भूटानी शरणार्थी शिविरमा आउदैन दशैं

‘‘अब त दशैं पनि नआएकै जाति। दशैं आउँदा केटाकेटीको याद धेरै आउँछ। बरु अरुबेला त जसोतसो कटाएकै हौँ। कटाउँछौँ पनि।’’

नेपालभ्युज

भूटानी शरणार्थी शिविरमा आउदैन दशैं

झापा। भूटानी शरणार्थी शिविर बेल्डाँगीकी लीलादेवी पोखरेल (६१) भूटानमा हुँदा धुमधामका साथ दशैं मनाउँथिन्। अढाई दशकअघि भूटान सरकारले नेपाली भाषी भएकै कारण लखेटेपछि नेपाल आइन्। पाँच वर्षअघिसम्म शरणार्थी शिविरमा पनि उनी राम्रैसँग दशैं मनाउँथिन्।

पारिवारिक विछोडले विछिप्त लीलादेवी पोखरेल

तर, पाँच जना छोराछोरी पुनर्वासले अमेरिका गएपछि उनको घरमा दशैं आएको छैन। श्रीमानसँग पारिवारिक बेमेल छ। सँगै भएका कान्छा छोरालाई मानसिक बिरामीका कारण सुधारगृहमा राखिएके छ। ‘‘पहिला त भव्य दशैं मनाउँथ्यौँ अहिले त घरमा कोही छैन,’’ आँसु झार्दै उनी भन्छिन्, ‘‘सँगै भएको कान्छा छोरालाई पनि सुधार गृह राखिएको छ। आउन पनि मिल्दैन रे !’’

पुनर्वासले उनी एक्लिएकी छिन्। टीका लगाइदिने कान्छा छोरा पनि नभएपछि घरमा जमरा पनि राखेकी छैनन्। ‘‘टीका लगाउने मान्छे पनि छैनन्। मलाई लगाइदिने पनि छैनन्। केका लागि जमरा राख्ने। हामीलाई दशैं नै आउँदैन,’’ उनले भावुक हुँदै भनिन्। लीलादेवी आजकाल मठमन्दिरमा गएर मन भुलाउँछिन्। ‘‘कतै पुराण लागेको माइक बजेको सुने भनेँ उतै गएर मन भुलाउँछु,’’ उनी भन्छिन्, ‘‘छोराहरूले त अमेरिका आइज भन्छन्। तर, कान्छो छोरालाई नलगी जान मिल्दैन रे १ उसलाई म यहाँ एक्लै छाडेर जान सक्दिनँ।’’

भूटानी शरणार्थी शिविर बेल्डाँगीका तुलबहादुर गुरुङ ९७५० को परिवारमा दशैं नआएको सात वर्ष भयो। सात वर्ष अघि दूई छोरा र एक छोरी अमेरिका पुनर्वास भएपछि दशैं मनाउन छाडेका छन्, उनले। श्रीमती पनि थला परेकी छन्। बोल्नसक्नै छाडिन्। उनलाई दशैं आउनै छाडेको छ। ‘‘भूटानमा हुँदा त सम्पत्ती आफ्नै टन्न थियो। ठूलो दशैं मनाइन्थ्यो। यहाँ नेपाल आएर पनि केटाकेटी बारिह नगएसम्म त राम्रो दशैं मनायौँ,’’ उनी भन्छन्, ‘‘अब त दशैं पनि नआएकै जाति। दशैं आउँदा केटाकेटीको याद धेरै आउँछ। बरू अरूबेला त जसोतसो कटाएकै हौँ। कटाउँछौँ पनि।’’

बिरामी श्रीमतीसँग तुलबहादुर गुरुङ।

सन् २००८ बाट शुरु भएको पुनर्वास प्रक्रियाबाट एक लाख १३ हजार बढी भूटानी शरणार्थी तेस्रो देश पुनर्वास भएका छन्। दमकस्थित बेल्डाँगी शिविर र मोरङको पथरीशनिश्चरेस्थित शिविरमा करिब ६ हजार तीन सय भूटानी शरणार्थी छन्। विभिन्न कारणले पुनर्वास हुन नसकेका, भूटान नै फर्कन चहाने र नेपालमै स्थानीयकरण हुने इच्छाले कतिपय शरणार्थी तेस्रो देश गएका छैनन्। तर, शिविरमा अहिले पारिवारिक विछोडका कारण मानसिक रूपमा विछिप्त भएका धेरै छन्।

बूढेशकालमा तेस्रो देश नजाने भएर कतिपय वृद्धवृद्धा शरणार्थी शिविरमा बसेका छन्। उनीहरू शिविरमा एक्लिएका छन्। पारिवारिक विछोडका कारण पनि कतिपय शरणार्थीको घरमा दशैं आएको छैन। ‘‘घरमा दुई जना बुढाबुढी छौँ। तीन जना छोराछोरी विदेश छन्। दुइ छोरीले यहीँ नेपालमा बिहे गरेका छन्,’’ धनपति खनाल (८०) भन्छन्, ‘‘ती दुइवटी छोरी त आउँछन्। तर, सबै जनाए भएको भए पो दशैं रमाइलो हुन्थ्यो। हाम्रा लागि त दशैं खल्लो छ।’’

धनपति खनाल

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved