बाल्यकालीन दशैं

दशैंको मौसम नै मनपर्छ

मलाई दशैंको मौसम नै सबैभन्दा प्रिय लाग्छ । अहिले पनि दशैंँताकाको घमाइला दिन र सफा मौसमसहितको हावाले छुन्छ । मलाई दशैंताकाको वातावरणको बासना मीठो लाग्छ।

दशैंको मौसम नै मनपर्छ

मेरो बाल्यकाल गाउँमा बित्यो । बाल्यकालका हरेक दशैं रमाइला हुन्थे । बिहान घरबाट बाहिर निस्कँदा खुलेको मौसम हुन्थ्यो । त्यही खुलेको मौसमले पनि खुशी बनाउँथ्यो ।

दशैँ आएको प्रकृतिले बताउँछ । सबै कामहरू सकिएको बेला हुन्छ । वर्षभरि काम गरेका किसानहरू दशैं आएपछि फुर्सदिला हुन्थे ।

त्यतिबेला हाम्रो माटोको घर थियो । फराकिलो आंगन, पिँढी, भित्र भूइतल्ला, माथिल्लो चोटा कोठा, बाहिर बार्दली, त्यसमाथि अर्को तला थियो । दशैँमा हजुरबाले घर चिटिक्क बनाउनुहुन्यो । आँखीझ्यालमा हरियो इनामेल लगाउनुहुन्थ्यो । भित्तामा भने रातो र सेतो माटो लगाइन्थ्यो । हजुरबाले भित्ताको तल रातो माटोले पोत्नुहुन्थ्यो । माथि सेतो कमेरा वा चुनले पोत्नुहुन्थ्यो ।

हामी भने ‘दशैं आयो, खाउँला पिउँला, कहाँबाट ल्याउँला, चोरी ल्याउँला, धत्त पापी म त छुट्टै बसौँला’ भन्दै औँला भाँच्दै दिन बिताउँथ्यौ ।

बाल्यकालको दशैंको अर्को रमाइलो पक्ष पिङ थियो । पिङ बाटेर हालेपछि बल्ल दशैं आएको जस्तो लाग्यो । वन जङ्गलबाट बाबियो ल्याएर हजुरबाले डोरी बाट्नुहुन्थ्यो । घर छेउको चौतारामा पिङ हाल्नुहुन्थ्यो । त्यसपछि दशैंको थप रमाइलो हुन्थ्यो ।

प्रायः दशैंमा घमाइलो नै हुने गर्छ । बाल्यकालमा हुँदा कहिलेकाहीँ दशैंमा पानी परेको याद छ । त्यो दशैंलाई हिले दशैं भनिन्थ्यो । अलिपछि किशोरावस्थामा हुँदा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको नयाँ सिरियल आएको थियो । सिरियलको नाम नै दशैं थियो । दशैंमा परिवारको लागि मासु खुवाउन अरूको खसी चोरेर लगेको थियो त्यो सिरियलमा । त्यसको सन्देश थियो दशैंमा मासु खानै पर्छ भन्ने होइन । मासु नखाएरै पनि दशैं मनाउन सकिन्छ ।

सानो छँदा हाम्रो घरको बाटो भएर टिका जमरा लगाएका मान्छेहरू लस्करै हिँड्दथे । तिनीहरू हेर्दा पनि रमाइलो हुन्थ्यो ।

हामी बच्चा छँदा दशैंको बेलामा नै वर्षभरिलाई पुग्ने कपडा किनेर ल्याउने गरिन्थ्यो । हजुरआमाले दुई तीन जना साथीहरू लिएर भक्तपुरसम्म स्कुलको कपडा घर बस्दा लगाउने कपडा र जाडो गर्मीका कपडा सबै एकैपटक किनेर ल्याइदिनुहुन्थ्यो । बजार टाढा थियो । महिनौँ अघिदेखि कपडा सिलाउन जाने गरिन्थ्यो । मेरो ममी काठमाडौं बस्नुहुन्थ्यो । दशैंमा उहाँ काठमाडौंबाट गाउँमा आउनुहुने भएकाले थप उत्साह हुन्थ्यो । कपडा सिलाउने मान्छे घरमै आउँथे । बजारबाट ल्याएका नयाँ बास्ना आउने कपडा घरमै पनि सिलाउने गरिन्थ्यो । त्यतिबेला अहिलेजस्तो बजारमा भर परिँदैनथ्यो । सबैथोक घरमै तयार हुन्थ्यो । दशैंको लागि घरका मानिसहरू तोरी पेल्न भक्तपुरसम्म जान्थे । चिउरा घरमै बन्थ्यो । हजुरआमाले चिउराका लागि धान भिजाउनहुुन्थ्यो । राती हामीलाई सुत्न पठाएर लालटिन बालेर ढिकीमा चिउरा कुटिन्थ्यो । बिहान उठेर हामीले दूध चिउरा खान्थ्यौं । ताजा दूधमा ताजा चिउरा भिजाएर खाँदाको स्वाद बेग्लै हुन्थ्यो । त्यो स्वच्छ स्वाद अहिले पनि मेरो मुखमा झुण्डिरहेको छ ।

मेरो हजुरआमा गाउँमा सबैभन्दा पाको उमेरको हुनुहुन्थ्यो । त्यसैले गाउँभरका मानिसहरू टिका लगाउन आउँथे । उनीहरूलाई आलु बोडीको तरकारी, खसीको मासु चिउरा खुवाएर पठाइन्थ्यो ।

बाल्यकालका यति धेरै स्मृति हुँदाहुँदै पनि मलाई दशैंको मौसम नै सबैभन्दा प्रिय लाग्छ । अहिले पनि दशैंँताकाको घमाइला दिन र सफा मौसमसहितको हावाले छुन्छ । मलाई दशैंताकाको वातावरणको बासना मीठो लाग्छ। मेरा लागि दशैं मिक्स प्याकेज हो । रमाउने, खाने, मन परेको पहिरन लगाउने, मठ–मन्दिर जाने, आफन्तलाई ख्वाउने, जमघट गर्ने उपयुक्त अवसर हो ।

(श्यामसुन्दर पुडासैनीसँगको कुराकानीमा आधारित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved