कोभिडका कारण विश्वभरका १ लाख ८० हजार स्वास्थ्यकर्मीको निधन

कोभिड भ्याक्सिनको धेरै मात्रा विकसित अथवा मध्यम विकसित देशका पुगेको छ। विश्वको तथ्यांक हेर्दा अफ्रिकामा जम्मा २ दशमलव ६ प्रतिशत व्यक्तिले मात्रै पूर्ण रुपमा भ्याक्सिन लगाउन पाएका छन्।

नेपालभ्युज

कोभिडका कारण विश्वभरका १ लाख ८० हजार स्वास्थ्यकर्मीको निधन

एजेन्सी । स्वास्थ्य क्षेत्रमा निकै ठूलो प्रभाव पारेको कोभिड-१९ संक्रमणका कारण विश्वभर करीब ८० हजारदेखि १ लाख ८० हजारबीच स्वास्थ्यकर्मीको निधन भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले जनाएको छ।

यो संख्यामा स्वास्थ्यकर्मीको निधन जनवरी २०२० देखि मे २०२१ बीचमा भएको बताइएको छ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिलाई भ्याक्सिन लगाउन प्रथमिकता दिनुपर्ने बताउँदै डब्ल्यूएचओका प्रमुख डा.टेड्रोस घेब्रेयिससले भ्याक्सिन वितरणमा भएको असमानतालाई लिएर आलोचना गरेका छन्।

यसअघि डब्ल्यूएचओका अर्का वरिष्ठ अधिकारीले भ्याक्सिन वितरणमा असमानता कायम रहने हो भने कोभिड-१९ को महामारी अर्को वर्षसम्म कायम हुनसक्ने चेतावनी दिएका थिए।

अहिले विश्वभर करीब १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान गरिएको छ।

“प्राप्त तथ्यांकहरुले के देखाउँछ भने १ सय १९ देशका पाँच स्वास्थ्यकर्मी मध्य दुईले मात्रै हालसम्म पूर्ण रुपमा भ्याक्सिन लगाएका छन्,” डब्ल्यूएचओ प्रमुख डा.टेड्रोस बताउँछन्।

तर, यसमा सम्पन्न देश र कम विकसित देशको तथ्यांक भने फरक पर्ने उनले बताएका छन्।

अफ्रिकामा १० स्वास्थ्यकर्मी मध्य एकभन्दा कमले मात्रै पूर्ण रुपमा भ्याक्सिन प्राप्त गरेको बताउँदै उनले त्यसको तुलनामा विकसित देशमा दशमध्ये ८ स्वास्थ्यकर्मीले भ्याक्सिन प्राप्त गरेका बताएका छन्।

विपन्न देशहरुमा अझै पनि भ्याक्सिनको अभाव रहेको बताउँदै यसअघि डब्ल्यूएचओका वरिष्ठ अधिकारी डा. ब्रूस आयलवर्डले यही अवस्थामा “सन् २०२२ सम्म पनि कोरिना भाइरसको सक्रमण जोखिम हुन्छ” भन्दै चेतावनी दिएका थिए।

अन्य महादेशहरुमा करीब ४० प्रतिशत मानिस भ्याक्सिनको पहुँचमा पुग्दा अफ्रिकामा जम्मा ५ प्रतिशत व्यक्तिले मात्रै भ्याक्सिन लगाउन पाएका छन्।

कोभिड भ्याक्सिनको धेरै मात्रा विकसित अथवा मध्यम विकसित देशका पुगेको छ। विश्वको तथ्यांक हेर्दा अफ्रिकामा जम्मा २ दशमलव ६ प्रतिशत व्यक्तिले मात्रै पूर्ण रुपमा भ्याक्सिन लगाउन पाएका छन्।

संयुक्त राष्ट्रसंघले सञ्चालन गरेको भ्याक्सिन वितरण कार्य ‘कोभ्याक्स’ अन्तरगत सबै देशले समान हिसाबमा भ्याक्सिन प्राप्त गर्ने बताइएको थियो। कार्यक्रम अन्तरगत धनी एवंम गरीब देशले पनि समान हिसाबमा भ्याक्सिन प्राप्त गर्ने उल्लेख थियो।

तर, जी-७ देशले भ्याक्सिन निर्माण हुन थालेपछि भ्याक्सिन निर्माता कम्पनीसँग आफ्नै हिसाबमा सम्पर्क राख्दै धेरै मात्रामा भ्याक्सिन भण्डारण गरेका थिए।

डा.आयलवर्डले धनी देशलाई भ्याक्सिन खरिद प्रक्रियाबाट बाहिर आउँदै अन्य देशलाई भ्याक्सिन खरिद गर्न सहयोग गर्न आग्रह गरेका छन्। धनी देशले भ्याक्सिन खरिद गर्ने प्रक्रियाबाट पछि हट्दा मात्रै भ्याक्सिन निर्माण कम्पनी अन्य देशको सम्पर्कमा जाने उनको तर्क छ।

उनले धनी देशले जी-७ लगायत अन्य सम्मेलनमा गरीब देशलाई भ्याक्सिन सहयोग गर्ने आफूले गरेको प्रतिबद्धतामा कायम रहन पनि आग्रह गरेका छन्।

“तपाईहरु सही दिशामा हुनुहुँदैन, मैले भन्नैपर्छ”, डा.आयलवर्डले भने, “भ्याक्सिनको प्रयोगको गतिलाई हामीले बढाउनुपर्छ। महामारी अन्त्य हुनुपर्नेमा अझै अर्को वर्षसम्म कायम हुने देखिएको छ।”

भ्याक्सिन सहयोगी संस्था ‘द पिपुल्स भ्याक्सिन’ले धनी देशले गरीब देशलाई सहयोग गर्ने प्रतिबद्धता गरेको सात डोज भ्याक्सिनमध्य एक डोज मात्रै सम्बन्धित देशमा पुगेको बताएको छ।

अक्सफाम र यूएसएड लगायतका संस्थाको संयोजनामा बनेको भ्याक्सिन सहयोगी संस्थाले क्यानडा र बेलायत जस्ता देशले आफ्नो प्रयोगका लागि राष्ट्रसंघको कोभ्याक्स कार्यक्रम अन्तरगत भ्याक्सिन खरिद गरेको आरोप लगाएका छन्।

आधिकारिक तथ्यांकअनुसार यो वर्ष मात्रै बेलायतले ५ लाख ३९ हजार ३७० डोज फाइजर भ्याक्सिन कोभ्याक्स कार्यक्रम अन्तरगत प्राप्त गरेको छ भने क्यानडाले १० लाखभन्दा कम डोज एस्ट्राजेनेका भ्याक्सिन सोही कार्यक्रम अन्तरगत प्राप्त गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved