बाल्यकालीन दशैं

‘वर्षभरका लागि एक जोर चप्पल पाइन्थ्यो’

म आमाको पेटमा थिएँ। बुवाको एक जना साथीको श्रीमती पनि गर्भवती हुनुहुन्थ्यो। परदेशमा दुई जनाले छोरा र छोरी भए सम्धी बन्ने बाचा गरेछन्। म छोरा भएर जन्मिएँ, बुवाको साथीको चाहिँ छोरी भएछ। अनि…

‘वर्षभरका लागि एक जोर चप्पल पाइन्थ्यो’

मेरा लागि बालकालमा बिताएका दिनमध्ये सबैभन्दा अविष्मरणिय दिन दशैंका  हुन्। म सानो छँदा मान्छेले गर्ने हरेक कामहरू दशैंकै तयारी हुन् जस्तो लाग्थ्यो। मान्छेले कमाइ पनि दशैंका लागि गर्छ जस्तो लाग्थ्यो। त्यतिबेला गाउँका काम गर्ने उमेर समूहका युवाहरू रोजगारीका लागि वर्षभरी कमाउन भारततर्फ जान्थे।

उनीहरू हिउँद लाग्दा खेतीपाती लगाएर भारततर्फ लाग्थे र दशैमा फर्किन्थे। घरमा हामी केटाकेटी, आमा र काकीहरू, हजुरबा र हजुरआमाहरू खुट्टा उचालेर आँखा तिखारेर बस्थ्यौँ। अब त दशैं आयो हाम्रो खुशी फर्कियो भन्ने हुन्थ्यो।

त्यतिबेला दशैं अहिले जस्तो आउने जाने तिथि मात्रै थिएन। दशैं आउनु भनेकै खुशी आउनु थियो। अब त दशैं आयो नयाँ लुगा लगाउन पाइन्छ, मासु खान पाइन्छ भन्ने थियो। नयाँ चप्पल, लुगाफाटो र खानेकुरा किन्थे। त्यतिबेला भात खान दशैं कुर्नपर्थ्याे। मकै कुटेर आधा पिठो र आधा दाना जसलाई रागा भनिन्थ्यो त्यही खान्थ्यौँ।

तर जब दशैं आउन थाल्थ्यो भात खान पाइने भयो र सँगसँगै मासु पनि खान पाइने भयो भन्ने हुन्थ्यो। त्यो वर्षभरीको खुशियाली हुन्थ्यो। बुवा हुनुहुन्थेन। दशैंको बेला तराईँमा बजार गएकाहरूलाई आमाले पैसा दिएपछि सामान्य कट्टु/चप्पल ल्याइदिनुहुन्थ्यो। त्यो हाम्रो वर्षभरीको लुगा हुन्थ्यो, स्कूल जाँदा पनि त्यही लगाउँथ्यौँ। हामी गोठालो जाँदा यताउता गर्दा त चप्पल लगाउँथेनौँ। चप्पल स्कूल जाँदा लगाउँथ्यौँ। चप्पल चुट्यो भने फिता सिलाएर लगाउँथ्यौँ।

हामी गोठाला जान्थ्यौँ। बाबियो सुक्दै गएको हुन्थ्यो त्यसलाई रसी बाटेर पिङ बनाउँथ्यौँ। जब बाबुयो सुक्न थाल्थ्यो, मकै पँहेला भएर सुलीमा चढ्न थाल्थे, जब खोलामा आएको बाढी सुक्न थाल्थ्यो अब त दशैं आयो मकै, बाबियो र सुकेका खोलाले दशैं बोलाएका हुन् लाग्थ्यो।

खासगरी टिका लगाउँदा मान्यजनबाट आर्शिवाद लिनुपर्ने हुन्थ्यो, तर हाम्रा लागि त्यो कुनै चासोको विषय हुन्थेन। त्यसको अर्थ नै थिएन। मुख्य चासो टिका लगाउँदा कति पैसा दिन्छन् भन्ने हुन्थ्यो। सकभर सबैलाई टिका लगाउन सक्यो भने धेरै पैसा हुन्छ भनेर त्यतातिर बढी चासो हुन्थ्यो। यो देखि ४५ सालतिरको कुरा हो।

