६ महीना थपियो एनआरएनएको कार्यकाल

१४ मंसिरभित्र १० औं महाधिवेशन सम्पन्न गर्न केन्द्रीय कार्यसमिति सहमत।

नेपालभ्युज

६ महीना थपियो एनआरएनएको कार्यकाल

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्य समितिको कार्यकाल ६ महीना थपिएको छ। केन्द्रीय समितिको शनिबार अबेरको बैठकले कार्यकाल थप्दै (नोभेम्बर ३० तारिख) १४ मंसिरभित्र १० औं महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ।

वर्तमान कार्यसमितिको कार्यकाल आगामी शुक्रबारसम्म मात्रै छ। यसअघि आगामी कार्तिक ६–८ गते महाधिवेशनको मिति तय भएको थियो। प्रतिनिधि चयनमा विवाद देखिएपछि कार्तिकमा हुने भनिएको महाधिवेशन स्थगित भएको थियो। परराष्ट्र मन्त्रालयले प्रतिनिधि चयनमा देखिएको विवाद मिलाएर मात्रै १० औँ महाधिवेशन गर्न निर्देशन दिएको छ।

६५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्ने विधान स्पष्ट नभएको र विद्यार्थीहरूलाई विधान विपरीत सदस्यता वितरण गरिएको पाइएपछि महाधिवेशन रोक्न परराष्ट्रमा उजुरी परेको थियो। तोकिएको अवधि समाप्त भएपछि पनि विभिन्न देशमा अधिवेशन गरिएको भन्दै परराष्ट्रले विवादित विषयको निरूपण गर्न दुई साताअघि कार्यसमितिलाई निर्देशन दिएको थियो।

परराष्ट्रले जुलाई ३१ तारिखपछिका अधिवेशनलाई मान्यता नदिने जनाएको छ। प्रतिनिधि चयनको विवाद जतिसक्दो छिटो किनारा लगाएर १४ मंसिर भन्दा अगावै महाधिवेशन गर्न कार्यसमितिले निर्णय गरेको वरिष्ठ उपाध्यक्ष डा. बद्री केसीले बताए। बैठकले प्रतिनिधि चयन विवाद समाधानका लागि अध्यक्ष कुमार पन्तलाई जिम्मा दिएको उनले जानकारी दिए।

“अध्यक्षले पूर्व अध्यक्षहरूसँग सरसल्लाह गरेर विवादित विषय किनारा लगाउनुहुनेछ”, केसीले नेपालभ्यूजसँग भने, “उहाँले (अध्यक्षले) प्रस्ताव गरेको सुझाव अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयले अनुमोदन गर्नेछ।”

१० औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि रुसका केसी, बेलायतका कुल आचार्य र अमेरिकाका रविना थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। आचार्य र थापा कांग्रेस निकट हुन् भने केसी नेकपा एमाले निकट छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved