कार्यकाल अगावै सापकोटाले दिए राजीनामा

नेपालभ्युज

कार्यकाल अगावै सापकोटाले दिए राजीनामा

काठमाडौं। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक डा. रुपक सापकोटाले पदबाट राजीनामा दिएका छन्। कार्यकाल अगावै उनी जिम्मेवारीबाट हटेका हुन्।

सापकोटा परराष्ट्रमन्त्रीस्तरिय निर्णयबाट दुई वर्षअघि (२०७६ कार्तिक २४मा) उपकार्यकारी निर्देशक नियुक्त भएका थिए। गत शुक्रबार (५ कार्तिकमा) राजीनामा दिएका उनको कार्यकाल यही कार्तिक २४ सम्म थियो। पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनलाई उपकार्यकारी निर्देशक नियुक्त गरेका थिए।

सापकोटा चीन मामिला विज्ञ हुन्। आफ्नो कार्यकालमा प्रतिष्ठानलाई ‘भाइब्रेन्ट थिंक ट्यांक’का रुपमा अघि बढाउन महत्वपूर्ण आधार तय भएको सापकोटाले बताए।

“मेरो कार्यकालमा प्रतिष्ठान पुनः संरचना, परराष्ट्र मामिला, वैदेशिक श्रमका विषयमा महत्वपूर्ण काम भएका छन्”, उनले नेपालभ्यूजसँग भने, “अब नेपालको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गर्न प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न हुनेछु।”

प्रतिष्ठानले आइतबार उनलाई औपचारिक विदाई गरेको छ। सरकारको ‘थिंक ट्यांक’का रुपमा २०५४ मा स्थापना भएको प्रतिष्ठान परराष्ट्र मन्त्रालय मातहतको अर्ध सरकारी निकाय हो। प्रतिष्ठानले नव नियुक्त राजदूत, महावाणिज्यदूत तथा परराष्ट्र सेवाका कर्मचारीलाई अनुशिक्षण तथा सेवाकालीन तालिम प्रदान गर्छ।

परराष्ट्र नीति, आर्थिक कूटनीति, श्रम कूटनीति लगायतका विषयमा गोष्ठी र सेमिनार आयोजना गर्ने प्रतिष्ठानले यस्ता कार्यक्रमको निचोड परराष्ट्र मन्त्रालय र अन्य सरोकारवाला निकायलाई पेश गर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved