बर्दियामा खुल्यो वन्यजन्तु अनसुन्धान केन्द्र

नेपालभ्युज

बर्दियामा खुल्यो वन्यजन्तु अनसुन्धान केन्द्र

काठमाडौं। वन्यजन्तु संरक्षण अभ्यासमा देखिएका जटिलता अध्ययन अनुसन्धान गर्न ‘संरक्षित क्षेत्र व्यवस्थापन अनुसन्धान तथा प्रशिक्षण केन्द्र’ स्थापना भएको छ।

प्राकृतिक र मानवीय कारणले बढिरहेका मानव–वन्यजन्तु द्वन्द, दुर्लभ र लोपोन्मुख जिवजन्तु संरक्षणमा देखिएका चुनौती किनारा लगाउँदै संरक्षणकर्मीको क्षमता अभिवृद्धि गर्न केन्द्र स्थापना भएको हो। बर्दिया राष्ट्रिय निकुञ्जको लालमाटीमा खुलेको यस्तो केन्द्र नेपालका लागि पहिलो हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मातहत रहने केन्द्रको व्यवस्थापन बर्दिया राष्ट्रिय निकुञ्जले गर्नेछ। तीनवटा ठूला प्रशिक्षण हलसहित आवासीय तालिमका भवन र पूर्वाधार रहेकाले लालमाटीमा केन्द्र स्थापना भएको विभागले जनाएको छ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले शनिबार केन्द्र शुभारम्भ गरे। तत्कालका लागि बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत राजेश लम्सालको नेतृत्वमा ६ जना जनशक्ति खटाइएको छ। संरक्षित क्षेत्रका कर्मचारी समायोजनपछि थप जनशक्ति परिचालन हुने विभागले जनाएको छ।

सबै राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र, मध्यवर्ती क्षेत्र लक्षित गर्दै लालमाटीमा अध्ययन अनुसन्धान हुनेछ। केन्द्र बर्दियामा भए पनि देशभरका संरक्षण क्षेत्रको अध्ययन

अनुसन्धानका लागि जनशक्ति तयार हुने विभागका एक अधिकारी बताए।

“दुर्लभ र लापोन्मुख जिवजन्तु संरक्षणमा विविध किसिमका चुनौती देखिरहेका बेला यस्तो केन्द्रले गर्ने अनुसन्धान र अनुसन्धाताको राय सुझाव महत्वपूर्ण हुनेछ”, विभागका एक अधिकारीले भने, “केन्द्रले दिने राय सुझावका आधारमा संरक्षण रणनीति तय गरिनेछ।”

यस्तो केन्द्रको अभावमा नेपालका संरक्षणकर्मी तालिमका लागि भारत लगायत अन्य मुलुक पुग्ने गर्थे। अब विदेशी विज्ञ झिकाएर लालमाटीमा तालिम सञ्चालन गर्ने लक्ष्य लिइएको छ।

केन्द्रले बाघ, गैंडा जस्ता जिवजन्तुका लागि चाहिने प्राकृतिक वातावरण, आहरा र आवश्यक संरचना तयार गर्न निकुञ्ज र अन्य निकायलाई सुझाव दिनेछ।

निकुञ्ज र अन्य संरक्षित क्षेत्रमा वन्यजन्तु राख्ने मिल्ने क्षमता पहिचान, वन्यजन्तु स्थानान्तरण, घाँसे मैदान, जिवजन्तुका बासस्थानमा फैलिएको मिचाहा झार र वनस्पति व्यवस्थापनबारे केन्द्रले अध्ययन गर्नेछ।

नयाँ बासस्थानमा देखिने जिवजन्तुको आनीबानी परिवर्तन र अन्य विषय केन्द्रित अनुसन्धानका लागि केन्द्र स्थापना भएको बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख विष्णुप्रसाद श्रेष्ठले बताए।

“समस्या जहाँ देखिन्छ, त्यति पुगेर अध्ययन अनुसन्धान हुनेछ, उनले भने, “मानव–वन्यजन्तु द्वन्दको घटना बुझ्न, समस्या नदोहोरिने उपाय बताउन समस्या देखिएका ठाउँमा केन्द्रका प्राविधिक खटिनेछन्।” उनका अनुसार केन्द्रमा छिट्टै ल्याबसहितको संरचना तयार हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved