काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले २४ असोजमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका निवासी मोहम्मद हकिम साहको जिल्ला प्रहरी कार्यालय सुनसरीको बन्दी गृहमा भएको मृत्यु प्रकरणबारे तथ्य बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न आफू प्रतिवद्ध रहेको बताएका छन्।
आइतबार गृह मन्त्रालयमा मुस्लिमसँग सम्बन्धित संघ संस्थाका प्रतिनिधिहरूले बुझाएको ज्ञापनपत्र बुझ्दै मन्त्री खाँणले सरकार नागरिकको जीवन रक्षा गर्न लागिपरेको बताए। सामाजिक सद्भाव कायम राख्दै तथ्य बाहिर ल्याउन सरकार र आफू संवेदशील रहेको उनकाे भनाइ थियो।
उनले थुनामा रहेका व्यक्ति मात्रै होइन, बाहिर रहेका व्यक्तिको पनि ज्यान जान नहुने र सबै नागरिक आफ्नो धर्म संस्कृति अवलम्बन गर्न स्वतन्त्र रहेको बताउँदै उनले सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएकोमा आफू प्रतिबद्ध रहेको बताए।
ज्ञापनपत्रमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित छानबिन समितिलाई भंग गरी उच्च अदालतका न्यायाधीशको संयोजकत्वमा मानव अधिकारकर्मी, सिआइबीका प्रमुख, कानुन विज्ञ, विधि विज्ञान प्रयोगशालाका विज्ञ नागरिक समाजका प्रतिनिधि सम्मिलित गराउन माग गरिएको छ।
त्यसबारे गृहमन्त्री खाणले सरकारले उच्च अदालतका न्यायाधीशको नेतृत्वमा छानबिन समिति सिधै बनाउन नसक्ने र न्यायपालिकाको अनुमति माग्नु पर्ने बताएका थिए। त्यसो गर्दा छानबिन गर्न ढिला हुने भन्दै अर्को समिति बनाउन या स्थानीयले विश्वास गर्नेगरी अहिलेको छानबिन समितिका सदस्यहरूलाई फेरबदल गर्ने विषयमा कुराकानी भएको थियो।
रानी शर्मासँग लामो समयसम्म प्रेम सम्बन्धमा रहेका साहलाई शर्माका बुबा विष्णु शर्मा खत्वेको मिलेमतोमा हत्या भएको आशंका स्थानीयको छ। पछिल्लो समय रानीले सामाजिक सञ्जालमा लेखेका धारणाले पनि त्यो देखाउने भन्दै उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्न माग संघ संस्थाका प्रतिनिधिहरूले गरेका छन्।
Facebook Comment
Comment