छठका लागि जनकपुरमा मात्रै पौने २ करोडको केरा आयात

नेपालको हरेक क्षेत्रमा परम्परागत रूपमा स्थानीय जातका केरा उत्पादन हुन्छ। केरा उत्पादनको लागि तराई मधेश वा समग्र नेपालको भूमि राम्रो मानिन्छ। तर, चाडपर्वको समयमा समेत भारत कै भर पर्नुपर्ने अवस्था छ।

छठका लागि जनकपुरमा मात्रै पौने २ करोडको केरा आयात

जनकपुरधाम। छठ पर्वका लागि प्रदेश २ राजधानी जनकपुरमा मात्र पौने २ करोड रुपैयाँ बराबरको केरा भारतबाट आएको छ। छठ पर्वका लागि केरा अत्यावश्यक मानिन्छ। केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन।

छठ पर्वमा सिंगै केराको घरी नै अर्घ्य रूपमा भगवानलाई चढाउने परम्परा छ। छठमा केराको माग उच्च हुन्छ। तर, आपूर्ति भने कम हुने हुँदा हरेक वर्ष भारतको भर पर्नुपर्ने अवस्था रहेको जनकपुर फलफूल तथा तरकारी व्यावसायी समितिका अध्यक्ष विशेस्वर यादवले बताए।

स्थानीय स्तरमा मागअनुसार उत्पादन नभएपछि बाहिरबाट केरा मगाउनुपरेको उनले बताए। अघिल्लो वर्ष झण्डै ८० लाख रुपैयाँ बढीको केरा जनकपुर भित्र्याइएको उनले सुनाए। ‘‘यस वर्ष भित्र्याइएका केरा झण्डै ३५ ट्रक छन्,’’ उनले भने।

जनकपुरमा गोपाल र वंशीभोग केरा नेपालको सप्तरी जिल्लास्थित भारदह, भन्टावारी तथा इनरुवाबाट भित्र्याइएको छ। मालभोग, मिरिचमान, चम्पा केरा भारतको आसाम, गोहाटी, बंगाल, हाजिपुर, ठाकुरगन्ज र चम्पारणबाट मगाउने गरिएको फलफूल तथा तरकारी व्यवसायी समितिका सचिव भुवनेश्वर पूर्वेले जानकारी दिए। छठ पर्वसँगै अघिल्लो वर्षहरूको तुलनामा यस वर्ष २५ प्रतिशतले केराको भाउ महँगिएको पूर्वेले बताए।

उनले भने, ‘‘छठ पर्व मनाउने सङ्ख्या प्रत्येक वर्ष वृद्धि भएको हुँदा केराको माग बढेको छ। यसैले बजारको मागअनुसार गत वर्षको तुलनामा यस वर्ष ५-७ ट्रक बढी ३५ ट्रकजति केरा मगाइएको छ।’’

फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवका अनुसार १० चक्काको ट्रकमा १२ सय घरी केरा आउँछ। प्रतिट्रक बराबर जनकपुरसम्म ल्याउँदाको खर्च ५ लाख रुपैयाँ पर्छ। बजारमा प्रत्येक केराको घरीलाई ५०० देखि एक हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री गरिन्छ।

नेपालको हरेक क्षेत्रमा परम्परागत रूपमा स्थानीय जातका केरा उत्पादन हुन्छ। केरा उत्पादनको लागि तराई मधेश वा समग्र नेपालको भूमि राम्रो मानिन्छ। तर, चाडपर्वको समयमा समेत भारत कै भर पर्नुपर्ने अवस्था छ। नेपालमा मालभोग, झापाली मालभोग, विलियम हाइब्रिड रोवस्टा, विलियम हाइब्रिडलगायत जातका केरा खेती उत्पादन हुँदै आएका छ।

सम्भावना हुँदाहुँदै पनि प्राविधिक समस्याले गर्दा कृषकले उत्पादन बढाउन नसकेको व्यवसायीहरूको भनाइ छ। उता भारतबाट आउने केराको मूल्य सस्तो पर्छ। भारतले किसानको लागि सहुलियत र विभिन्न प्याकेज दिने भएकाले उताको लागत कम परेको बताइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved