न्यायाधीशको मनपरी : बन्दी प्रत्यक्षीकरणको मुद्दासमेत हेरेनन्

अस्तव्यस्त न्याय सेवा

बेञ्च नबस्दा शुक्रबार सर्वोच्च अदालतमा पेशी चढेका बन्दी प्रत्यक्षीकरणको मुद्दासमेत सुनुवाइ भएनन्। शुक्रबार दुई ओटा बन्दी प्रत्यक्षीकरणका मुद्दा पेशीमा चढेका थिए। तर यसैका लागि सर्वोच्च पुगेका न्यायाधीशहरूले मुद्दा हेरेनन्।

न्यायाधीशको मनपरी : बन्दी प्रत्यक्षीकरणको मुद्दासमेत हेरेनन्

काठमाडौं। नेपाल बार एशोसिएशन र कानून व्यवसायीहरूका आन्दोलनका कारण केही दिनयता न्याय सेवा प्रभावित छ। बारले लगातार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिरहेको छ। तर जबराले यसलाई ‘सामान्य’ ठानिरहेका छन्।

यतिबेला न्याय सेवा बदनाम पनि भइरहेको छ। एकातिर प्रधानन्यायाधीशको राजीनामा माग्दै बार र कानून व्यवसायीले सर्वोच्च अदालत परिसर र बारअगाडि प्रदर्शन गरिरहेका छन्।

प्रधानन्यायाधीश जबरालाई सर्वोच्च परिसरमा प्रवेश रोक लगाउने उद्देश्यसहित बारले मुख्य गेटमा आज पनि धर्ना दियो। ८ कात्तिकयता बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागरिरहेको छ। जसले सर्वोच्च अदालतको दैन्दिन कार्य प्रभावित भइरहेको छ।

बेञ्च नबस्दा शुक्रबार सर्वोच्च अदालतमा पेशी चढेका बन्दी प्रत्यक्षीकरणका मुद्दासमेत सुनुवाइ भएनन्। शुक्रबार दुई ओटा बन्दी प्रत्यक्षीकरणका मुद्दा पेशीमा चढेका थिए। तर यसैका लागि सर्वोच्च पुगेका न्यायाधीशहरूले मुद्दा हेरेनन्।

न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा रहेको बन्दी प्रत्यक्षीकरणको मुद्दा बेञ्च बस्न नसकेकोले सुनुवाइ हुन सकेन। परिवर्तित नाम ३१ (०७८/०७९–ए १३) को हकमा सार्वजनिक प्रतिरक्षक समाज नेपालसँग आबद्ध अधिवक्ता नवल किशोर साहले मकवानपुर जिल्ला अदालत हेटौडालाई विपक्षी बनाई दायर गरेको रिटको पेशी थियो। तर बेञ्च बस्न नसक्दा सुनुवाइ भएन।

१४ कात्तिकमा पहिलो पटक न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको यो बन्दी प्रत्यक्षीकरणको मुद्दाको बेञ्च बस्न नसक्दा सुनुवाइ हुन सकेको थिएन। ८ कात्तिकदेखि न्यायाधीशहरूले अघोषित रूपमा प्रधानन्यायाधीश जबराले तोकेको इजलास बहिष्कार गरिरहेका कारण त्यसैको चपेटामा यो बन्दी प्रत्यक्षीकरणको मुद्दा पनि प्रभावित बन्यो।

त्यसपछि यो बन्दी प्रत्यक्षीकरणको मुद्दाको दोस्रो पेशी १५ कात्तिकमा तोकियो। १५ गते न्यायाधीहरूको बैठकले केबल बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्ने निर्णय गरेपछि साँझ न्यायाधीश कुमार रेग्मीले यो मुद्दामा कारण देखाऊ आदेश दिएका थिए। १५ गते ६ ओटा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो।

यस्तै न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासमा तोकिएको अर्को बन्दीप्रत्यक्षीकरणको मुद्दा पनि बेञ्च नबस्दा सुनुवाइ हुन सकेन। श्याम तिमल्सिना भन्ने भुवनेश्वर तिमल्सिनाको हकम प्रकाश तिमिल्सिनाले महानगरीय प्रहरी परिसर टेकु काठमाडौं, विनयराज सोतीसमेतविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ पनि हुन सकेन ।

न्यायाधीशहरूको अघोषित इजलास बहिष्कारका कारण चार पटक यो मुद्दाको सुनुवाइ रोकिएको छ। कात्तिक १२, १४ र १६ गते बेञ्च नबस्दा मुद्दाको सुनुवाइ प्रभावित भएको थियो।

तर, फेरि १६ गते जबराले बन्दी प्रत्यक्षीकरणबाहेक ४ ओटा बैकिङ कसुरको मुद्दा पनि राखेपछि न्यायाधीशहरू बेञ्च बसेनन्। प्रधानन्यायाधीशले ‘सम्मानजक बहिर्गमन’ चाहेको र इजलासमा नबस्ने सन्देश पठाएको भन्दै १७ कात्तिकमा फेरि नौ ओटा बन्दी प्रत्यक्षीकरणको मुद्दा सुनुवाइ गरेका थिए। सोही दिन आज पेशी चढेका दुई बन्दी प्रत्यक्षीकरणका मुद्दामा पनि सुनुवाइ भई दुवैमा कारण देखाऊ आदेश जारी भएको थियो।

त्यसपछि न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेरेर अन्य मुद्दालाई ‘हेर्न नभ्याइने’, ‘बेञ्च नबसेको’ मा राख्दै आएका थिए। आज शुक्रबार इजलास छाडेर आन्तरिक छलफलमा रहेका न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराले तोकेको दुई ओटा बन्दी प्रत्यक्षीकरणको मुद्दाको पनि सुनुवाइ गरेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved