टीकाको साइत १० बजेर २ मिनेटमा

नेपालभ्युज

टीकाको साइत १० बजेर २ मिनेटमा

काठमाडाैं। यसपटक टीकाको साइत विजया दशमीको दिन २९ असोज बिहान १० बजेर २ मिनेटमा परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उत्तम साइतको समयमा पूर्वतर्फ फर्किएर टीका लगाउनुपर्ने बताएको छ।  समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीका अनुसार देवी विसर्जनको साइत भने २९ असोज बिहान ८ बजेर १९ मिनेटमा रहेको छ।

विजयादशमीका दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा आराधना गरी देवी विसर्जन गरिन्छ।

२१ असोजमा घटस्थापनासँगै नवरात्र शुरु भएकोमा नौ दिन भिन्नभिन्न देवीहरुको विधिपूर्वक पूजा गरिएको थियो। नौ दिनसम्म शक्तिका देवीहरुको पूजापछि दशौँ दिन विजया दशमीको टीका लगाइँदैछ।

घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रूपमा लगाइन्छ। घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ।

नवरात्रमा दुर्गा भवानी देवीको पूजा आराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ।

नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिएको थियो। दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved