आजदेखि मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना

नेपालभ्युज

आजदेखि मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना
सांकेतिक तश्वीर

काठमाडौं। अबका केही दिन देशभर अधिकांश स्थानमा हावाहुरी र मेघ गर्जनसहितको वर्षाकाे को सम्भावना रहेको पूर्वानुमान गरिएको छ।

भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले वर्षासहित हिमपात हुनेछ।

आइतबार (३१ असोज) र सोमबार (१ कार्तिक)मा सुदूरपश्चिम र कर्णाली प्रदेश र आसपासका भेगको मौसम प्रभावित बन्नेछ।

भारतको आन्द्रप्रदेश र उडिसाको तटीय क्षेत्र आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको असरले मुलुकका अधिकांश भेगको मौसम प्रभावित हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमको आंशिक प्रभाव आइतबारदेखि शुरु हुने बताउँदै महाशाखाकी मौसमविद् गंगा नगरकोटीले नेपालभ्यूजसँग भनिन्, “सोमबार देशैभर मौसम प्रभावित हुनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघ गर्जनसहित भारी वर्षा हुँदैछ।” मध्यम र हल्का वर्षासहित हिमपातको प्रभाव अन्य प्रदेशमा देखिने भएकाले मौसम सफा हुन केही दिन कुर्नुपर्ने उनले बताइन्।

मनसुन उत्तरार्ध (पोस्ट मनसुन) र हिउँदयामको मौसम प्रभावित गराउने भू–मध्य सागरको वायु इरान, अफगानिस्तान, पाकिस्तान, उत्तर पश्चिम भारतहुँदै नेपालको पश्चिमी भेगबाट भित्रिने गर्छ। अंग्रेजी महीनाको अक्टोबरदेखि डिसेम्बरसम्म पोस्ट मनसुन अवधि हो।

यो बेलाको वर्षा र हिमपातले कच्ची सडकको आवागमन अवरुद्ध पार्न सक्ने जलवायुविद् डा। धर्म उप्रेती बताउँछन्।

भू–मध्य सागरको वायुको असरले भारतको पूर्वी उत्तर प्रदेश र उत्तर प्रदेशको पश्चिमी भेग, उत्तराखण्ड, हिमाञ्चल, जम्मु काश्मीर लगायतका भेगमा भारी वर्षा हुने भारतीय मौसम विभागको प्रक्षेपण छ। भारतीय मौसम विभागले यी भेगमा भारी वर्षा हुने भन्दै सर्तक रहन ‘ओरेञ्ज अलर्ट’ जारी गरेको छ।

रेड, ओरेञ्ज र यल्लो अलर्ट मौसम पूर्वानुमानमा सतर्क र खतराको संकेत जनाउने शब्द हुन्। ‘ओरेञ्ज अलर्ट’ रेड र यल्लो अलर्ट बीचको सूचक हो। प्रतिघण्टा १५ देखि ३३ मिलिमिटर वर्षा हुने संकेत देखिएमा ओरेञ्ज अलर्ट जारी गर्ने प्रचलन छ।

बंगालको खाडीमा विकास भइरहेको न्यूनचापीय क्षेत्रको प्रभाव उत्तरपश्चिम सर्नेक्रममा पश्चिम बंगाल, उडिसा र आसपासका भेगको मौसम प्रभावित भइरहेको छ। भूमध्य सागर र अरब सागरको वायुको दोहोरो मिश्रणले नेपालसहित दक्षिण एसियाको हिउँदे मौसम प्रभावित हुने गर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved