएर मंगलबार राति १० बजेसम्मको थप गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए।

जनकपुरमा थपियो निषेधाज्ञा

जनकपुरधाम। धनुषाको जनकपुरधाममा दुई समुदाय बीच भएको विवादलाई लिएर लगाइएको निषेधाज्ञाको अवधि थप गरिएको छ। प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले आइतबार निषेधाज्ञाको अवधि थप गरेका हुन्।

जनकपुरधाम उपमहानगरपालिका २० मा आइतबार राती १० बजे सम्मको लागि लगाएको निषेधाज्ञालाई बढाएर मंगलबार राति १० बजेसम्मको थप गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० मा छठ पर्वको घाट बनाउने विषयमा हिन्दु मुस्लिम समुदाय बीच विवाद भएको थियो। सोही विवादले शनिवार उग्र रूप लिएपछि निषेधाज्ञा जारी गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा बढाइएको जानकारी दिए। पूर्वमा जलाद नदीको कर्ली बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ।

के रुपैठाको विवादको कारण ?

जनकपुरधाम उपमहानगर २० मा पर्ने देवपुरा रुपैठामा भएको हिन्दु मुस्लिम बीचको विवाद कुनै नयाँ विषय होइन। त्यहाँ प्रत्येक वर्ष हिन्दु धर्मावलम्बी र इस्लाम धर्माबलम्बीहरु बीच विवाद हुँदै आएको छ। दशैँ पर्वमा मूर्ति सेलाउने क्रममा होस् वा इस्लाम धर्माबलम्बीहरुले ताजिया दाहा खेल्ने क्रममा प्रत्येक वर्ष त्यहाँ विवाद हुँदै आइरहेको स्थानीय बताउँछन्।

यसवर्ष दशैँमा त्यहाँ कुनै अप्रिय घटना नहुँदा स्थानीय खुशी थिए। तर, त्यो खुशी छठ पर्व आउँदासम्म समाप्त भयो। पुनः ठूलो विवाद भयो। रुपैठामा हिन्दु धर्माबलम्बीहरु तेलिया पोखरीमा छठ पर्व प्रत्येक वर्ष मनाउँदै आइरहेका छन्। सोही पोखरीको डिलभन्दा केही पर मुस्लिम समुदायका व्यक्तिहरू समेत बसोबास गर्छन्।

२४ गते छठ पर्वका दिन घाट निर्माणकै क्रममा एकाएक दुई समुदाय बिच वाक युद्धबाट शुरु भएको विवाद झडपमा परिणत भएको एक स्थानीयले बताए। त्यो दिन झडपमा परेर ४ जना घाइते भएका थिए। प्रहरीले जसोतसो स्थितिलाई नियन्त्रणमा लियो। धनुषाका प्रहरी उपरीक्षक वसन्त रजौरेका अनुसार त्यसपछि शनिबार केही हिन्दुवादी सङ्गठनहरू प्रदर्शन गर्दै रुपैठामा पुगेपछि फेरी हिन्दु मुस्लिम समुदाय बिचको विवाद सुरु भएको थियो।

शनिबार मुस्लिम र हिन्दु समुदाय वीच विवादले झडप भयो। झडपको क्रममा दुई समुदायबिच ढुंगामुढा हुँदा ३ प्रहरीसहित ४ जना घाइते भए। घाइते हुनेहरूमा एक जना नेपाल प्रहरी, २ जना सशस्त्र प्रहरी र एक महिला रहेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जनभन्दा बढी राउन्ड अश्रु ग्याँस समेत प्रहार गर्नु परेको थियो। साथै निषेधाज्ञा जारी गर्नुपरेको छ।

रुपैठामा एक समुदायले अर्को समुदायलाई दबाएर राख्ने पटक पटक प्रयास गर्दै आइरहेका छन्। त्यहाँ हुने धार्मिक कार्यक्रममा प्रत्येक वर्ष विवाद हुँदै आइरहेको त्यहाँका स्थानीय बताउँछन्। आफ्नो वर्चस्व कायम गर्नकै लागि यस प्रकारको विवाद हुने गरेको उनीहरूको भनाई छ।
जनकपुरधाम उपमहानगरपालिकाको मातहतमा रहेका सो तेलिया पोखरीलाई आधि आधि क्षेत्रमा दुवै समुदायलाई प्रयोग गर्न भनी केही वर्ष पहिले सहमति भएको थियो। तर, तेलिया पोखरीलाई चारैतिरबाट दुवै समुदायले अतिक्रमणमा पारेका छन्।

जनकपुरधाम उपमहानगरपालिकाको मातहतमा रहेका सो पोखरीलाई जीर्णोद्धार गर्न नसक्दा दुवै समुदायका व्यक्तिले अतिक्रमण गरेर बसेको कारण विवाद हुँदै आएको विवाद हुँदै आएको वडाध्यक्ष भोगेन्द्र झाले बताए। उनले यसमा प्रमुख दोषी जनकपुरधाम उपमहानगरपालिका रहेको भन्दै पोखरीलाई व्यवस्थापन गर्न अतिक्रमण मुक्त नगरेसम्म विवाद कायमै रहने बताए।

प्रमुख जिल्ला अधिकारी बास्तोलाले दुवै पक्षका प्रतिनिधिलाई बोलाएर शनिवार जिल्ला प्रशासन कार्यालयमा छलफल गराइएको बताए। अबदेखि कुनै किसिमको विवाद, लडाई झगडा नगर्ने, आफ्नो आफ्नो चाडपर्व शान्तिपूर्ण ढङ्गले मनाउने सहमति भएको जानकारी दिए। बास्तोलाले यद्यपी पोखरीको विषयमा नगरपालिकाका प्रतिनिधिको अनुपस्थितिको कारण केही निर्णय नभएको र चाडै नै उक्त समस्या समाधानको लागि नगरपालिकाका प्रतिनिधि, मेयर सहितको दुवै पक्षलाई राखेर छलफल गराउने तयारी थालिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved