जबराले राजीनामा गर्न जति ढिला गरे त्यति अपमानजनक हुन्छ – रामचन्द्र पौडेल

नेपालभ्युज

मकवानपुर। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन दबाब दिएका छन्।

जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बहिगर्मन हुने पनि उनले स्पष्ट पारे। नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा प्रधानन्यायाधीश जबराले राजीनामामा ढिलाइ गरे अपमानजनक हुने तर्क गरे।

प्रधानन्यायाधीशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदलाई ध्वस्त पारेको, संविधानको आत्मामाथिनै प्रहार गरेको आरोपसमेत पौडेलले आरोप लगाए।

“अरु संस्था त ध्वस्त भए, भए। देशको एउटा जनताको न्यायको अन्तिम मन्दिर आज सर्वोच्च अदालत ध्वस्त भइरहेको छ। सर्वोच्च अदालतको यो हाल भइरहेको छ। अव अहिले प्रधानन्यायाधीशले अस्ति मात्रै भन्नु भयो ‘ल ल म छोडन त छोडछु तर मलाई सम्मानजनक बहिर्गमनका लागि मौका दिनुस्।’ मैले त हिजो भन्दिए जति छिटो छोडनुहुन्छ, त्यति सम्मानजनक। जति ढिलो छोडनु हुन्छ, त्यति असम्मानजनक।”

राजीनामा ढिलाइ भए एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउने उनको भनाइ थियो। “सेटिङ गर्नुभएको क-कसले ? यो देशका प्रधानमन्त्रीहरू सेटिङ गर्ने अदालतसित। प्रधानन्यायाधीशसँग सेटिङ गर्ने। तलाई यो मन्त्री दिन्छु, यो राजदूत दिन्छु। आयुक्त दिन्छु, मेरो कुरा मान। मैले संवैधानिक परिषदलाई ध्वस्त पारेको पनि मान। संविधानको आत्मामाथि प्रहार गरेको साँची बसिदे, प्रधानन्यायाधीश भनेर यो सेटिङ गरेको हो कि होइन? आज सर्वोच्च अदालतको के हालत भइरहेको छ ? यो अवस्थामा देश किन पुग्यो ?” उनले प्रश्न गरे।

वरिष्ठ नेता पौडेलले जनताको न्यायको अन्तिम मन्दिरको रूपमा रहेको सर्वोच्च अदालत ध्वस्त हुने अवस्थामा पुगेको भन्दै चिन्तासमेत व्यक्त गरे। फरक प्रसंगमा उनले नेतृत्व परिवर्तन गरेर मात्रै पार्टीलाई सही दिशामा अघि बढाउन सकिने बताए। त्यसका लागि पुस्तान्तरण नभई नेतृत्व परिवर्तन आजको आवश्यक्ता भएको उनको तर्क थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved