वीरगञ्जमा छठको हर्षोल्लास

नेपालभ्युज

वीरगञ्जमा छठको हर्षोल्लास

वीरगञ्ज। वीरगञ्जमा अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरूप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने सामाजिक आस्थाको महापर्व छठको उल्लास छाएको छ। धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट सूर्य उपासनाको पर्व छठ उल्लासमय छ।

आस्था र सहअस्तित्वको पर्व छठको तेस्रो दिन, जसलाई लोकबोलीमा ‘सझियाँ घाट’ भन्ने गरिन्छ। मानव र प्रकृतिबीचको सम्बन्धलाई प्रत्येक वर्ष प्रगाढ बनाउने महापर्व हो छठ। अघिल्लो वर्ष कोरोना संक्रमण जोखिमका कारण मनाउन नपाएको छठ पर्व यस वर्ष उल्लासका साथ मनाउन लागिएको स्थानीयवासीले बताएका छन्।

कोरोना महामारीलाई ध्यानमा राखेर यस वर्ष दसैँ, तिहार र छठले खुसी ल्याएको उनीहरूको भनाई छ। सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि, सत्य, अहिंसा र चर्मरोग निको हुने जनविश्वासअनुरूप छठ मनाइन्छ। छठपर्व तराईको कृषि संस्कृतिमा आधारित छ। यस पर्वमा सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजा अर्चनाका लागि सहभागी हुन्छन्।

पहिलो दिन व्रतालुले ‘नहाए खाए’ अर्थात् नुहाएर खाने विधि पूरा गरी छठ पर्वको शुभारम्भ गर्दछन्। दोस्रो दिन खर्ना मनाइन्छ। जस अन्तर्गत व्रतालुहरूले दिनभरि उपवास बसेर राति खीर, पुरी कुलदेवता र सूर्य देवतालाई चढाई खानेकुरा खान्छन्।

यस पर्वको तेस्रो दिन व्रतालुले दिनभरि आ–आफ्नो घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याउ, अदुवा, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साँझपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। त्यस दिन रातभरि नदी, तलाउ तथा पोखरीको डिलमा जाग्राम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व समापन गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved