बझाङको थलारामा उद्धार जारी, तीन सयलाई सुरक्षित स्थानमा सारियो

वर्षा जारी रहेकाले उद्धार कार्य प्रभावित भएको छ। दिउँसो पानी परेर हेलिकप्टर जान नसकेपछि सुरक्षाकर्मीको उद्धार टोली फर्किएका छन्।

नेपालभ्युज

बझाङको थलारामा उद्धार जारी, तीन सयलाई सुरक्षित स्थानमा सारियो
बझाङको थलारा ४ डिख्लामा गएको पहिरो र गुगलबाट लिइएको थलाराको नक्सा

काठमाडौं। पहिरो जाँदा २३ जना बेपत्ता भएका बझाङको थलारा ४ डिख्लामा उद्धार जारी छ। गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा सात घर पुरिएपछि स्थानीयले खोजतलास गरिरहेका छन्।

यद्यपि निरन्तर वर्षा जारी रहेकाले उद्धार कार्य प्रभावित भएको छ। दिउँसो पानी परेर हेलिकप्टर जान नसकेपछि सुरक्षाकर्मीको उद्धार टोली फर्किएका छन्। अहिले स्थानीयले पहिरोमा फसेकालाई उद्धार र सुरक्षित स्थानमा पुर्‍याउने काम गरिरहेका छन्।

नजिकको ढोपा भन्ने स्थानबाट प्रहरी सहायक निरीक्षकको टोली उद्धारको लागि गएको बझाङ प्रहरीले जनाएको छ। बझाङका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक रूपक खड्काले टेलिफोनमा भने, ‘‘घटनास्थलमा र वरपरका गाउँमा अहिले विद्युत् र सञ्चार सेवा अवरुद्ध छ। एनटीसी फोन लाग्दैन। एनसेलमा नम्बरमा मात्र कहिलेकाहीँ फोन फोन लाग्छ। अहिलेसम्म तीन सय जनाको उद्धार गरिएको छ। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।’’

बझाङमा पहिरो : एकै घरका १८ सहित २३ जना बेपत्ता, ७ घर बगे

पहिरोमा बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना छन्। नरे सार्कीका घरका पाँच जना रहेको स्थानीयले जनाएका छन्। घरमुली गगने सार्की भने रोजगारीका लागि भारतमा रहेका बताइएको छ।

पहिरोमा उनका माइला छोरा काले सार्की मात्र सकुशल रहेका स्थानीयले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved