आफ्नो सचिवालय तोडफोडमा उत्रिनेलाई कारबाही गर्न सीके राउतको माग

अन्यथा आक्रोशित जनताले कारबाही गरे त्यसको जिम्मेवार आफ्नो पार्टी नहुने चेतावनी

नेपालभ्युज

आफ्नो सचिवालय तोडफोडमा उत्रिनेलाई कारबाही गर्न सीके राउतको माग

काठमाडौै । सीके राउत नेतृत्वको जनमत पार्टीको धनुषामा रहेको केन्द्रीय सचिवालयमा तोडफोड भन्दै पार्टीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ।

तोडफोडमा उत्रिएकाहरूलाई कारबाही गर्न पार्टीले माग गरेको छ। पार्टीले यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषामा अडियो/भिडियो प्रमाणसहित उजुरी दिएको जनाएको छ।

आफ्नो सचिवालय आगजानी र तोडफोडमा उत्रिनेलाई यथाशीघ्र कारबाही गर्न पार्टीले माग गरेको छ। अन्यथा आक्रोशित जनताले केही कारबाही गरे त्यसको जिम्मेवार आफ्नो पार्टी नहुने पनि उसले चेतावनी दिएको छ।

आगजनीजस्तो जघन्य अपराधमा एउटा राजनीतिक पार्टीसँग आबद्ध केही इन्जिनियरहरूको समेत संलग्न देखिएको पार्टीले आरोप लगाएको छ। आज जनमत पार्टीको सचिवालयले जारी गरेको सूचना लेखिएको छ, ‘इन्जिनियरिङ काउन्सिलले यथाशीघ्र तिनीहरूको लाइसेन्स खारेज गरोयोस्।’

केही दिनयता जनमत पार्टीले प्रदेश २ मा भ्रष्टचारीविरुद्ध कठोर कदम चालिएको भन्दै तोडफोड र सरकारी व्यक्तिहरूमाथि दुर्व्यवहार गर्दै आइरहेको छ।

पार्टीका कार्यकर्ताले ५ कात्तिकमा जनकपुरस्थित खानेपानी तथा ढल निकास कार्यालय धनुषाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई कालोमोसो र हिलो दली नगर परिक्रमा गराएका थिए। उक्त आरोपमा जनमत पार्टी धनुषाका अध्यक्ष ओमविक्रम कुशवाहासहित १७ जनाविरुद्ध मुद्दा दायर भएको छ।

उक्त घटनाको भोलिपल्ट इन्जिनियरहरूले सीके राउतको पार्टी कार्यालयमा विरोध जनाएका थिए। त्यस क्रममा उनीहरूले ढुंगामुढा गरेका थिए। तर आगजानी भने नभएको प्रशासनले बताएको छ।

गएको शुक्रबार (१२ कात्तिक) मा पनि रौतहटको सदरमुकाम गौरमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परेर आधा दर्जन जनमत पार्टीका कार्यकर्ता घाइते भएका थिए।

पूर्वनिर्धारित कार्यक्रमअनुसार जनमत पार्टीका जिल्ला अध्यक्ष ललित मल्लिक सानुको नेतृत्वमा गएका कार्यकर्ताले गौरस्थित बिपी चौकमा मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो।

त्यस्तै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले १२ कात्तिकमा धनुषाका एक प्रधानाध्यापकलाई पनि दुर्व्यवहार गरेका थिए। धनुषाको सबैला नगरपालिकास्थित फकिरचन्द उमावि बरकुर्वा रघुनाथपुरका प्रधानाध्यापक बैजु साहलाई जनमतका कार्यकर्ताले कालोमोसो दलेर चप्पलले कुटपिट गरेका थिए।

विभिन्न मागसहित आन्दोलित विद्यार्थीको माग सुनुवाइ नगरेको भन्दै जनमतका कार्यकर्ताले शुक्रबार प्रधानध्यापकलाई कुटपिट गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved