काबुलमा बम विस्फोट, १९ जनाको मृत्यु, ४३ घाइते

नेपालभ्युज

काबुलमा बम विस्फोट, १९ जनाको मृत्यु, ४३ घाइते
फाइल फोटो

एजेन्सी । अफगानिस्तानको काबुलमा रहेको सैन्य अस्पताल नजिक भएको दुई बम विस्फोटमा परि कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन्। सैन्य अस्पताल नजिक बम विस्फोट हुनुका साथै फाइरिङ समेत भएको थियो। तालिबानका प्रवक्ताले दिएको जानकारी अनुसार पहिलो विस्फोट ४ सय शय्या रहेको सरदार दाउद खान अस्पताल नजिक भएको थियो भने दोस्रो विस्फोट अस्पताल नजिक भएको थियो।

प्रत्यक्षदर्शीका अनुसार अस्पतालभित्रै नै दोहोरो फाइरिङ समेत भएको थियो। तालिबान अधिकारीहरूले बम विस्फोटका पछाडि आत्मघाती बम विस्फोटक व्यक्ति रहेको बताएका छन्। ‘बम विस्फोटका लागि आत्मघाती व्यक्ति मोटरसाइकलमा अस्पतालको प्रवेश स्थलमा आएका थिए’, आफ्नो पहिचान नखुलाउने सर्तमा तालिबानका एक अधिकारीले सञ्चार माध्यमसँग भनेका छन्। उनले आत्मघाती बम विस्फोटमा संलग्न सम्पूर्ण व्यक्तिको निधन भएको पनि जानकारी दिएका छन्।

यसअघि आन्तरिक मामिलामन्त्री सहिद खोस्तीले बम विस्फोट भएको जानकारी दिए पनि त्यसमा परि घाइते हुने र निधन हुने व्यक्तिको संख्या बताएका थिएनन्। बम विस्फोटपछि सार्वजनिक भएको तस्बिरहरूमा काबुलको कूटनीतिज्ञहरूको बसोबास रहेको वाजिर अक्बर खाना क्षेत्रमा धुवाँको ठुलो मुस्लो देखिएको छ।

बम विस्फोटमा आइएसआईएलको संलग्नता रहेको तालिबान अधिकारीहरूले आशंका गरेका छन्। यद्यपि, विस्फोटको हालसम्म कुनै समूहले जिम्मेवारी भने नलिएको सञ्चार माध्यमले जनाएका छन्। काबुलको सरकारी सञ्चार माध्यम बक्तर न्यूज एजेन्सीले भने विस्फोटमा आईएसआईएल संलग्न व्यक्तिहरूको सहभागी रहेको बताएको छ।

समाचार एजेन्सीले उक्त समूहसँग आबद्ध व्यक्तिहरू अस्पताल परिषद्भित्र छिरेर त्यहाँ कार्यरत सुरक्षाकर्मीसँग दोहोरो भिडन्त गर्दा ठुलो सङ्ख्यामा मानिसको निधन हुनुका साथै घाइते भएको जनाएको छ। तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेसँगै पछिल्लो समय त्यहाँ निरन्तर बम विस्फोटका घटना सार्वजनिक भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved