दीर्घरोगीलाई फाइजर खोप, कस्तो अवस्थामा लगाउन नहुने ?

नेपालभ्युज

दीर्घरोगीलाई फाइजर खोप, कस्तो अवस्थामा लगाउन नहुने ?

काठमाडौं। कात्तिक २८ गतेबाट १२ वर्ष माथिका दीर्घरोग भएकालाई कोभिडविरुद्ध फाइजर-बायोनेट खोप लगाइँदै छ। सोही अवसर पारेर स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकुले खोपको प्रयोग तथा सञ्चालनसम्बन्धी अन्तरिम मार्गदर्शन सार्वजनिक गरेको छ।

कोरोनाविरुद्ध खोप अभियान पहिल्यैबाट सञ्चालन भए पनि बालबालिकाका लागि लगाइने फाइजर खोप नेपालमा पहिलो पटक ल्याइएको हो। यसको भण्डारण र व्यवस्थापनमा विशेष ख्याल राख्नुपर्ने भएकाले खोप अभियान सञ्चालन गर्नुअघि मार्गदर्शन तयार पारिएको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले बताए।

उनका अनुसार मार्गदर्शनमा खोप भण्डारण, खोप लगाइने समयवधि, भण्डारण, ढुवानी गर्दा कायम गर्नुपर्ने तापक्रम, खोप लगाउँदा हुने अवस्था र खोप लगाएपछि हुनसक्ने अनपेक्षित घटनाबारे सबै उल्लेख गरिएको छ।

फाइजर-बायोनेट खोप लगाउन नहुने अवस्था

  • कोभिड-१९ विरुद्धको अन्य कुनै पनि खोप लगाएको
  • १२ वर्ष भन्दा कम उमेर व्यक्ति
  • यो खोपको पहिलो मात्रा लगाएपछि कुनै पनि गम्भीर प्रकारको एलर्जिक प्रतिक्रिया भएको (एनाफाइलेक्सिस्)
  • फाइजर-बायोएनटेक खोप तत्कालको लागि लगाउन नहुने अवस्था
  • मोनोक्लोनल एन्टिबडिज, कन्भालेसेन्ट प्लाज्मा थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउन हुँदैन। तर यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन मिल्छ।
  • कोभिड -१९ संक्रमित भएको अवस्थामा यो खोप लगाउन हुँदैन तर निको भएको ३० दिनपछि यो खोप लगाउन हुन्छ।
  • कुनै पनि प्रकारको गम्भिर बिरामी भएको वा उच्च ज्वरो आएको अवस्थामा यो खोप लगाउनु हुँदैन, तर, यस प्रकारको अवस्थामा ठीक भएपछि यो खोप लगाउन हुन्छ।

फाइजर-बायोनेट खोप लगाएपछि हुन सक्ने अनपेक्षित घटना

  • सामान्य असरहरू
  • सूई लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने र सुनिने
  • टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने
  • मांसपेशीहरू दुख्ने र जोर्नीहरू दुख्ने
  • खान मन नलाग्ने र वाकवाकी लाग्ने
  • थकाइ लाग्ने
  • सूई लगाएको हातको काखीको गन्थ्री सुन्निने र दुख्ने
  • मायोकाडाइटिस, पेरिकार्डडाइटिस
  • शरीरमा साना बिबिरा आउने र चिलाउने, शरीरभरि डाबर आउने र चिलाउने, अनुहार सुन्निने
  • पखाला लाग्ने, वान्ता हुने, सुई लगाएको हात धेरै नै बढी दुख्ने तथा बेहोस हुने

कुनै पनि खोप लगाउँदा विरलै देखिने तर गम्भीर हुने एनाफाइलेक्सिसको सम्भावना हुनसक्छ। यी असरहरू दुई तीन दिनपछि आफै ठिक हुँदै जाने दाहालले बताए। त्यो समयमा धेरै ज्वरो आउने ,टाउको, शरीर दुख्ने भएमा सिटामोल खान सकिने समेत उनले जानकारी दिए।

एनाफाइलेक्सिस भएमा त्यसको तत्कालै व्यवस्थापन गर्नुपर्दछ। तसर्थ, प्रत्येक खोप केन्द्र स्तरमा एनाफाइलेक्सिको व्यवस्थापन गर्न एड्रिनालिन सुई दिएर उपचार गर्ने व्यवस्था मिलाइएको उनले बताए।

फाइजर खोप २८ कात्तिकदेखि ४ मंसीरसम्म पहिलो डोज र ७ मंसीरदेखि ४ पुससम्म दोस्रो डोज दिइने मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जानकारी दिए।

गण्डकी प्रदेशमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बागलुङस्थित धौलागिरि अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ। लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुने छ।

सुदूरपश्चिममा भने धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अमरगढीस्थित डडेलधुरा अस्पताल खोप लगाइने छ। कर्णाली प्रदेशमा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved