नियमित जाँच गर्ने डाक्टर बिदेसिँदा वैद्यको स्वास्थ्यमा समस्या !

नेपालभ्युज

नियमित जाँच गर्ने डाक्टर बिदेसिँदा वैद्यको स्वास्थ्यमा समस्या !

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ को नियमित स्वास्थ्य जाँच गर्ने चिकित्सक नेपालमा नहुँदा (विदेश गएका) निगरानीमा राखिएको छ।

स्वास्थ्यमा समस्या आएपछि आइतबार उनलाई अस्पताल भर्ना गरिएको थियो। लामो समयदेखि दम रोगबाट पीडित वैद्यलाई आइतबार दिउँसो श्वासप्रश्वासमा बढी नै समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।

परिवार स्रोतका अनुसार सानैमा जटिल खालको निमोनियाबाट गुज्रिएका वैद्यलाई ५० वर्षको उमेरदेखि नै दम रोगले चापेको थियो।

“दमले लामो समयदेखि दुःख दिइरहेको छ,” परिवार स्रोतले भन्यो, ‘‘त्यसकारण नियमित औषधि खाइरहनुका साथै नियमति स्वास्थ्य जाँच पनि गराइहनुभएको छ।” तर पछिल्ला केही दिनयता दौडधूप बढेका कारण स्वास्थ्यमा समस्या देखिएको थियो। जसले गर्दा घरमै बाफ दिएर उनलाई राखिएको थियो।

आइतबार राति भने अलि बढी नै च्यापेपछि वैद्यलाई नर्भिक अस्पतालमा लगिएको हो। आकस्मिक कक्षमा केही समय राखिए पनि अहिले उनलाई निगरानीमा राखिएको छ।

अवस्था सुधारोन्मुख रहेको र उनको दम बढ्नुका साथै छातीमा संक्रमण पनि देखिएको अस्पतालले जनाएको छ। वैद्यले झोलिलो पदार्थ खान दिनुका साथै हिँडडुल पनि गरिहेका अस्पतालले बताएको छ।

वैद्यले लामो समयदेखि डा.जितेन्द्र श्रीवास्तवसँग स्वास्थ्य जाँच गराइरहेका छन् तर अहिले श्रीवास्तव विदेश भएकाले उनलाई नर्भिकमा राखिएको हो।

पारिवारिक स्रोतका अनुसार नियमित डाक्टर नहुँदा वैद्यलाई केही गाह्रो भएको छ। श्रीवास्तव दुई/तीन दिनमै नेपाल आउने र त्यसपछि भने वैद्यलाई सजिलो हुने परिवारले बतायो।

अस्पताल भर्ना भएकै दिन सभामुख अर्थात् वैद्यका सम्धी अग्निप्रसाद सापकोटा स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए भने आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका थिए।

उच्च तहका नेताहरू प्रायः बिरामी

वैद्य मात्र होइन राजनीतिमा सक्रिय पछिल्ला प्रायः नेताहरू बिरामी पर्न थालेका छन्। उनीहरू दीर्घ रोगबाट पीडित भएका छन्। पूर्वप्रधानमन्त्री केपी ओली पनि मिर्गौला रोगपीडित हुन्। उनले दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका छन्।

त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि लामो समयदेखि मिर्गौला रोगबाट पीडित छन्। एक महिनाअघि मात्र उनी दिल्ली पुगेर मिर्गौला प्रत्यारोपण गराएका थिए।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई पनि प्रेसर र सुगरको समस्या छ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि उच्च रक्तचाप र मधुमेहबाट पीडित छन्। राष्ट्रपति विद्या भण्डारीले पनि ब्लड क्यान्सरबाट गुज्रिनु परेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved