मिथिलाञ्चलमा आजदेखि समा चकेवा पर्व शुरु

यस्तो छ समा चकेवा पर्वको पौराणिक कथा र महत्व

पूर्णिमाका दिन दिदीबहिनी आफ्ना दाजुभाइलाई निमन्त्रणा गर्छन्। भाइले घुँडामा राखेर सबै मूर्ति तोड्छन् र जोतेको खेतमा लगेर विसर्जन गर्छन्। बहिनीद्वारा भाइलाई चिउरा, दही, मिष्ठान, सखरको भोजन गराउँछन् भने दाजुभाइले यथाशक्य दिदीबहिनीलाई दक्षिणा दिने प्रचलन रहेको छ, जसलाई स्थानीय भाषामा ‘फाँरभरी’ पनि भन्ने गरिन्छ।

मिथिलाञ्चलमा आजदेखि समा चकेवा पर्व शुरु

जनकपुरधाम। ‘धान, धान, धान छई
भैया कोठी धान छई,
चुगला कोठी भुस्सा छई।
पान, पान, पान छई,
भैया मुख पान छई,
चुगला मुख कोइला छई।
चाउर, चाउर, चाउर छई,
भैया कोठी चाउर छई।
चुगला कोठी छाउर छई।’

अर्थात दाजुको भकारीमा धान छ भने चुगलाको भकारीमा भुस भरिएको छ। दाजुको मुखमा पान छ भने चुगलाको मुखमा कोइला छ। दाजुको कोठीमा चामल भरिएको छ भने चुगलाको कोठीमा खरानी छ।

दाजुभाइ-दिदी बहिनी बीचको प्रेमप्रतीक मानिएको पर्व समा चकेवा शुरु भएपछि साँझ साँझं तराई मधेसका ग्रामीण क्षेत्रका घरघरबाट मैथिली भाषाको यस्तो गीतको सुरिलो भाका सुनिन थालेको छ।

समा चकेवा दिदी-बहिनीद्वारा दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गरिने पर्व हो । यो पर्व द्वितीया तिथिदेखि पूर्णिमा तिथिसम्म मनाइन्छ ।

यस्ता गीतहरू मिथिलाञ्चलमा अत्यन्त लोकप्रिय छन्। दाजुभाइ-दिदीबहिनी बीचको अमर पे्रमको प्रतीक समा चकेवाका अवसरमा यो वर्ष पनि त्यस्ता गीत गाउन थालिएको हो।

छठ पर्वको खरनादेखि कात्तिक पूर्णिमासम्म मनाइने समा चकेवा पर्वमा गाइने यस्ता गीतले अहिले मिथिलाञ्चलभर नै एउटा अलग्गै उल्लास छाएको छ।

मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इंगित गर्ने यो पर्व लोकनाट्यको एउटा रूप हो, जसमा महिला सूत्रधार र पात्रमा माटोका मानव, पशु र चराको आकृति हुन्छन् ।

यो पर्वमा गाइने यी गीतले दाजु र भाइको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीतहरू गाएर बहिनीहरू मनोरञ्जन समेत गर्छन् र समा चकेवालाई फेरि पनि अर्काे वर्ष आउन गीत कै माध्यमले निमन्त्रण पनि गर्छन्।

‘सामचको, सामचको अविह हे, अविह हे।
कुड खेतमे बैसिह हे बैसिह हे।’

कात्तिक पञ्चमीदेखि शुरु भएको समा चकेवा पर्व पूर्णिमासम्म मनाउने गरिन्छ। पर्वका क्रममा मिथिलानी दिदीबहिनी समूह बनाएर नजिकैको नदी तलाउबाट माटो खनेर ल्याउँछन्।

संस्कृतिविद् रामभरोस कापडी मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवित रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको समा चकेवा पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउँछन् । उनका अनुसार दाजुभाइ दिदी-बहिनीको प्रेम मुख्य आधार भएको यस पर्वले भाइ-बहिनी र पति-पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शित गर्दछ ।

ती माटोबाट कलात्मक वृन्दावन, चुगला, चकेवा, चरा, कजरौटा, सतभैया लगायत मूर्तिहरू बनाई घाममा सुकाएर साँझदेखि दिदीबहिनी समूह बनाएर गाउँमा समाका गीत गाउँदै डुल्दै समा-चकेवा खेलेर पर्व मनाउँछन्।

दिनमा माटोबाट तयार पारिएका आकृतिहरू घाममा सुकाई राति रातो डाला (ढक्की) मा राखेर, दीप बालेर घरबाट बाहिर अन्य साथीहरूसँग मिलेर गीत गाउँदै समा खेल्ने परम्परा रहेको छ।

परम्परागत विश्वासका आधारमा समा चकेवालाई शीत र दुबो खुवाउने चलन रहेको छ। मिथिलानी महिला तथा किशोरीहरू आ-आफ्नो डाला एक ठाउँमा राखी आफू चारैतिर वृत्ताकारमा बस्दछन् र गीत गाउँदै डालालाई दाहिने हातले बढाउँदै बायाँ हातले आफूतिर तान्छन्।

यो पर्वको वास्तविक नाम ‘श्यामाचकेवा’ रहे पनि लोकभाषामा यसलाई समा-चकेवा भनिन्छ। समा स्त्री पात्र र चकेवा पुरुष पात्र हुन्। दुईटैलाई चराका रूपमा माटोको आकृति बनाइएको हुन्छ। समा चकेवा खेलमा पति-पत्नीका बारेमा चुक्ली (झगडा) लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक बनाई डढाउने काम हुन्छ। सबै बहिनी मिलेर आगो लगाई डढाउँदै बडो घृणाले गीत गाउँछन्।

पूर्णिमाका दिन दिदीबहिनी आफ्ना दाजुभाइलाई निमन्त्रणा गर्छन्। भाइले घुँडामा राखेर सबै मूर्ति तोड्छन् र जोतेको खेतमा लगेर विसर्जन गर्छन्। बहिनीद्वारा भाइलाई चिउरा, दही, मिष्ठान, सखरको भोजन गराउँछन् भने दाजुभाइले यथाशक्य दिदीबहिनीलाई दक्षिणा दिने प्रचलन रहेको छ, जसलाई स्थानीय भाषामा ‘फाँरभरी’ पनि भन्ने गरिन्छ। दशैं, तिहार र छठपछि तराईमा यो अन्तिम पर्वका रूपमा मनाइन्छ र साँझपख समा चकेवाका लागि महिलाले निकै उत्साहका साथ गीत गाउने गर्छन्।

समा चकेवा पर्व शुरु भएपछि यहाँका दिदीबहिनीले समुदायमा रहेका फटाहा र कुरौटे प्रवृत्तिका मानिसको प्रतीक चुगला र कुचोको मसाल बनाई गाउँ टोल घुमाउँदै सार्वजनिक स्थलमा लान्छन्।

त्यहाँ पुगेका दिदीबहिनी आफ्नो दाजुभाइको दीर्घायुको कामना गर्दै चुगलाको जुँगामा आगो लगाई रमाइलो गर्छन्। पहिले हातले निर्माण गरेको विभिन्न आकृतिले समा चकेवा पर्व खेल्ने गरिए पनि अब कुमालेले बनाउने कलात्मक सामानको समेत प्रयोग हुन थालेको छ।

समा चकेवा पर्वमा माटोको आकृति बनाएर दिदी-बहिनीले मनोवाञ्छित फल प्राप्तिको कामना गर्दछन् । यसमा समा चकेवालगायत चुगला, ढोलिया, भरिया, सतभइया, खञ्जनचिडैया, वनतीतर, झाँझी कुत्ता, भैया बटतकनी, मलिनियाँ र वृन्दावन लगायतका पात्र हुन्छन् ।

समा चकेवाको कथा

मिथिलामा समा चकेवाको प्रचलन प्राचीन कालदेखि नै रहेको पाइन्छ । यसको सर्वप्रथम चर्चा पद्यम पुराणमा पाइन्छ । यो पूर्णरूपमा भाइबहिनीको प्रेममा आधारित छ । भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अदभूत भ्रातृत्व प्रेमको चित्रण, चुक्ली गर्नेहरूको प्रतीक चुगला प्रवृत्तिको निन्दा, समाको ससुराल जाने प्रसंगको मार्मिक क्षणजस्ता गीति सम्वाद र अभिव्यक्तिको छोटो कथातत्व बोकेको गीति संरचना छ ।

स्कन्द पुराणमा समा चकेवाको कथा सम्प्रसङ्ग उल्लेख गरिएको छ, जसअनुसार श्यामा (समा) र चकेवा पति-पत्नी हुन् । श्यामाका पिता कृष्ण छन् भने पति चारूवक्य (चकेवा) । चारूवक्य आश्रममा बस्दथे । श्यामा आफ्ना पतिलाई भेट्न आश्रम गइरहँदा चुगलाले कृष्णकहाँ गइ चुक्ली लगाए-श्यामा कुनै मुनिसँग प्रेम गर्छिन रे ! कृष्ण रिसाएर श्राप दिई चरा बनाइदिए ।

भाइ शाम्बलाई जब यो थाहा भयो, उनी छटपटिन थाले । बुवासँग अनुनय विनय गरे । केही सीप लागेन । अनि तपस्या शुरू गरे । कात्तिक पूर्णिमाका दिन तपस्या पूर्ण भयो र वरदानमा बहिनी श्यामा (समा)लाई पूर्वरूपमा पाए । त्यसैले बहिनीद्वारा भाइका लागि यो पर्व मनाउने गरिन्छ ।

चारूवक्य पत्नी वियोग सहन गर्न नसकेर तपस्याकै भरमा चकेवाका रूपमा चरा हुन पुगे । चरा भएकी पत्नी समासँग बस्न थाले । त्यसै क्रममा उनीहरूको बास रहेको वृन्दावनमा विरोधीले आगो लगाए । उठीबास गर्न धेरै प्रयत्न गरे तर अन्ततः आफ्नो तपस्या र पराक्रमले उनीहरू पुनः मानवरूपमा अवतरण भएको आख्यान रहेको छ ।

समा चकेवा सम्बन्धी केही गीतहरु

यस पर्वमा मिथिलाञ्चलको पारीवारिक जीवन तथा लोक आस्थाको अटुट सम्बन्ध देखिन्छ । मानव मात्र हैन, घर परिवारमा रहने चरा, झाँझी कुत्ता, वनतित्तर र जंगली जीवनको अदभूत समन्वय रूप देखिन्छ ।

समाज र परिवार जहाँ हुन्छ, त्यहीँ चुक्ली गर्ने, षड्यन्त्र गर्ने चुगलाजस्ता पात्र हुन्छ । कठपुतली नृत्यको आभास दिने यो पर्वमा डोरीले हैन, हातले सञ्चालन हुन्छन् र महिला सूत्रधारका रूपमा जीवनका गाथा लोक धुनको आधारमा गाउँछिन् जसमा अपूर्व र विशिष्ट शैलीको जनजीवनकै उद्वेग प्रवाहित भइरहेको हुन्छ ।

महिला जब आ-आफ्नो घरबाट डालामा मूर्ति राखी समा खेल्न चौरतिर निस्किन्छन् तब उनी गाउँछिन्:
डालाले बहार भेली, बहिनी से पलाँ बहिनो
फलाँ भइया लेल डाला छीन, सुनु गे राम सजनी।

भाइ र उनका परिवारजनको मंगल कामना गर्दै गाइने गीतमा जनकपुरधामको चर्चा आउनु महत्वपूर्ण संकेत गर्दछ । यसले जनकपुरको प्राचीनता र समृद्धितिर पनि इंगित गरेको प्रस्ट छ:
सिरी रे जनकपुरसँ आबि गेल भ्रमरा
लागि गेल पनमा दुकान।

जब चुगला बारी आउँछ, त्यसलाई बायाँ हातमा समाति त्यसको जुँगा भनी राखिएको सनपाट (जुट)मा दाहिने हातले आगो लगाउँदै निभाउँदै महिला यस प्रकारको गीत गाउँछन्:
धान-धान-धान, भइया कोठी धान
चुगला कोठी भुस्सा।

प्रतीकात्मक रूपमा भैयाकोठी धान र चामल भनी भाइको समृद्धिको कामना गरिन्छ भने चुक्ली लगाउने दुष्ट प्रवृत्तिको कोठीमा भुसा र खरानी भएको देखाएर तिरस्कृत र लाञ्छित गर्ने काम गरिएको छ ।

सम्पन्नतासँगै भाइ वीर र योद्धा पनि छन् । वृन्दावनमा आगो लाग्दा निभाउने कोही नभएको अवस्थामा बहिनीलाई भाइमाथि विश्वास भएको गीत यसरी गाइन्छ:
वृन्दावनमे आगि लागै
कोइ ने मिझावे हे
हमर भैया फलना भैया
दौडि-दौडि मिझाबे हे।

समा चकेवाको विसर्जनको बेलाको गीत मर्मस्पर्शी हुने गरेको छ:
सामचको, सामचको अइह हे
जोतल खेतमे बइसिह हे।

पूर्णिमाका दिन समा चकेवालाई अर्को वर्ष फेरि कूड खेतमा आइ बस्नु है भन्दै सबै माटोका पात्रको विसर्जन गरिने चलन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved