बुधबारसम्म बाढीको जोखिम, डडेलधुरामा ३६१ मिलिमिटर वर्षा

नेपालभ्युज

बुधबारसम्म बाढीको जोखिम, डडेलधुरामा ३६१ मिलिमिटर वर्षा
फाइल फोटो

काठमाडौं। केही दिनयताको निरन्तर वर्षाले महाकाली, कर्णाली, पश्चिम सेती र आसपासका नदी/खोलामा बाढीको बहाव उच्च भएको छ। बाढीले महाकाली र कर्णालीमा खतराको तह पार गरेको छ।

महाकालीको परिगाउँमा बाढीले खतराको तह ९.०३ मिटर पुगेको छ। त्यहाँको खतराको तह ७ मिटर र सतर्कता तह ५.८ मिटर हो। बाढीको प्रत्यक्ष प्रभाव कञ्चनपुरको भीमदत्तलगायत आसपासका भेगमा देखिएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ।

बाढीको बहाव उच्च भएपछि शारदा ब्यारेजमा सवारी साधन र सर्वसाधारणलाई ओहोरदोहोर गर्न रोक लगाइएको छ। त्यसैगरी कर्णालीको चिसापानी स्टेशनमा बाढीको बहाव १० मिटर भन्दामाथि पुगेको छ। सो स्टेसनको सतर्कता तह ९.८ मिटर हो।

चिसापानीमा जलस्तर खतराको तह माथि पुगेपछि जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले नदी तटीय क्षेत्रका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढी खतराको तह नजिक पुग्न थालेपछि महाकाली, कर्णाली, पश्चिम सेती, तिला, चिसापानीसहित आसपास भेगमा सतर्क रहन आग्रह गर्दै ‘मास एसएमएस’ पठाइएको छ।

नदी तटीय क्षेत्र आसपासका बस्तीमा जिल्ला प्रशासन कार्यालयले सोमबारदेखि आज बिहानसम्म मोबाइल फोनमा एसएमएस पठाएको बाढी पूर्वानुमान शाखा प्रमुख विक्रम श्रेष्ठ जुवाले बताए। “बाढीले क्षति पुर्‍याउने देखिएपछि अर्घाखाँची, प्यूठान क्षेत्रमा पनि सोमबार मास एसएमएस पठाइएको छ”, उनले नेपालभ्यूजसँग भने।

महाकाली र जोगबुढा नदीको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र चाँदनी दोधाराका दुई सय भन्दा बढी घर डुबानमा परेका छन्। विगत २४ घण्टामा डडेलधुराको साहुखर्क जलाधार क्षेत्रमा ३६१ मिलिमिटर वर्षा भएको छ।

डडेलधुराका धेरै भेगमा १९० मिलिमिटर भन्दा बढी वर्षा भएको विभागले जनाएको छ।

साहुखर्कको वर्षालाई मौसमविद्हरूले ‘अति भारी’ मानेका छन्। मौसमविद्हरू २४ घण्टामा दुई सय मिलिमिटर भन्दा बढी वर्षा भएमा अति भारी, एक सय देखि दुई सय मिलिमिटरलाई ‘धेरै भारी’ र ५० देखि एक सय मिलिमिटरलाई ‘भारी वर्षा’ मान्ने गर्छन्।

मुलुकभरका दुई सय १५ वटा वर्षा मापन केन्द्रमध्ये २४ घण्टामा दुई सय नौ केन्द्रमा वर्षा भएको विभागको तथ्यांक छ। ३६ वटा केन्द्रमा एक सय मिलिमिटरभन्दा बढी, १५ वटा केन्द्रमा एक सय ५० भन्दा बढी, पाँच वटा केन्द्रमा दुई सय मिलिमिटर भन्दा बढी वर्षा भएको विभागले जनाएको छ।

बंगालको खाडीमा विकास भएको न्यूनचापीय क्षेत्रको प्रभाव उत्तरपश्चिम सर्नेक्रममा त्यसको असरले देशभरको मौसम प्रभावित भएको छ। मंगलबार अपराह्नदेखि सुदूरपश्चिममा वर्षाको मात्रा घट्दै जाने विभाग बताउँछ।

मंगलबार र बुधबार प्रदेश १, २ र बागमती प्रदेशको पूर्व र उत्तरतर्फको भेग र गण्डकी प्रदेशको पश्चिमतर्फको भेगमा भारी वर्षा हुने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबारदेखि पूर्वका कन्काई, तमोर, दूधकोशी, अरुण नदी, चुरे क्षेत्र हुँदै बहने अन्य खोला नदीमा बाढीको जोखिम रहने बाढी शाखा प्रमुख श्रेष्ठले बताए। उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका खोला र खहरेमा पनि बाढीको बहाव बढ्ने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved