टाउकोको मूल्य झण्डै ६ अर्ब रुपैयाँ तोकिएका लागूऔषध तस्कर पक्राउ

नेपालभ्युज

टाउकोको मूल्य झण्डै ६ अर्ब रुपैयाँ तोकिएका लागूऔषध तस्कर पक्राउ

कोलम्बियाका ‘मोस्ट वान्टेड’ लागुऔषध तस्कर र देशकै सबैभन्दा ठूलो आपराधिक गिरोहका नेता पक्राउ परेका छन्। ‘ओटोनिल’ भनेर चिनिने डायरो अन्टोनियो उसुगालाई शनिबार सेना, वायुसेना र प्रहरीको संयुक्त अपरेशनपछि नियन्त्रणमा लिएको हो।

कोलम्बिया सरकारले उनको ठेगानाबारे जानकारी दिनेलाई आठ लाख अमेरिकी डलर अर्थात् नौ करोड ५५ लाख नेपाली रुपैयाँभन्दा बढी दिने बताएको थियो। अमेरिकाले भने उनको टाउकाको मूल्य ५० मिलियन डलर (पाँच अर्ब ९७ करोड नेपाली रुपैयाँ) तोकेको थियो।

कोलम्बियाका राष्ट्रपति इभान ड्यूकले राष्ट्रिय टेलिभिजनमार्फत एक भिडिओ सन्देशमा ओटोनियलको पक्राउको प्रशंसा गरेका छन्।

‘यो हाम्रो देशमा लागुऔषध तस्करीविरुद्धको शताब्दीकै सबैभन्दा ठूलो कारबाही हो,’ उनले भने, ‘यो कारबाहीलाई सन् १९९० को दशकमा पाब्लो एस्कोबारको पतनसँग मात्र तुलना गर्न सकिन्छ।’

पाब्लो इमिलियो इस्कोबार कोलम्बियाका लागुऔषध तस्करीका नाइके थिए। ‘कोकिनका राजा’ भनिने उनी इतिहासकै सबैभन्दा धनी अपराधी थिए।

राजनीतिमा पनि स्थापित भएका उनी सन् १९९१ मा आत्मसमर्पणपछि पाँच वर्षका लागि जेल पठाइएका थिए। तर सन् १९९२ मै उनी जेलबाट भागेका थिए। सन् १९९३ मा उनी ४४ औं जन्मदिन मनाएको अर्को दिन प्रहरी कारबाहीमा मारिएका थिए।

पनामाको सिमानामा रहेको उत्तर-पश्चिमी कोलम्बियाको एन्टीओकिया प्रान्तको ग्रामीण इलाका लुकेर बसेको ठाउँबाट ओटोनियललाई पक्राउ गरिएको हो।

कोलम्बिया प्रहरीले हतकडी लगाइएको ओटोनियलको तस्वीर सार्वजनिक गरेको छ।

पछिल्ला वर्षहरूमा ५०  वर्षीय ओटोनियललाई पक्राउ गर्न हजारौं सुरक्षाकर्मीका साथै ठूला ठूला कारबाही गरिएको कोलम्बिया सरकारले जनाएको छ। यद्यपि उनको गिरोहका अन्य मानिस पक्राउ पर्न भने सकेका छैनन्।

करीब एक दशकअघि आफ्ना दाजु मारिएपछि उनी ‘गल्फ क्ल्यान’को सदस्य प्रमुख बनेका थिए। कोलम्बियाका विभिन्न प्रान्तमा सञ्चालित र ठूलो अन्तर्राष्ट्रिय सम्पर्क भएको ‘गल्फ क्लायन’ लागूऔषध र मानव तस्करीमा संलग्न समूह हो। उक्त समूह सुन उत्खननमा पनि संलग्न छ।

कोलम्बियाको सुरक्षा निकायले उक्त गिरोहलाई देशको सबैभन्दा शक्तिशाली आपराधिक संगठन बताएको छ।

 (बीबीसीबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved