जल पर्यटनसँग जोडिँदै ‘महासहर’ माछा

सेती र कर्णाली नदीको दोभान भन्दा करीब १५ किमि माथि र १५ किमि तलसम्म महासहरको नियमित चहलपहल पाइएको छ।

जल पर्यटनसँग जोडिँदै ‘महासहर’ माछा

काठमाडौं। कर्णाली र यसका सहायक नदीमा भेटिने गोल्डेन महाशीर (महासहर माछा)लाई पर्यटकीय गतिविधिसँग जोड्न चासो लिइएको छ।

नेपालीलाई महासहर माछाको महत्व बुझाउन र नेपाल आउने पर्यटकलाई ‘फिसिङ च्याम्पियन’का रुपमा कर्णाली पुर्‍याउन संरक्षणकर्मी जुटेका छन्। सेती र कर्णाली नदीको दोभान भन्दा करीब १५ किमि माथि र १५ किमि तलसम्म महासहरको नियमित चहलपहल पाइएको छ।

संरक्षण क्षेत्र घोषणा गरेर सचेतनामुलक कार्यक्रमसहित पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने नेपाल नदी संरक्षण संस्थाका कार्यकारी निर्देशक मौसम खनालले बताए। “कर्णालीका धेरै जसो शाखा नदीमा महासहर भेटिएको छ, खासगरी सेती र कर्णाली नदीको दोभान तल माथिको क्षेत्र महासहरको ‘हट स्पट’ भएकाले जल पर्यटनका अभ्यास सुरु गर्न सकिन्छ।”

नेपाल आउने अमेरिकी र रुसी पर्यटकले यो माछाबारे चासो लिने गरेकाले महासहरलाई ‘फिसिङ च्याम्पियन’सँग जोड्न सकिने खनालको तर्क छ। माछा समातेर पुन नदीमै छोड्ने, नाप र फोटो लिने ‘फिसिङ च्याम्पियन’ विदेशमा खेलकै रुपमा लोकप्रिय मानिन्छ।

यस्तो अभ्यास अनुशरण गर्दा नेपालबारेको प्रचार हुने र नेपालले आर्थिक लाभ लिन सक्ने विज्ञहरुको बुझाइ छ। भेरी, कर्णाली, सेती, कालीगण्डकी, कोशीमा महासहरको उपस्थिती पाइएको छ। कर्णालीमा ६० किलो हाराहारीको महासहर भेटिएको छ।

अन्यत्रको तुलनामा कर्णाली र यसका सहायक नदीमा यसको संख्या सन्तोषजनक रहे पनि संरक्षणका दृष्टिले ढुक्क हुने अवस्था नरहेको नदी अभियन्ता मेघ आले बताउँछन्। “यो माछा भारतमा लोपोन्मुख सूचीमा छ, भारत यो प्रजाती जोगाउने अभियानमा जुटेको छ, नेपालमा लोपोन्मुख सूचीमा पर्न नदिन संरक्षण क्षेत्र घोषणा गर्नुपर्छ, संरक्षण र प्रचारमा राज्यले चासो लिनुपर्छ”, उनले भने।

आलेका अनुसार स्वच्छ पानीमा रम्ने महासहरले अन्य प्रजातीका माछाको शिकार गर्छ। डल्फिन, घडियाल लगायत अन्य जलचरको संख्या सुधार्न यस्तै माछाको योगदान रहेको उनले प्रष्ट्याए। “नदीको पारिस्थितिक प्रणाली सन्तुलनका लागि महासहर जस्ता माछाको भूमिका महत्वपूर्ण हुन्छ”, आलेले नेपालभ्यूजसँग भने, “हाम्रा नदीमा महासहर देखिएन भने डल्फिन लगायतका जलचर पनि भेटिदैनन्।”

विद्युत् उत्पादन र अन्य प्रयोजनका लागि निर्माण हुने ड्¥याम, करेन्ट प्रयोग गरेर जथाभावी माछा मार्ने अभ्यास र नदीमा बढ्दो मानवीय चहलपहलले महासहर जस्ता जलचर जोखिममा पर्न थालेका उनको बुझाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved