प्रहरीको राशन भत्ता बढाउने व्यवस्था कार्यान्वयन

नेपालभ्युज

प्रहरीको राशन भत्ता बढाउने व्यवस्था कार्यान्वयन

काठमाडौं। नेपाल प्रहरी र सशस्त्र प्रहरीको बढाइएको राशन भत्ता कार्यान्वयनमा आउने भएको छ। यसका लागि गृह मन्त्रालयले राशन भत्तामा १५ प्रतिशत बढाउन बजेटमा गरिएको व्यवस्था कार्यान्वयन गर्ने तयारी गरेको हो।

आर्थिक वर्ष २०७८/०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लिखित १५ प्रतिशत वृद्धि भएको राशन रकम उपलब्ध गराउने तयारी गरिएको हो।
आगामी मन्त्रिपरिषद् बैठकमा पेश गर्न गृहमन्त्री बालकृष्ण खाँडले भत्ता वृद्धिसम्बन्धी फाइल स्वीकृत गरेका छन्। उनले आजै (बिहीबार) मन्त्रिपरिषदमा लैजाने फाइल स्वीकृत गरेका हुन्।

मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत १ साउनदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको राशन भत्ता पाउनेछन्। सरकारले जिल्लाको दररेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम तय गरेको हुन्छ। त्यसैका आधारमा उनीहरूले राशन भत्ता पाउँदै आएका छन्।

नेपाल प्रहरीको राशनभत्ता हरेक जिल्लामा फरक–फरक छ । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने एक समितिले मूल्यवृद्धिअनुसार हरेक वर्ष भत्ताको दर परिमार्जन गर्दछ।

तर ०७१ सालयता रासनभत्ता मूल्यवृद्धिअनुसार समायोजन हुन सकेको थिएन । बढेको भत्ता पाउनुपर्ने प्रहरीले माग गर्दै आएको थियो । राशन वृद्धि भएपछि प्रहरीको मनोबल बढ्ने प्रहरी अधिकारीहरू बताउँछन्।

तीन वर्षअघि गृह मन्त्रालयका तत्कालीन सहसचिव वीरबहादुर बुढा नेतृत्वको समितिले दुई-दुई वर्षमा राशनभत्ता समायोजन गर्न सुझाव दिएको थियो । सोही सुझावअनुसार प्रहरीको राशन भत्ता बढाइएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved