बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
फाइल फोटो

पाँचथर। बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो।

यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो सङ्ख्यामा स्थानीयवासीको ज्यान गएको हो। बाढीले बगाएर बेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिराले पुरिएर बेपत्ता फाल्गुननन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढी र पहिरामा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ। त्यसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन्। जिल्लामा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी तथा पहिरामा परी बेपत्ता छन्। बेपत्ता हुनेमा दुई स्वास्थ्यकर्मीसमेत छन्।
इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए। पहिरो झरेपछि भाग्ने क्रममा पहिराले पुर्दा बेपत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङका अध्यक्ष अमरराज माखिमले जानकारी दिए।

बाढी र पहिरामा परी बेपत्ताको खोजी तीव्र पार्न तथा क्षतिको विवरण सङ्कलन गर्न जिल्ला विपत् व्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ। सुरक्षा निकायले स्थानीय वासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय तहबाट क्षतिको विवरण सङ्कलन थालिएको समितिले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved