काठमाडौं। साफ च्याम्पियनसिपको फाइनल खेलमा प्रतिबन्ध लगाएपछि नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफूविरुद्धको कारबाही निष्पक्ष नभएको प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले असन्तुष्टि जनाएका छन्। “यो निष्पक्ष भएन…, यो न्यायसंगत होइन, हामीले नियमको पालना गर्नुपर्छ”, साफले जारी गरेको नियमका बुँदासमेत राखेर अलमुताइरीले असन्तुष्टि पोखेका छन्।
साफले उनलाई शनिबार बिहान फाइनल खेलमा प्रतिबन्ध लगाएको हो। अलमुताइरीले फरक दुई खेलमा दुई ओटा पहेंलो कार्ड पाएकाले साफले फाइनल खेलमा प्रतिबन्ध लगाएको भन्दै पत्राचार गरेको थियो। तर साफकै नियमअनुसार फरक खेलमा दिइएको पहेंलो कार्ड कार्डले प्रशिक्षकलाई प्रतिवन्ध लगाउन मिल्दैन।
यसमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले समेत असन्तुष्टि जनाएको बताइएको छ।
भारतीय प्रशिक्षक स्टिमेकले माल्दिभ्स विरुद्धको खेलमा रातो कार्ड पाएपछि उनलाई पनि फाइनल खेलमा प्रतिबन्ध लगाइएको छ। दुवै प्रशिक्षक आजको फाइनलमा दर्शकका रुपमा मात्रै सहभागी हुनेछन्।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिपमा नेपाल भारत विरुद्ध फाइनलमा भिड्दैछ। खेल नेपाली समयअनुसार राति ८.४५मा शुरु हुनेछ।
Facebook Comment
Comment