गठबन्धन दलबीच चुनावमा मिलेर जाने सहमति भइसकेको छ : माधव नेपाल

नेपालभ्युज

गठबन्धन दलबीच चुनावमा मिलेर जाने सहमति भइसकेको छ : माधव नेपाल
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन टुट्ने होकि भन्ने आशंका नपाल्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।

अध्यक्ष नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचन तथा रिक्त  प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी बनाउने सत्तारुढ दलबीच सहमति भएको बताए। चुनावमा मिलेर जने सहमति भइसकेको दाबी गर्दै यसले गठबन्धनलाई टुटाउने खोज्नेहरुको सपना चकनाचुर पारेको उनको भनाइ थियो।

सानेपास्थित हेरिटेज प्लाजामा शनिबारबाट शुरु पार्टी केन्द्रीय कमिटीको बैठकमा बोल्दै उनले सत्तारुढ गठबन्धनको आयू लामो छैन भन्नेलाई जवाफ दिनेगरी आफूहरुले राष्ट्रियसभाको निर्वाचन तथा उपनिर्वाचनमा मिलेर उम्मेदवारी दिने र विजयी गराउने सहमति गरिसकेको दाबी गरे। अध्यक्ष नेपालले भने, ‘‘पाँच दलीय राजनीतिक गठबन्धनले आउने चुनावसम्मको सन्दर्भमा खासगरीकन आउँदो चुनावलाई फोकसमा राखेर मिलेर नै उम्मेदवारी दिने र जिताउने अभियानमा जुटने सहमति गरेको छ।’’

उनले माघमा हुने राष्ट्रियसभा चुनाव तथा आगामी प्रतिनिधिसभामा मिलेर उम्मेदवारी तयार गर्ने र जिताउने सहमति भएको बताए। प्रदेशसभाको रिक्त पदमा पनि गठबन्धनबाटै उम्मेदवार अघि सार्ने उनको भनाइ थियो। उनले भने, ‘‘यो सहमतिले गठबन्धनको आयु लामो छैन र यिनीहरूबीचको एकतालाई तोड्न सकिन्छ कि भन्ने सोच र चाहना सबै चकनाचुर भएका छन्। हाम्रो बीचमा पनि यस्ता खालका आशंका नहोस्।’

अध्यक्ष नेपालले दुई ओटा निर्वाचनको परिणाम सकारात्मक आउने र गठबन्धनबीचको सहकार्य झनै कसिलो भएर जाने बताए।

यस्तै पार्टीका सम्मानित नेता नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनबीचको सहकार्यलाई पार्टीको तल्लो कमिटीसम्म लैजानुपर्नेमा जोड दिएका थिए। उनले एमालेको ठूलो पंक्ति अलमलमा रहेको उल्लेख गर्दै त्यसलाई पार्टीमा ल्याउने गरी उत्साहका साथ काम गर्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved