विप्लवसँगको सहमति कार्यान्वयन गर्न छलफल

गठबन्धनका शीर्ष नेताले दिएका सुझावका आधारमा सरकारले सहमति कार्यान्वयनको तयारी थालेको मन्त्री वडुले जानकारी दिए।

नेपालभ्युज

विप्लवसँगको सहमति कार्यान्वयन गर्न छलफल

काठमाडौं। सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग गरेको सहमति कार्यान्वयनका लागि पहल थालेको छ।

सहमति कार्यान्वयन गर्न गृहमन्त्री बालकृष्ण खाँडको पहलमा आइतबार गृहसचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खम्बबहादुर खाती र गृहसचिव टेकनारायण पाण्डेसँग छलफल भएको छ। छलफलमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद वडुसमेत सहभागी थिए।

नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न छलफल भएको मन्त्री वडुले जानकारी दिए। उनले नेपालभ्यूजसँग भने, “नेकपा कार्यकर्ताहरुमा लगाईएको मुद्दाको प्रकृति, कानुनी प्रक्रिया पुरा गरेर जानुपर्ने मुद्दाको अवस्था, कानुनी प्रक्रिया टुंगिसकेका मुद्दा र अदालतले गरेको निर्णय कति हो भन्ने विषयमा आज मोटामोटी छलफल भयो।”

गठबन्धनका शीर्ष नेताले दिएका सुझावका आधारमा सरकारले सहमति कार्यान्वयनको तयारी थालेको मन्त्री वडुले जानकारी दिए। “विप्लवजीहरुले गठबन्धनका शीर्ष नेताहरुलाई पनि भेटेर सहमति कार्यान्वयन गर्न दवाव दिइरहनुभएको छ”, उनले भने, “शीर्ष नेताहरुले यो विषय चाडो टुंगोमा पु¥याउन सुझाव दिनुभएको छ, सोही अनुसार हामी लागिपरेका छौं।”

यसअघि पनि गृहमन्त्री खाँडले सहमति कार्यान्वयन गर्न छलफल गर्दै आएका थिए। नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकारबीच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएको थियो। नेकपालाई लगाइएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो।

सहमती कार्यान्वयन गर्न भन्दै विप्लवसहितका नेताले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेताद्धय उपेन्द्र यादव र बाबुराम भट्टराईसँग पटक–पटक भेटघाट गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved