चाड हाम्रो, सामान अरूको

फूलदेखि चाहिने अन्य सामान्य बस्तुहरूमा पनि हामी आत्मनिर्भर छैनौं। भान्सादेखि सजावटसम्म हामी विदेशी बजारकै भरमा छौं।

चाड हाम्रो, सामान अरूको

काठमाडौँ। हिन्दू नेपालीहरूको दोस्रो ठूलो चाड तिहार करिब करिब सँघारमा छ। तिहार नेपालको मौलिक पर्व हो। मौलिक पर्व भए पनि पर्व मनाउँदा प्रयोग हुने समान भने आयातमा भने हरेक वर्ष परनिर्भर हुनुपर्ने नेपालीको बाध्यता छ।

फूलदेखि चाहिने अन्य सामान्य बस्तुहरूमा पनि हामी आत्मनिर्भर छैनौं। भान्सादेखि सजावटसम्म हामी विदेशी बजारकै भरमा छौं।

तिहारको मुख्य आकर्षणको रुपमा रहेको झिलिमिली बत्ती सम्पूर्ण रुपमा आयात हुने गरेको छ। नेपाल विद्युतीय समान बिक्री संघका अध्यक्ष सुर्दशन पौडेलका अनुसार यो वर्ष करिब २० करोड बराबरको झिलिमिली बत्ती भित्रिएकोछ।

गत वर्षको तुलनामा आधा कम आयात भए पनि प्रत्येक वर्ष मागमा भने निरन्तर वृद्धि भएको पौडेल बताउँछन्। “गत वर्ष करिब ४० करोड रुपैयाँका झिलिमिली बत्ती आयात भएकोमा यो वर्ष घटेर करिब २० करोडको मात्रै आयात भएको हो,” अध्यक्ष पौडेल भन्छन्, “महामारीका कारण माग बढी भए पनि बत्ती आयातमा केही कमी आएको छ।”

कोभिड–१९ महामारी शुरु हुनुअघि नेपालमा करिब ६० करोडसम्मको झिलिमिली बत्तीको आयात हुने गरेको नेपाल विद्युतीय समान बिक्री संघका अध्यक्ष पौडेलले बताए। यसरी नेपाल भित्रिने झिलिमिली भारतबाट आयात हुने गरेकोमा पछिल्लो समय चीनबाट आयात हुन थालेको उनी बताउँछन्।

नेपालीहरूले तिहारको अवसरमा पालामा बत्ती बाल्ने चलन विस्थापित हुने क्रममा रहँदा शहरदेखि गाउँघरमा पनि झिलिमिली बत्ती बाल्ने चलन बढ्दो छ।

विद्युतीय समग्री मात्रै होइन तिहार पर्वमा चाहिने भाइमसलामा पनि नेपाल आयातमा नै निर्भर छ। कटुस, बयर,अमला, ओखरजस्ता नेपालमा उत्पादन हुने सामग्री भाइमसलामा राख्ने चलन हराउँदै गएको छ। जसलाई विदेशी अन्य मिठाइले विस्थापित गरिरहेको छ।

भाइमसलामा काजु,किसमिस, नरिवल, पेस्ता, बदाम, ल्वाङ, सुकमेल, छोकडा, अन्जिर, दालचिनी, मखनालगायत सुक्खा फलफूल मिश्रण हुन्छ। नेपालमा पाइने ओखर र अलैंची पनि भाइमसलामा प्रयोग भए पनि अधिकांश यस्ता खाद्य सामग्री आयात नै हुने गरेको नेपाल खुद्रा व्यवसायी संघका पूर्वअध्यक्ष पवित्रा बज्राचार्य बताउँछन्।

भाइमसलामा प्रयोग हुने सुक्खा फलफूलको तथ्यांक भने संघसँग नभएको उनले बताए।

केही समयअघि सुक्खा फलफूल चाडपर्वका समयमा मात्रै खपत हुने गरेकोमा पछिल्लो समय अन्य समयमा पनि उत्तिकै मात्रामा माग हुने गरे पनि तथ्यांक भने पाइँदैन।

यकिन तथ्यांक नभए पनि तिहारको अवसरमा प्रयोग हुने भाइमसलाका अधिकांश सामग्री भारतबाटै आयात हुने गरेको बज्राचार्य स्वीकार गर्छन्।

गाउँघरमा पाइने र बनाइने सामग्रीले तिहारमा दाजुभाइको सत्कार गर्ने चलनलाई बजारिया सामानले विस्थापित गर्न थालेका छन्।

तिहारसँग जोडिएर आउने अर्को पक्ष फूल हो। अन्य समयमा प्रयोग हुने फूलका लागि नेपाली उत्पादन नै पर्याप्त भए पनि तिहारमा भने फूल पनि आयात हुने गरेको छ। नेपाली पहिचानसँग जोडिएको नेपालमा नै उत्पादन हुने तिहारे फूललाई बिर्सिँदै गए पनि नेपालीले विदेशबाटै मगाएर भए पनि तिहारमा फूलको प्रयोग गर्छन्।

नेपाल फूल व्यवसायी संघका अध्यक्ष मीन तामाङका अनुसार तिहारलक्षित करिब २ लाख ५० हजार माला भारतबाट आयात गरिएको छ।
तिहारको समयमा नेपालमा करिब २२ लाख माला खपत हुने गरेको उनले बताए। भन्छन्, “त्यसमध्ये दुई लाख ५० हजार माला भारतबाट आयात गरेका छौँ।”

प्रतिमाला न्यूनतम ६० रुपैयाँ राख्दा पनि नेपालीले तिहारका अवसरमा १ करोड ५० लाखको आयातीत माला प्रयोग गर्छन्।

तिहारमा जुन प्रकारको भाइमसला दिने चलन छ त्योपछि आएको भन्छन् संस्कृतिविद् डा. जगमान गुरुङ। बाहुन क्षत्रीका चेलीबेटीले तिहारमा दाजुभाइलाई सेलरोटी, अनरसा, अर्सा लैजाने चलन मात्रै रहेको उनको भनाइ छ।

गुरुङ, मगर, राई, लिम्बूका चेलीहरूले सेलरोटीसँग रक्सी लाने चलन रहे पनि अहिले सबै चिजलाई बजारिया समानले विस्थापित गरेको उनी बताउँछन्।

“कटुस, अमला, वयर दिने चलन भए पनि भाइमसलाका अन्य सामग्री पछिल्लो समय भित्रिएको हो,” भन्छन् डा. गुरुङ।

तिहारमा लगाइने सप्तरंगी टीका पनि जैविक हुनेपर्ने उनी बताउँछन्। भन्छन्, “रासायनिक मिश्रित आयातीय रंगलाई हामी सप्तरंगी टीकाका रुपमा प्रयोग गरिरहेका छौँ, यो संस्कृति जोगाउने भन्दा पनि मास्ने काम हो।”

बाबियो बाटेर तोरन बनाउने चलनलाई पछिल्लो पुस्ताले बिर्सिदै जाँदा आयातीय समानले पर्व मनाउने चलन बढ्दै गएको प्रति डा.गुरुङको दुखेसो छ।

“हाम्रो संस्कृतिसँग हाम्रो पर्यावरणीय अवस्थिति जोडिएको छ,” डा. गुरुङ भन्छन्, “प्रत्येक चाडपर्व मनाउनु पछाडि पर्यावरणीय कारण लुकेको छ भने चाडपर्वमा प्रयोग हुने समानको आफ्नो महत्व हुन्छ।”

आफ्नो सहजताका लागि मानिसले आयातीय समानमा बढी भर पर्न थालेको उनीे आरोप लगाउँछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved