मुगु। मुगु बस दुर्घटनाका घाइतेको उद्वारका लागि तीनओटै सुरक्षा निकाय र स्थानीयबासी खटिएका छन्। नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी उद्वारमा खटिएका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रोम बहादुर महतले बताए।
उद्वारका लागि नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ गएको र उद्वारको प्रयास भइरहेको उनले जानकारी दिए।
नेपालगञ्जबाट मुगु जाँदै गरेको भे १ ख ३१६७ नम्बरको यात्रुवाहक बस दिउँसो २ बजे दुर्घटना भएको थियो। २२ जनाको घटनास्थलमै मृत्यु भएको थियो। दुई जनाको उद्वारपश्चात् अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ। १६ जना घाइतेको उद्वार गरिएको छ। घाइतेलाई हेलिकप्टर र हवाईजहाजमार्फत नेपालगञ्ज लगिएको छ।
बसमा कम्तीमा ४० जना यात्रु रहेको सीडीओ महतले बताए। यात्रुबारे अझै विस्तृत विवरण नआएको र दुर्घटनाको कारण खुल्न बाँकी रहेको उनको भनाइ छ। बस छायाँनाथ रारा नगरपालिकास्थित उकालोबाट करिब २ सय मिटर तल खसेको थियो।