काठमाडौं। “भारत र पाकिस्तानबीचको खेल कुनै युद्धभन्दा कम होइन। यो युद्ध भारतले जसरी पनि जित्नुपर्छ, हारको कुनै गुन्जायस नै छैन।”
सन् २०१९ को एकदिवसीय विश्वकपमा पाकिस्तानसँगको खेल अघि भारतका स्टार क्रिकेटर वीरेन्द्र सहेवागले भनेको भनाइ हो यो। भारतका पूर्व बिस्फोटक ब्याट्सम्यान सहेवागको यो एउटै भनाइले स्पष्ट पार्छ, भारत र पाकिस्तानको क्रिकेट खेल युद्ध भन्दा कम हुँदैन।
विश्वव्यापी सामान्य धारणा छ- खेलकुद र राजनीतिलाई कहिल्यै पनि एकअर्कासँग जोड्नु हुँदैन। तर जब भारत र पाकिस्तानको कुरा आउँछ यी दुईका लागि क्रिकेट, एक खेलको रुपमा मात्र सीमित हुन्न। खेलमार्फत नै यी दुईले नयाँ र पुरानो दुश्मनीको बदला लिन्छन्।
विशेषगरी यी दुई देशले आफूबीचको क्रिकेट खेलमा पनि लामो समय देखि चल्दै आएको अन्तरदेशीय द्वन्द्वकै मनोभावना र आवेगलाई मिसाउने गर्छन्। दुई देशको झगडा र कलहकै प्रतिनिधित्व खेलले गर्छन्, त्यसैले यी दुई देशबीचको खेललाई युद्धकै रुपमा लिइन्छ। जसमा खेलाडी र त्योभन्दा बढी दुई देशका समर्थकहरुले युद्धकै रुपमा स्थापित गर्छन्।
सन् १९४७ मा अँग्रेजको उपनिवेशबाट स्वतन्त्र भएसँगै भारत विभाजित भयो। त्यो विभाजनसँगै बनेका भारत र पाकिस्तानबीच विभिन्न कारणले झगडा भैरह्यो। धर्म, सिमाना, आतंकवाद, आक्रमण आदि कारण अहिलेसम्म पनि दुई देशबीच दुश्मनी कायमै छ। भारत र पाकिस्तानबीच चलेको युद्ध केही शान्त भए पनि सकिएको छैन। सिमानामा बेलाबखत भिडन्त भइरन्छ। देशमा आतंकवादी हमला हुँदा दुवैले एकअर्कालाई दोष लगाउँछन्।
भारत-पाकिस्तानबीच सधैँभरी रहिआएको अविश्वास र द्वन्द्वलाई दुवै देशका राजनीतिकर्मीले मुद्दा बनाइआएका छन्। परिणाम, जनताको तहमा पनि केही हदसम्म यो शत्रुता सञ्चार भएको छ। त्यो भावना पोखिन्छ, क्रिकेट म्याचमा।
अन्य ठाउँमा निकाल्न नपाएको सबै झोंक खेल दौरान निकाल्छ। राष्ट्रले खेल जितेमा युद्ध नै जिते जस्तो गर्छन् र खेल हारेमा देश नै सकिए जसरी विलौना गर्छन्। खासमा क्रिकेट खेल यी दुई देशका जनतालाई आपसी दुश्मनीका कारण सृजना भएको तनावमा आफैलाई सान्त्वना दिने र झगडाको घाउमा मल्हम लगाउने माध्यम बनेको छ।
भारत पाकिस्तान क्रिकेट खेलको झोंकमा मोबाइल, टीभी र ल्यापटप फुटाउने कुरा त सामान्य भइहाले, दुई देशका समर्थकबीच झगडा र ज्यानै लिनेसम्मका घटना हुन्छन्। यो समय धेरै दिनसम्म क्रिकेट खेल नै दुई देशको राष्ट्रिय मुद्दा बन्छ। क्रिकेट खेलसँग नै जोडेर दुई देशका मिडियाले पुराना लडाइँका कुरा निकाल्दै एकअर्कालाई सक्दो गाली गर्छन्। त्यसैले भारत र पाकिस्तानको क्रिकेट खेल युद्ध भन्दा कम छैन।
विशेषगरी दुई देशका जनता र समर्थकहरूले क्रिकेट खेलमा आवश्यकताभन्दा बढी राष्ट्रियता लादेका कारण पनि खेललाई युद्धसरह बनाएका हुन। जसलाई खेलाडीले पनि उतिकै साथ दिएका छन्।
खेलमा विपक्षीबीच प्रतिस्पर्धीको भावना हुनु त स्वभाविक हो। तर यी दुई देशका जनता जस्तै भारत र पाकिस्तानका प्राय: खेलाडीहरूले पनि एकअर्कालाई प्रतिस्पर्धी नभई दुस्मन नै ठान्छन्। एक त खेलाडी भन्दा पहिला उनीहरू आफ्नो देशका नागरिक हुन्, त्यसैले उनीहरूमा स्वतः दुश्मनीको भावना आउनु स्वाभाविक हो। अर्को कुरा समर्थकको सहानुभूति पाउन पनि खेलाडीहरू एकअर्कासँग दुश्मनी निभाउँछन्।
अन्तर्राष्ट्रिय फुटबलमा ब्राजिल र अर्जेन्टिनाको दुश्मनी सबैभन्दा माथिल्लो छ। विश्व फुटबलका दुई पावर हाउस, दुई देशमा भएका स्टार खेलाडीहरूबीचमा को ठूलो भन्ने आ-आफ्नै जुँगाको लडाई र ठूलो फ्यान फलोइङका कारण एकै महादेश, दक्षिण अमेरिकी दुई राष्ट्रबीचको खेल महाभिडन्तको रुपमा रहने गर्छ।
त्यसैगरी क्लब फुटबलमा भने स्पेनका दुई क्लब बार्सिलोना र रियल मड्रिडबीचको दुश्मनीलाई सबैभन्दा ठूलो मानिन्छ। त्यसैले बार्सिलोना र मड्रिडबीचको खेल विश्वव्यापी रुपमा नै ‘एल क्लासिको’ खेलको रुपमा प्रख्यात छ। जसको अङ्ग्रेजी अर्थ हो ‘दी क्लासिक खेल’।
यता क्रिकेटमा भने भारत र पाकिस्तानको भिडन्तले ‘एल क्लासिको’ को रूप लिँदै गइरहेको छ। संयोग नै मान्नपर्छ यता विश्वकपमा आइतबार राति भारत र पाकिस्तानबीच ‘एल क्लासिको’ चलिरहँदा उता स्पेनिस लिगमा बार्सिलोना र रियल मड्रिडबीचको वास्तविक ‘एल क्लासिको’ पनि चलिरहेको छ।
केही समय अघिसम्म क्रिकेटको सबैभन्दा ठूलो भिडन्तको रुपमा इङ्ल्याण्ड र अस्ट्रेलियाको खेललाई लिइन्थ्यो। क्रिकेटको पहिलो आधिकारिक खेल नै यी दुईले खेलेका थिए। त्यसैले इङ्ल्याण्ड र अष्ट्रेलियाबीचको टेस्ट खेल शृङ्खला, एसेज सिरिजलाई क्रिकेटमा सबैभन्दा ठूलो दुश्मनीको रुपमा लिइन्थ्यो।
तर करिब पछिल्लो दुई दशक यता क्रिकेटको ठूलो दुश्मनी भारत र पाकिस्तानतर्फ सरेको छ। हाल खेलको लगानीको हिसाबले पनि यो खेलको लगानी उक्त एसेज सिरिजको खेलको भन्दा धेरै माथि छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अन्तर्गतको अन्ताराष्ट्रिय प्रतिस्पर्धा यो नै सबै भन्दा बढी लगानी भएको खेल हो। यी दुईबीच सन् २०१९ को एकदिवसीय विश्वकप पछि एक खेल पनि भएको छैन। पछिल्लो पटकको उक्त खेल प्रत्यक्ष हेर्न मैदान प्रवेशको टिकटका लागि आठ लाखले आवेदन दिएका थिए।
यस्तो क्रेज, दुश्मनी र लगानी कै कारण भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई ‘फादर एन्ड मदर अफ अल क्रिकेट खेल’ भन्ने गरिन्छ।
यो खेलका लागि भारत र पाकिस्तानका घरेलु समर्थक मात्र होइन, विश्व भरिका क्रिकेटप्रेमि प्रतीक्षामा हुन्छन्। तर वास्तवमा राज्यस्तरको दुश्मनी कै कारण यी दुई देश भने एकअर्कासँग क्रिकेट खेल खेल्नै चाहँदैनन्।
सन् १९४७ को विभाजन पछि भारत र पाकिस्तानले सन् १९५२ मा पहिलो पटक अन्ताराष्ट्रिय क्रिकेट खेल खेलेका थिए। यसपछि आपसी द्वन्द्व कै कारण यी दुईबीचका धेरै क्रिकेट सिरिज रद्द भए। भारत पाकिस्तानको दुई प्रमुख युद्धकै कारण सन् १९६२ देखी सन् १९७७बीच एउटा पनि खेल हुन सकेन।
सन् १९९९ को कार्गिल युद्धका कारण पनि धेरै समय यी दुईको क्रिकेट अवरुद्ध भयो। जब जब दुई देशबीचको सम्बन्ध सुधार हुन्थ्यो तब तब क्रिकेट खेल हुन्थ्यो, नत्र क्रिकेट पनि बन्द। सन् २००८ को मुम्बईमा भएको आतंकवादी आक्रमण पछि त भारतले पाकिस्तानसँग कुनै पनि क्रिकेट शृङ्खला नै नखेल्ने घोषण गर्यो।
सम्बन्धमा केही सुधार आएपछि सन् २०१२-१३ मा भारतले पाकिस्तानसँग एउटा क्रिकेट शृङ्खला खेल्यो। तर त्यसयता भारत र पाकिस्तानले अन्य देशसँग जस्तो एकअर्कासँग कुनै पनि द्विपक्षीय क्रिकेट शृङ्खला खेलेका छैनन्। भारतीय टिमले सरकारले अनुमति नदिएको कारण हाल पाकिस्तानसँग द्विपक्षीय क्रिकेट शृङ्खला नखेलेको हो।
त्यसैले यिनीहरूको भेट आईसीसीको विश्वकप जस्ता बहुराष्ट्रिय प्रतियोगितामा मात्र हुन्छ। दुई देशबीचको पुरानो दुश्मनी यति उत्कर्षमा छ कि आफ्नो बस चल्थ्यो भने यी दुईले आईसीसीको प्रतियोगितामा पनि एकअर्कासँग खेल्ने थिएनन्।
आईसीसीले त्यसो गर्न भने दिँदैन। फेरि प्रतियोगिताको कुनै पनि खेल जुनसुकै कारणले नखेले पनि अर्को टिमलाई स्वतः वाकओभर दिएसरह हुन्छ। त्यसैले नचाहेर पनि आईसीसी प्रतियोगितामा यी दुईले खेल्नैपर्ने हुन्छ।
फेरि आईसीसीले पनि ठूलो लगानीका कारण प्राय: सबै प्रतियोगितामा भारत र पाकिस्तानलाई एउटै समूहमा राख्छ। दुई मध्ये एक टिम समूह चरणबाटै बाहिरिए पनि भारत पाकिस्तानबीच कम्तीमा एक भिडन्त त समूह चरणमा पक्का हुन्छ। जसको प्रतीक्षा सारा विश्व क्रिकेट जगतलाई हुन्छ।
Facebook Comment
Comment