सरकारको सय दिन : चीन टाढा, भारत नजिक

नेपालभ्युज

सरकारको सय दिन : चीन टाढा, भारत नजिक
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको बुधबार सय दिन पुगेको छ। यस अवधिमा पूर्ववर्ति सरकारले छाडेर गएको अन्योलग्रस्त राजनीतिक अवस्था र अस्थिरताबाट मुलुकलाई अघि बढाउने जिम्मेवारीका साथ वर्तमान सरकारको नेतृत्व देउवाले गरेका थिए।

विकास, शान्ति र सुव्यवस्था तथा सुशासन, छिमेकसँगको सम्बन्धलाई व्यवस्थित बनाउनुका साथै आगामी निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित देउवा सरकारको गठन भएको थियो। यस्तै कोभिड-१९ नियन्त्रण पनि सरकारको प्रमुख लक्ष्य थियो।

सरकार गठन भएको करिब तीन महीनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको आलोचना खेपेको देउवा सरकारले यो अवधिमा केही राम्रा काम गर्दा अरु काम भने आलोचनालायक छन्।

वर्तमान सरकारको प्रमुख दायित्वमध्य थियो कोरोना भ्याक्सिन सर्वसुलभ उपलब्ध गराउनू। निवर्तमान सरकारले कोभिड-१९ नियन्त्रणका लागि भ्याक्सिन जुटाउन हालेको निभलाई यो सरकारले निरन्तरता दिएको हो। परिणामस्वरुप भ्याक्सिनमा नेपालको पहुँचलाई नराम्रो भन्न मिल्दैन। भने, कोरोना संक्रमणको दर पनि भयानक अवस्थामा छैन। सरकार गठन भएपछि एकै दिनमा तीन लाख मात्रासम्म खोप लगाइएको छ। त्यसलाई सरकरको सफलताका रूपमा लिन सकिन्छ।

प्रतिनिधिसभामा विश्वासको मत पाएलगत्तै प्रधानमन्त्री देउवाले नेपाली नागरिकलाई कोभिड-१९ को प्रकोपबाट जोगाउने सरकारको पहिलो प्राथमिकता हुने उद्घोष गरेका थिए। सरकारले आगामी चैतसम्म खोप लगाउनयोग्य सबै नेपाली नागरिकलाई खोप लागाई सक्ने प्रतिबद्धतासमेत जनाएको छ। सरकारले १८ वर्षमुनिका बालबालिकालाई समेत खोप लगाउने सुनिश्चितता गरेको हो।

देउवा सरकारले भारतसँग सम्बन्ध सुधारको पहल गर्दा चीनसँगको सम्बन्धमा भने उत्साहजनक रूपमा अघि बढ्न सकेको छैन। यसबीच प्रधानमन्त्रीमा देउवाको नियुक्तिसँगै नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले भेट गर्दै १६ लाख भ्याक्सिन दिने प्रतिबद्धता जायर गरेकी थिइन्। भने, परराष्ट्रमन्त्री नारायण खड्कासँग केही समयअघि भएको भेटमा थप १० लाख भ्याक्सिन दिने बताएकी थिइन्।

परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको द्विपक्षीय फोनवार्ताका क्रममा चीनले नेपाललाई अनुदानस्वरुप कोरोनाविरुद्ध २० लाख भ्याक्सिन दिने बताएको छ।

चीनबाट वर्तमान सरकारले भ्याक्सिनमा ठूलो सहयोग प्राप्त गर्दैगर्दा सम्बन्ध भने खास सकारात्मक नभएको चर्चा हुने गरेको पाइन्छ।

विशेषगरी हुम्लामा पर्ने नेपाल चीन सीमाको विषयलाई लिएर देउवा सरकारसँग चीन चिडिएको बताइन्छ। भारतसँगको सीमा विवाद विध्यमान रहेको अवस्थामा देउवा सरकारले चीनसँगको सीमा समस्या अध्ययनका लागि गृहमन्त्रालयको नेतृत्वमा चार सदस्यीय टोली नै गठन गरेपछि चीन देउवा सरकारसँग खुशी नरहेको समाचार आइरहेका छन्।

अध्ययन प्रतिवेदन गृहमन्त्रालयले बुझिसकेको छ भने मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई चीनसँग वार्ताका लागि पहल गर्ने व्यहोराको पत्र पनि बुझाएको छ।

प्रधानमन्त्रीका रूपमा देउवा चुकेको अर्को पक्ष राजनीतिक दलसम्बन्धी अध्यादेश थियो। संसद छलेर प्रमुख प्रतिपक्ष दल विभाजका लागि ल्याइएको अध्यादेश संसदमा टेबल भएको अवस्थामा नै छलफल नै नगरी फिर्ता गरियो। संसद नभएको अवस्थामा कानूनी बाधा हल गर्न सरकारले अध्यादेश ल्याउन पाउने छुट हुन्छ। तर, संसद चलेकै अवस्थामा प्रधानमन्त्रीले अध्यादेश ल्याउने काम गरेर संसद नै ‘फेस’ गर्न नदिई अध्यादेश फिर्ता लिई राजनीतिक बेइमानी गरे।

यस्तै आफ्नो मन्त्रिपरिषद्मा न्यायालयले आँखा लगाउँदासमेत देउवाले त्यसको निवारण गर्न सकेनन्। २२ असोजमा भएको मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री देउवाले गजेन्द्र हमाललाई मन्त्री नियुक्त गर्दा त्यसको सर्वत्र विरोध भयो। प्रधानन्यायाधीशको कोटाबाट हमाललाई मन्त्री नियुक्त गरेका भन्दै प्रधानमन्त्री देउवा आलोचनाका पात्र भए। यद्यपि, मन्त्री नियुक्त भएको करिब ३० घण्टामा नै हमालले राजीनामा दिँदा देउवा थप आलोचना हुनबाट जोगिए।

प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले राष्ट्रहितलाई भन्दा आफ्नो व्यक्तिगत हितलाई ध्यानमा राख्दै भारतसँग सम्बन्ध सुधारको प्रयास गरेका छन्। देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि महाकाली तुइन घटना भयो। १५ साउनमा जयसिंह धामीले तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सेनाले तुइन काट्दिँदा उनी नदीमा बेपत्ता भएका थिए।

उक्त प्रकरणमा देउवा सरकाले भारत सरकारसँग ठोस कूटनीतिक पहल गर्न नसकेको आरोप छ। घटना भएको ३८ दिनपछि मात्रै सरकारले भारतलाई कूटनीतिक पत्र पठाएको थियो। यद्यपि यस विषयमा कुनै ठोस प्रगति भएको छैन।

प्रधानमन्त्री देउवाले भारतसँग व्यक्तिगत सम्बन्ध सुधारका लागि चालेको अर्को कदम हालै भएको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वमा भएको भारत भ्रमण थियो। आफूइतर रहेका पार्टीका अर्को समूहलाई समेत जानकारीमा नदिई प्रधानमन्त्री देउवाको चहनामा महत नेतृत्वको टोली भारत भ्रमणमा गएको थियो।

भारतीय जनता पार्टी (भाजपा) सँगै पार्टीगत सम्बन्ध विस्तारका लागि कांग्रेस नेता भारत भ्रमणमा गएको बताइए पनि त्यो देउवाको सम्बन्ध सुधारका लागि गरिएको पहलका रूपमा बुझिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved