यसरी शुरु भयो राजनीतिमा चियापान संस्कृति

मध्यदिनसम्म किसुनजी बखुण्डोलमै हुन्थे। ३ बजेपछि छाता टेक्दै न्यूरोडतिर लम्किन्थे। गाडी चढ्दैनथे। जहीँकहीँ  हिँडेरै पुग्थे।

यसरी शुरु भयो राजनीतिमा चियापान संस्कृति

काठमाडौं। कांग्रेसले २०३५ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गर्दै आएको छ। कम्युनिस्ट पार्टीमा स्वर्गीय मनमोहन अधिकारीले २०५४ सालदेखि चियापान शुरु गरेका थिए। राजनीतिक दूरी कम गर्न आपसी भाइचारा र सद्भाव कायम गर्न थालिएको चियापान समारोहको संस्कृति अहिले सबै दलहरूमा छ। ६८ वर्षको उमेरमा बीपीको २०३९ साउन ६ मा काठमाडौँमा निधन भयो।

बीपीको निधनपछि पनि सबै क्षेत्रका मानिसहरू भेला हुन चियापान गरियो। पञ्चायतकालको अन्त्यतिर लेखक, बुद्धिजीवी, पत्रकार, कवि, कूटनीतिक निकायका प्रतिनिधि, राजनीतिज्ञहरू एकै स्थानमा भेट्न चियापान गरिन्थ्यो।

चियापान कार्यक्रम अहिलेको राजनीतिक परिस्थितिमा सबै पार्टीका शीर्ष नेता एकै स्थानमा जम्मा हुने तथा भेटघाट गर्ने अवसरका रुपमा स्थापित भएको छ। बीपी कोइराला र मनमोहन अधिकारीले दशैंको अवसरमा शुरु गरेको चियापान परम्पराको बेग्लै गरिमा छ । त्यही परम्परालाई एमालेले मनमोहनको निधनपछि निरन्तरता दिँदै आएको छ। माधवकुमार नेपाल, झलनाथ खनाल हुँदै केपी शर्मा ओली अध्यक्ष हुँदासम्म निरन्तर जारी छ। पछिल्लो समय कोरोना महामारीले चियापान कार्यक्रम नभएपनि सामान्य अवस्थामा चियापान कार्यक्रम भइरहेको छ।

किसुनजी र चिया

अविवाहित र घरवारविहीन कृष्णप्रसाद भट्टराई किसुनजीका निम्ति कांग्रेस पार्टी परिवार भयो भने पार्टी कार्यालय घर। राजनीतिमा निष्ठा र मूल्य–मान्यताप्रति प्रतिवद्धताकै कारण उनलाई पञ्चायती तानाशाही शासकले १४ वर्षसम्म जेल हालेका थिए।

१४ वर्ष लामो जेल जीवनपछि ०३२ सालमा किसुनजी रिहा भए। १६ पुस ०३३ मा बीपी कोइराला, गणेशमान सिंह र पार्टीका अन्य वरिष्ठ नेताहरू राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्किए। किसुनजी जेलमुक्त भएपछि बखुण्डोलमा आफ्ना भान्जाको निवासमा बस्थे। त्यो निवास नेपाली कांग्रेसको गतिविधिको केन्द्रमा परिणत भएको थियो। किसुनजीले घरमा आफूलाई भेट्न आउनेलाई केही न केही खुवाएरै पठाउँथे। अक्सर चिया खुवाउँथे। उनलाई नजिकबाट चिन्नेहरू भन्छन् चिया खान्न भन्नेहरूलाई किसुनजीले पानी भए पनि पिलाएर पठाउँथे।

मध्यदिनसम्म किसुनजी बखुण्डोलमै हुन्थे। ३ बजेपछि छाता टेक्दै उनी न्यूरोडतिर लम्किन्थे। गाडी चढ्दैनथे। जहीँकहीँ  हिँडेरै पुग्थे। उनको साथमा केही सहयोगीहरू भने हुन्थे।

उनको गन्तव्य न्यूरोडको शिद्धिनारायणजीको रेडियो पसलसम्म हुन्थ्यो। रेडियो पसलबाहिर मुडामा बसेर राजनीतिक गफगाफ गर्थे। काम सकेर आएका सरकारी जागिरे, लेखक तथा बुद्धिजीबीहरूसँग उनी चिया पिउँदै गफिन्थे। भेटघाट, जमघटबाट पार्टी र अन्य क्षेत्रका सूचनाहरू उनलाई प्राप्त हुन्थ्यो। यस्ता नियमित गतिविधिलाई उनले राजनीतिक संस्कृतिको जागरण यात्रा भन्ने गर्थे।

०३३ मा बीपी कोइराला भारत निर्वासनबाट स्वदेश फर्किएपछि चाबहिलमा बस्न थाले। आफ्नो निवासको सानो आँगनबाट। बीपी त्यो ताका स्वर्गीय तारिणीप्रसाद कोइरालाको निजी निवास चाबहिलको जयबागेश्वरीमा बस्थे।

बीपी र चिया चलन

२०३५ सालतिरको कुरा हो। गिरिजाप्रसाद कोइराला महामन्त्री थिए। दलहरूमाथि प्रतिबन्ध कायमै थियाे। प्रशासनको आँखा छलेर राजनीति गतिविधि भइरहन्थे। जनतालाई राजनीति जागरण र चेतना कांग्रेस कम्युनिस्टहरूले गरिरहेका थिए। जनमत सङ्ग्रह गर्ने–नगर्ने विषयमा राजा वीरेन्द्रसँग छलफल भइरहेको थियो। राजासँग बीपीले नियमित कुराकानी भइरहेको थियो।

राजाले जनमतसंग्रहमा जाने सहमति जनाए। दलहरूले आफ्नो दलको नाम अगाडि प्र (प्रतिबन्धित) लेखेर पार्टीको साइनबोर्ड राखेर कार्यालय सञ्चालन गर्न पाउने भए। त्यो वातावरणको लाभ उठाउँदै कांग्रेसले पनि प्रारम्भमा कमलादीमा कार्यालय खोले। त्यति बेलासम्म किसुनजी राजनीति गफगाफ गर्न र चिया पिउन न्यूरोडसम्म जान्थे। पार्टी कार्यालय स्थापनापछि उनको पैदल यात्रा अब पार्टी कार्यालयतर्फ हुन थाल्यो। त्यसपछि उनको राजनीति गतिविधि र चियापान पार्टी कार्यालयकै हुन थाल्यो।

लोकतान्त्रिक संस्कार निर्माण गर्ने भन्दै उनले शनिबारका आम कार्यकर्ता जनतासँग बसेर भलाकुसारी गर्थे। सँगै चियापान गर्ने इत्यादि। प्रत्येक शनिवार बिहान ९/१० बजे किसुनजी नयाँ बानेश्वरमा रहेको लक्ष्मीको चिया पसल पुग्थे। जहाँ ठूलो सङ्ख्यामा कांग्रेसजन र जनसमुदाय भेला हुन्थे।

किसुनजी ४६ सालको जनआन्दोलनपश्चात् गठित अन्तरिम सरकारको प्रधानमन्त्री थिए। लोकतान्त्रिक संस्कार निर्माण गर्ने भन्दै आम कार्यकर्ता र जनतासँग बसेर भलाकुसारी गर्न रोकेनन्। उनले शनिवार बिदाका दिन भन्दै सरकारी गाडी प्रयोग गरेनन्। बिदामा प्रधानमन्त्रीले सरकारी गाडी प्रयोग नगर्ने भएपछि कर्मचारी वर्गमा पनि नैतिक प्रभाव र दबाब पर्‍यो।

त्यति बेलासम्म उनको चिया खाने स्टेसन फेरिसकेको थियो। त्यति बेलाका कांग्रेस केन्द्रीय सदस्य कुबेर शर्माको निवासमा शनिवार चियापान हुन्थ्यो। शनिवारकै दिन बिहान किसुनजी बानेश्वरस्थित शर्माको आमन्त्रणमा उनकै निवासमा आयोजित चियापान कार्यक्रममा पनि सरिक हुन्थे। चियापानमा विशेष गरी बौद्धिक कांग्रेसजनको जमघट हुने गर्थ्यो।

चाबहिलको चिया चलन
२०३५ सालबाट शुरु भएको थियो चिया चलन। बीपीले आफ्नो निवासको सानो आँगनबाट शुभेच्छुकलाई चिया पिलाउँथे।  बीपीले भेटघाटको माध्यमका रूपमा शुरू गरेकाे चियापान कार्यक्रम आजसम्म कायम छ।

‘‘बीपी कोइराला जब २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर तत्कालीन अवस्थाको खतरापूर्ण समयमा नेपाल आउनु भयो। त्यही प्रसंगमा बीपीले राष्ट्रियता र प्रजातन्त्रका पक्षमा एकता होस् भन्ने सकारात्मक सामाजिक सन्देश दिनका लागि भए पनि भेटघाटको प्रसङ्ग तयार पार्नुभयो,’’ कांग्रेस नेता रोमी गौचन थकाली भन्छन् ‘‘राजनीतिक, सामाजिक, शैक्षिक, व्यापारी र मुलुकलाई विभिन्न तरिकाले प्रभाव पार्नेहरूका बिचमा एकताको सन्देश प्रवाह गर्ने २०३५ सालमा कोजाग्रत पूर्णिमाको दिन चियापान आयोजना गर्नुभयो। त्यसपछि हरेक बर्ष चियापान कार्यक्रम हुँदै आयो।’’

सामान्य संस्कृति भविष्यका लागि उज्यालो

बीपीको चियापानको एउटा सामान्य संस्कृतिले भविष्यका लागि उज्यालो देखाएका थकालीको टिप्पणी छ। उनी भन्छन् ‘‘ बीपीले छोडेर जानु भएको त्यो सहिष्णुता र मुलुकको अस्मिताको रक्षा गर्ने संस्कारलाई बचाउन सक्नुपर्छ जसलाई चियापानको एउटा सामान्य संस्कृतिले भविष्यका लागि उज्यालो देखाएको थियो।’’

राजनीतिक, सामाजिक, शैक्षिक, व्यापारी र मुलुकलाई विभिन्न तरिकाले प्रभाव पार्नेहरूका बिचमा एकताको सन्देश प्रवाह गर्ने योजनाका साथ चियापान आरम्भ भएको त्रिभुवन विश्वविद्यालयका केन्द्रीय पत्रकारिता तथा आम सञ्चार विभागका सह प्राध्यापक डा. कुन्दन अर्याल बताउँछन्।

उनी भन्छन्, ‘‘कांग्रेस संस्थापक एवं प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइराला भारत प्रवासबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि उनलाई विभिन्न पेसा व्यवसायका व्यक्ति र राजनीतिकर्मी, कूटनीतिक निकायका प्रतिनिधि व्यक्ति भेट्न आउँथे। तर तत्कालीन शासकका गुप्तचरहरूले भेट्न आउने व्यक्तिलाई चियो चासो र केरकार गर्थे। त्यसपछि दसैँको अवसरमा टीका लगाउने तथा भेट्न सजिलो हुन्छ भनेर बीपीले चियापान समारोह शुरु गरेको इतिहास छ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved