भारतको राजधानी दिल्लीमा बढ्दै गएको प्रदूषणले बालबालिका बढी प्रभावित भएका छन्। प्रदूषणका कारण बालबालिकालाई दीर्घकालीन असर पर्ने भन्दै विज्ञ तथा बालबालिकाको क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले चिन्ता व्यक्त गरेका छन्। विशेष गरेर बालबालिकामा श्वासप्रश्वाससँगै मानसिक समस्या पनि देखिन सक्ने डाक्टरले बताएका छन्।
साथै, आँखा पिरो हुने र घाँटी चिलाउने असर अहिले देखिएको र त्यस्ता बिरामी आउने गरेको सर गङ्गाराम अस्पतालका डाक्टर धिरेन गुप्ताले जानकारी दिए। वायु प्रदूषणको असर बालबालिकामा अहिलेभन्दा पछि बढी देखिने हुँदा प्रदूषणले दूरगामी असर पार्ने उनको भनाई छ । नयाँ दिल्लीमा दीपावलीका पटाकाका कारण शुक्रबारदेखि वायु प्रदूषण खतरनाक अवस्थामा पुगेको छ।
यसका साथै सवारीसाधन, औद्योगिक उत्सर्जन, धुलो र मौसमका कारण पछिल्ला केही वर्षदेखि नयाँ दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानीका रूपमा चिनिँदै आएको छ । हिउँदमा छिमेकी राज्यमा जलाइएका परालको धुवाँका कारण पनि दिल्लीको वायु विषाक्त बन्ने गरेको छ ।
दिल्ली मात्र नभई भारतका अरू सहर पनि अति प्रदूषित सहरमा पर्छन् । संसारका सबैभन्दा धेरै प्रदूषित ३० सहरमध्ये २२ वटा सहर भारतमै रहेका छन् । भारतमा प्रदूषित वायुका कारण बर्सेनि १० लाख मानिसले ज्यान गुमाउने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।
Facebook Comment
Comment