त्यतिबेला २ रुपैयाँ पाउनु सबैभन्दा ठूलो दक्षिणा हुन्थ्यो। गट्टा भन्ने मिठाइ पाइन्थ्यो। त्यो एक रुपैयाँको ६ ओटा आउँथ्यो। परदेशबाट आउँदा पनि त्यही गट्टा, हामी केटाकेटीलाई फकाउँदा पनि त्यही गट्टा दिने गरिन्थ्यो। लोभ्याउने चीज नै त्यही थियो। २ रुपैयाँ दक्षिणा भयो भने १२ ओटा गट्टा आउछन् आधा आधा फोडेर साथीलाई दिन्थ्यौँ, गट्टा हुने मान्छे साथीहरूको भिडमा केन्द्रको मान्छे हुन्थ्यो। दशैं लगत्तै केदारमा मेला लाग्थ्यो, त्यो २ रुपैयाँले मेलामा पुगेर टन्नै सुन्तला खाएर आउन सकिन्थ्यो।

हामी गोठालो जाँदा अरुबेला दिन किन छोटो भयो अझैँ लामो भए हुन्थ्यो लाग्थ्यो। तर जब दशैं आउँथ्यो दिन लामा हुन्थे, विस्तारै हिँडे जस्तो लाग्थ्यो आकाशमा सुर्य। हामी दिउँसै गाइबस्तु घर ल्याएर आइहाल्थ्यौँ।

दशैँसँग जोडिने मेरो जीवनको एउटा रमाइलो घटना छ। म आमाको पेटमा थिएँ। बुवाको एक जना साथी हुनुहुन्थ्यो, उहाँको पनि श्रीमती गर्भवती हुनुहुन्थ्यो। परदेशमा दुई जनाले छोरा र छोरी भए सम्धी बन्ने भन्ने बाचा गरेछन्। म छोरा भएर जन्मिएँ, बुवाको साथीको चाहिँ छोरी भएछ।

अनि गर्भमै केटी मागेर बुवा म ६ वर्षको हुँदा बित्नुभयो। ६/७ वर्षको उमेरमा हामी केटाकेटीमा बिहे गरेर ल म बम्बै गएँ है भनेर बम्बै जाने र घर फर्किदा केटीले काखमा ढुंगो समातेर छ छोराछोरी जन्माएको खेल खेल्थ्यौँ। यो खेल खेल्दा जहिले अरु केटीलाई म श्रीमती बनाउँथे तर ऊसँग लाज लाग्थ्यो। उसँग म खेल खेल्थेनँ।

साथीहरूले पनि जिस्काउने भएकाले ऊ गएको जंगलमै नजाने, ऊ पनि म भएको ठाउँमा नआउने। तर दशैंमा भने उसको घरमा एक हातो केरा लिएर ससुराली मान्न जानुपथ्र्यो। म जाँदा ऊ पनि लज्जाले कहिले गोठमा जाने, कहिले त्यही बेला पानी भर्न नाउलोमा जाने गर्थी। त्यो एकदमै रमाइलो अविश्मरणीय घटना थियो मेरो दशैंको।

५ कक्षा पछि म पढ्न तराईँ आएँ। मागेको भएर गाउँका कोही राजापुर बजार आउँदा चुरा, रिबन लगायतका कुरा पठाउनुपर्छ भन्थे र म पठाउँथेँ पनि। एक दुई वर्षपछि घरमा छोरीको उमेर भयो बिहे गर्नका लागि मलाई बोलाउन भनेर आमालाई निरन्तर भन्न थाल्नुभएछ। आमाले पनि चिठ्ठी पठाउनुभयो, रैबार पठाउनुभयो। तर म गइनँ। म नगएपछि दुई परिवारबीच झगडै भएछ, पछि त्यो केटीको बिहे गरिदिएछन्।

(२०७२ सालको मदन पुरस्कार विजेता लेखक रामलाल जोशीसँग नेपालभ्यूजले गरेको कुराकानीमा आधारित)

तपाईंलाई नेपाल भ्यूज कस्तो लागिरहेको छ ? तपाईंले हामीलाई फेसबुक, युट्युब, ट्विटर, टिकटक मार्फत् सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved