एउटा बूढो भ्वाइलेन : आशावरीको धूनमा
ऊ पोइल गैसकी रे !…तर पोइल गए पनि उसले सुख पाएकी त छैन रे! गरीबसँग गएकी रे; राम्ररी खान लाउन दिन पनि सक्तैन रे ! पिट्छ रे, बेलुकी घर आएपछि-मारिपिट्छ रे ! बेसरी जाँड खाएर आउँछ रे, अनि मारि-पिट्छ रे !
मेरो कोठाको भित्तामा सधैँ सधैँ मेरो आँखा अगाडि झुण्डिइरहेको त्यो पुरानो भ्वाइलेन धेरै नै बूढो देखिन्छ। धेरै पुरानो-असी-पचासी उमेर पुगिसकेको, मेरुदण्ड टुटिसकेको एउटा जीर्ण वृद्धजस्तै, जसको शरीरका सम्पूर्ण अवयवलाई रोग र वयका कीटाणुले खाइसकेका छन्, चपाइसकेका छन्, भित्रभित्र धुल्याइसकेका छन्। यसका ठाउँ ठाउँका जोर्नीमा रसाएको सरेस उप्किइसकेको छ, रङ्गरोगन खुइलिसकेको छ।
मैले धेरै भयो यस भ्वाइलेनलाई बजाउन छोडेको। कहिलेकाहीं बिहान-बेलुकी फुर्सद पाएको बेला म यसलाई खूब हेर्ने गर्छु। त्यस बखत मेरो मनमा नानाभाँतिका तर्कनाहरू उठ्छन्। जवानीमा यसबाट कति मीठा र कति नौंला स्वर फुटे होलान् (फुटे होलान् किन ? फुटेका थिए) म सम्झन्छु, यसले आफ्नो जवानीमा मलाई कति साथ दिएको थियो। दुःखमा मसँग रोएको थियो- पीलू र वागीश्वरीको स्वरले मेरो छातीको व्यथा धोएको थियो। सुखमा मसँगै हाँसेर दरवारी र आशावरीको स्वर फोएको थियो। यसले मेरो प्रत्येक भावनात्मक स्थितिमा मेरो अन्तरसँग मिलेर गाएको थियो।
अनि मेरो मन चञ्चल हुन्छ, त्यसलाई सुम्सुम्याउन; सुम्सुम्याउदै त्यसमाथि बो फेर्न। मेरो एकान्तको साथी त्यो बूढो भ्वाइलेन ! तर किन किन मन फेरि त्यसै सेलाएर आउँछ। के यस जीर्ण बाजाबाट आज पनि त्यत्तिकै सबल स्वर फुटेर नौलो रागिनी निस्कन सक्ला? के यसको तारमा अझै जोशपूर्ण झङ्कार भरिएको मेरो अन्तरसँग किन सक्ला ?… मलाई विश्वास लाग्दैन। तैपनि एकदिन नपत्याई नपत्याई उठ्छ, उठेर त्यस पुरानो बाजालाई कीलाबाट उतार्छु, ज्यादै ममतासँग त्यसको शरीर मुसार्छ र तारहरूलाई कसकास गरेर ठाटमा ल्याउँछु। अनि बोमा त्यसै पनि ‘रोजन’ दलेर मन नलागी नलागी त्यसले तारमा रेट्छ। साँच्चै त्यसमा एउटा मूर्च्छना फुट्छ; एउटा अन्तर हिलाउने संवेदन, एउटा प्राण रुवाउने मोड निल्कन्छ। साँच्चे त्यसबाट एउटा अत्यन्त नौलो-नयाँ गीत बोल्छ, नयाँ नौलो स्वर फुट्छ–एउटा जवान र सबल स्वर ! म त्यस गीतमा तल्लीन हुन्छु, त्यस रागिनीको उतार-चडावमा म त्यसै कता पुग्छु, कता पुग्छु। “सुब्बा बाजे, ऊ आउँछु भनेर गएकी त आइन”— त्यस जीर्ण भ्वाइलेनसँग एकाकार भएर देखिएको एउटा ज्यादै मायालाग्दो अनुहारले मसँग एउटा निर्बल फिराद गर्न थाल्छ। — “खोइ सुब्बा बाजे; त्यो आइन !”
अब त्यस ढाँचामा जडिएको अनुहारका प्रत्येक रेखाहरू मेरा आँखामा प्रष्टिन थाल्छन्। पुड्को पुड्को कद, पातलो र झीनु शरीर, कुप्रो र बाङखुरे हिँडाइ, अनुहारमा असंख्य संवत्सरले कुल्चेर बनाएका गोरेटाहरू, आँखामा एउटा अनौठो सपना र अनुहारमा केटाकेटीको अबोधपना।
मानिसहरू भन्छन् -लुरे एउटा साह्रै सोझो र कुनै लप्पनछप्पन नभएको मानिस हो। (यस बज्र, बहिरो र लठ्याउरो मुर्तिले सोझो नभएर अरू हुने कुरा पनि त के थियो र ?) ऊ अहिलेसम्म नांगै बसेको छ। उसका आफ्ना भन्नू कोही छैनन्, घरबार पनि छैन। ऊ एकजना पण्डितजीको घरमा डेरा गरेर बस्छ। केटाकेटीदेखि नै यिनै पण्डितजीको घरमा खाइपिई हुर्केको रे। उमेर पुगेपछि जागिर पनि यिनै पण्डितजीका बाबुले गराइदिएका रे उसलाई। त्यसले यस घर र यहाँका मानिससँग उसको ममता गाँस्सिएको छ। अड्डाको ड्यूटी सकेपछि ऊ बचेको समयमा यस घरको डयूटी पनि भ्याउने कोशिश गर्छ। बिहान-बेलुकी दुइटा बडाबडा पीत्तले गाग्रीमा पानी भरेर ऊ बागमतिको सिंढी हुँदै पण्डितजीको घरतिर उक्लिरहेको देखिन्छ। अनि कहिलेकाहीँ केटाकेटी बोकेर गोकर्णेश्वरको मन्दिर वरिपरी डुलिरहेको देखिन्छ।
उसको जीवनमा विशेषता केही छैन। हो एउटै विशेषता छ, त्यो हो उसको जागिर। उसले तीस बाली एउटै जागिरमा गुजारेको छ। उसको जीवन चार रुपियाँदेखि शुरू भएको थियो र अहिले ऊ झण्डै-झण्डै आफ्नै उमेरसरह नै तलब खान्छ। तर तलबमा यसरी वृद्धि भए तापनि उसको दर्जा भने सधैं एउटै ठाउँमा अडेको छ — अर्थात् ऊ शुरूदेखि अहिलेसम्म अड्डाको पाले छ (भाजभोलि पियन भनिन्छ)। दिनभर (अनि कहिले रातभर पनि) अड्डा कुर्नु, अफिसरहरूका मेच-टेबिल र अफिसरहरूले टेक्ने भुईँ पुछ्नु, पखाल्नु, हाकिमहरूलाई गर्मीमा खान माटोको गाग्रोमा चिसो पानी भर्नु र छ-पाठ घण्टा ढोकाबाहिरको त्रिपाइमा उँघ्नु, यही उसको महान् कर्तव्य छ। हो, यदाकदा हाकिमलाई भेट्न आउने मानिसलाई ढोकाबाहिरै रोके र के कसो खोर्याउने अवसर पनि उसको कर्तव्यकै टुङ्गोरित्र पर्न आउँछ। यस्तै एकनासे गतिमा उसको जीवन बगिरहेको पाइन्छ।
लुरेको बूढो मन त्यस केटीको जवान स्वास्नीमानिसतिर नराम्रो सँग तानियो। ऊ त्यस केटीको मीठो सुसेलोमा आफ्नो प्राणको गीत अलाप्न थाल्यो। आफ्नो उमेर, आफ्नो स्थित सम्पूर्ण बिर्सेर मनमा पूर्णयुवकत्वको अनुभव गर्न ऐना हेर्न थाल्यो।
यस्तै एकनास र एकसयमा दगुरिरहेको उसको जीवनको सोझो गतिलाई यता छ, आठ महिनादेखि एउटा अर्कै मोड दिएको देखिन थालेको थियो। उसको भ्वाइलेनले एउटा नौलो रागिनीको स्वर अलाप्न थालेको सुनिन थालेको छ। त्यसैले म छुट्टीको दिनमा बागमती नुहाउँन जाँदा अक्सर बेग्लै उसको छनक पाउन थालेको छु।
म त्यहाँ पुगेको थाहा पाउनासाथ ऊ हतार हतार मेरो अगाडि आएर उभिन्छ। पहिले संभवतः दुई हात जोरेर नमस्कार गर्छ। अनि अनुहारमा एउटा खिस्सिए झै हाँसो लिएर अलि लठ्यौरो स्वरमा भन्छ- “सुब्बा बाजे, त्यो त बेइमानी पो रै’छ। धन्दा नमान्नु, तीन चार दिनमा फर्केर आउँछु भनेर गएकी मान्छे, आज छ महीना भैसक्यो।”
पहिलोपटक त उसको तारतम्यरहित सिङ न पुच्छरको कुराले मलाई अक्कनबक्क पारिदियो। मेरो दिमागमा केवल एउटा प्रश्नचिन्ह मात्र कोरेर छोडिदियो। ‘के भन्छ यो लाटो?’ मैले क्वारक्वार्ति उसको अनुहार हेरेर अत्तोनपत्तोसँग उसको कुरामा सहि थाप्दै ‘अँ अँ’मा मुन्टो हल्लाउन थाले। तर बिस्तारै पछि त्यस कुराको मर्म बुझ्दै गएपछि मैले थाहा पाएँ उसको जिन्दगीले , उमेरको टुप्पामा पाएर अहिले अर्कै मोड लिएको रहेछ। त्यसैले उसको छन्द न छाँटको कुराको पेटमा एउटा नौलो तारतम्य र एउटा नौलो अर्थ लुकेको हुँदोरहेछ।
यही बजारमा एउटी तरूनी केटी थिई -कोइली ! ऊ देख्नमा त्यति राम्री त होइन, तर बैंसमा स्याल पनि घोर्ले हुन्छ भने ऊ त एउटी स्वास्नीमान्छे ! जब उसको छातीमा यौवन उक्सन थाल्यो, जब उसको मासुमा जवान स्वास्नीमान्छेको गन्ध आउन शुरू गर्यो, अनि जब उसका आँखामा एउटा नौलो सपना र नौलो चाहानाले च्याउन थाल्यो, टोलका एक-आध तन्नेरीहरू त्यसको आकर्षणमा स्वभावैले तानिन थाले। तर अनाठो कुरो त के भने तन्नेरीहरूको साथैमा त्यस बूढो कुमारको शिथिल मनका तारमा पनि यस आकर्षणले जवानीको गीत भरिदियो। लुरेको बूढो मन त्यस केटीको जवान स्वास्नीमानिसतिर नराम्रो सँग तानियो। ऊ त्यस केटीको मीठो सुसेलोमा आफ्नो प्राणको गीत अलाप्न थाल्यो। आफ्नो उमेर, आफ्नो स्थित सम्पूर्ण बिर्सेर मनमा पूर्णयुवकत्वको अनुभव गर्न ऐना हेर्न थाल्यो।
उता कोइली; उसलाई पनि जवानीमा एउटा बूढो खेलौना मिल्यो। ऊ त्यस बूढो बासनासँग एउटा रमाइलो खेल खेल्न थाली। खेल खेलमै उसले भनिदिई- “तिमी मलाई चौपट्ट मन पर्छौ। उमेर अलि ढलेर के भयो ? जागिरे छँदैछौ। मीठो मीठो खान दिन, राम्रा राम्रा लाउन दिन सकिहाल्छौ, म त अरूसँग जान्न, तिमीसँग पाउँछु।”
बस लुरे यसैमा मुग्ध भयो। ऐनामा आफ्नो अनुहार हेरेर ऊ कल्पना गर्न थाल्यो—हो त नि उसको उमेर अलि बढी भयो त के, ऊ अझ कुनै तन्नेरीभन्दा के कम छ त ? यही मिथ्या चश्माले आफ्नो अनुहार हेर्दै उसले आफ्ना अनुहारका रेखाहरू सबै बिर्सीदियो। अनि आफ्नो आमदानीको धेरै अंश पनि त्यसै केटीमाथी खर्च गर्न थाल्यो।
तर कोइली त्यो जवान केटी ! ऊ यस बूढो सारङ्गीको थोत्रो गीतमा कतिञ्जेल रस लिन सक्तथी ? उसको तन्नेरी मनको लागि आफूजस्तै तन्नेरी तन र तन्नेरी मनको तरुण गीत चाहिन्थ्यो। त्यसैले केही महीना यस बूढो सुगालाई ‘गोपी कृष्ण कहो’ घोकाएर मन बहलाई। आखिर उसले आफ्नो मनमाफिक संसार बसाउने बाटो लिई। यस घटनाले लुरेको असमयमा उठेको बूढो-बासनालाई नराम्रो धक्का दियो र त्यसैले उसको त्यो दलित-वासना उन्मादको रूपमा फुट्न गएको थियो।
लुरेको यस करूण – कथाले मेरो अनुभवमा मानिसको मनको एउटा बिल्कुल नौलो पत्र पल्टाइदियो। त्यसैले यसले मेरो संवेदनाको कुन चाहिँ मार्मिक तारलाई छुन पुगेछ, उसको एकोहोरो प्रलापभित्र एउटा मार्मिक स्वाद पाउन थालें। शायद यसैद्धारा प्रेरित भएर हो क्यार मैले आफूभित्र उसको झर्कोलाग्दो कुरा पनि चाख मानेर सुनिदिने धैर्य जन्माउन सकें। त्यसैले त उसले मलाई साथी सम्झ्यो। उमेरको हिसाबले मलाई छोरो भन्न सुहाउने भए पनि उसले मलाई एउटा साथी नै सम्झ्यो— सहानुभूतिशील र आत्मीय साथी। त्यसैले त म नुहाउन अथवा डुल्न पाउने समय उसले कण्ठ पारेको थियो र ठीक बेलामा मेरो अगाडि ऊ उभिन आइपुग्दथ्यो। उसको मुखभरि एउटा व्यथा बोकेको हाँसो फिजिएको हुन्थ्यो र उसका दुवै हात बडो श्रद्धासँग जुटेका हुन्थे। उसले मलाई साँच्चै आफ्नो घनिष्ट साथी सम्झन थालेको थियो। त्यसैले त म अगाडि पर्नासाथ उसको मनमा अहिलेसम्म गुडुल्किरहेका सम्पूर्ण भावना बाढीले बाँध फुटाएझै गरी उलेर पोखिन्थे -“नमस्कार सुब्बा बाजे ! खोइ हिजो त पाल्नुभएन नि !…किन सञ्चो भएन कि? ऊ त आउँदिन रे नि! मंगले त्यसै भन्छ। ..उसले आफैले भेटेको रे। नआएर कहाँ जाली त ? अन्त सुख पाउली र?… मैलेजति माया कसले गर्ला र?”
लुरेका आँखाले उसको मुख बाहेक अरू केही नदेख्ने भएको थियो; उसको श्वासले कोइली बाहेक अरू केही नबोल्ने भएको थियो। ऊ अब प्रायः कोइलीकी आमाको वरिपरि चील घुमेझैँ धुम्न थालेको थियो।
यतिखेर उसको स्वरमा एउटा नमर्ने खालको आशा र विश्वास बजिरहेझैं लाग्दथ्यो। उसका आँखा सान्त्वना पाउन याचना गरिरहेझैं लाग्दथे। उसको यो स्थितिले मेरो मन कस्तो कस्तो खल्लोजस्तो गराइदिन्थ्यो। म के भन्ने र कसो भनुँको दोधारे स्थितिमा पर्दथें। म प्रष्ट देख्तथे ‘ऊ फेरि फर्कन्छे’को निर्बल डोरीमा उसको घिटिपिटी झुण्डिएर अड्केको छ। यहि आशा र विश्वास (झूठ नै भए पनि) भत्कनासाथ उसको जिन्दगी छताछुल्ल हुन्छ कि भन्ने मलाई डर लाग्दथ्यो। त्यसैले म उसको अगाडि सत्यको (उसको निम्ति भयंकर तीतो) उद्घाटन गरेर उसको कल्पना भत्काइदिने आँट गर्दिनथेँ।
“आउँछे। मङ्गलेले भनेर हुन्छ ? मैले पनि त असनमा भेटेको, आउँछु भन्थी। मङ्गलेले ढाँटयो होला।”— मैले सजिलैसँग भनिदिन्थे। त्यतिबेला उसको अनुहारमा जुन पूर्णसन्तुष्टिको उज्यालो फुटेको देखिन्थ्यो, त्यसले मैले पनि केहि मात्रामा तृप्ति पाउँथें -एउटा अनौठो किसिमको सन्तुष्टि। मबाट यसरी सन्तुष्टिको आश्वासन पाएपछि ऊ त्यसमा पूर्ण विश्वस्त हुन्थ्यो। ऊ बडो प्रफुल्ल भएर भन्थ्यो- “हो आउँछ भनेर गएकी!.. त्यो घटेरो छ नि घटेरो, बले, हो त्यो त सधैँ फटाहा कुरो मात्र बोल्छ। अब तँसँग आउन्न, काँ हो पोइल गैसकी रे भनी सधैं जिस्क्याउँछ। हिजो पनि उसले चापागाउँमा भेटेको रे, मोटर चढेर हिँडेकी थिई रे। होला त सुब्बा बाजे?…कसको मोटर चढी होली त? त्यो घटेरो सद्दे कुरा त कहाँ बोल्छ र !”
यसरी बिस्तार बिस्तार लुरेको अभिसारको एउटा कथा बनेर त्यहाँ वरिपरि टोल-छिमेकमा एउटा मनोरञ्जनको मसला तयार भैरहेको थियो। खास गरेर यस मनोरञ्जनमा चाख मानेर भाग लिने प्रेमबहादुर साहू र उसकी जहान माया, घटेरो बलबहादुर, जमुनी माई, रत्ने पुलिस र जफती बूढा हुन्थे।
“मैले बाङ्गेमुढामा भेटेको। तिमीलाई भेट गर्न आउन भनेकी छ।” —प्रेमबहार साहू लहडमा भनिदिन्थ्यो। त्यसैको लहै-लहैमा लागेर दिनभर बाङ्गेमूढा, न्ह्योखा र न्हैकँतलाको गल्लीमा कुकुर लर्खराएझैं लर्खराएर फर्कन्थ्यो। कहिलेकाहीँ त उसलाई जेठमासको धूपमा अलकत्राको हप्प बाफमा उसिन्निएर नयाँसडकका अग्ला-अग्ला घरका झ्यालहरूमा हेर्दै भौतारिरहेको देख्दथें। त्यतिबेला उसको काखीमुनि एउटा सानो पुन्तुरो हुन्थ्यो।
“के हो ? यो टण्टलापुर घाममा कता भौंतारिएर हिडेको ?”, म उसको नजीक गएर सोध्दथें। मेरो प्रश्नले पहिले ऊ झस्कन्थ्यो— एक्कासि सपनाबाट बिउँझे झैं। अनि राम्ररी मलाई ठम्याएपछि उसको अनुहारमा किञ्चित् उल्लासको रंग चढेको देखिन्थ्यो।
“कहाँ, यहीं कुनचाहिं मारवाडीको घरमा नोकरी गरेर बसेकी छ रे। मलाई रत्ने पुलिसले भनेको। यहीं छ रे; उसले अस्ति पसलमा भेटेको रे। ऊ राजाको मान्छे, फटा कुरा त बोल्ला र ? उसले दुःख पाएकी छ रे। मलाई सम्झेर होला-रून्थी रे।…खाँचै सित्ति त, छोडेर गएपछि। ब्यानदेखि भात पनि खाएको छैन।”-ऊ एकोहोरो बडबडाउँदै जान्थ्यो र साथै काखीमुनिको पुन्तुरो पनि फुकाउँदै जान्थ्यो।
“लुगा पनि झुत्रो झुत्रो लगाएकी छ रे। अर्काको भाँडा माझ्छे कि के गर्छे। भेटें भनेँ जाऊँ हिंड भन्नुपर्ला।”-ऊ, बडो, मार्मिक स्वरमा भन्थ्यो। त्यतिबेला उसमा कहिले बालकको झैं उत्साह र कहिले वेदनाको कम्पना हुन्थ्यो। साथै ऊ आफ्नो पुन्तुरोबाट एउटा जनाना धोती झिकेर देखाउँदै भन्थ्यो- “हिजो किनेको सोह्र रुपियाँ लियो।… तलब दिया छैन, पण्डितनी बज्पसँग सापटी लिएको। मैयाले पनि ल्याइ दिन्छु भन्थ्यो, भो पर्दैन भनिदिएँ। आज भेटेँ भने दिनुपर्छ।”
यस्तै कुनै दिन जमुनी माई के लहडमा पाएर उस सँग ठट्टा गरिदिन्थिन्। ‘तेरी कोइली भरे पाउँछ रे’ भनेर उसलाई भनिदिन्थिन्। बस त्यसपछि ऊ दिनभर जमुनी माईको पछि लाग्दथ्यो र एकपल्ट होइन अनेकपल्ट खोर्याई खोर्याई सोध्न थाल्थ्यो- “के साँच्चै हो माई आमा? पक्कै आउँछे रे भरे ?”
“साँच्चै त हो त, कसले ठट्टा गर्छ तँ लठ्ठकसँग। बरू भात पकाइराख्नू !” -माई अलि झर्केझैं भनिदिन्थिन्। अनि त त्यो दिन लुरेका लागि चहाड हुन्थ्यो- जीवनको सबभन्दा ठूलो चहाड। त्यस दिन ऊ भएनभएको खोजीमेली मिठो चोखो तयार गरिराख्तथ्यो र आफू बागमतीको चेप्टो ढुङ्गामा उत्तानो परेर, शिरमाथिको नीलो आकाशमा आनन्दले नियाल्दै स्वर, ताल, र छन्द नै नभएको गीत गुनगुनाउन थाल्दथ्यो। त्यहाँ पाएका प्रत्येक मानिससँग-चाहे बुढो होस् बालो होस्, लोग्नेमान्छे होस्, स्वास्नीमान्छे होस् ऊ आफ्नो खुशीको खबर सुनाइहाल्थ्यो, “भरे आउँछे रे, जमुनी माईले भनेको पक्कापक्की गरेकी रे। .. पक्का आउँछे रे। मलाई छोडेर कहाँ जान सक्थी र! पोइल गएकी होइन रे; को मन्त्रीकहाँ नोकरी लागेर बसेको छ रे। भरे भात पकाइराख्नू भनेर पठाएकी- आउँछे रे। चामल थिएन पण्डितनी बज्यैसँग पैंचो लिएर पकाएको। … मासु पनि ल्या’छ, चार रूपियाँको।”
यसरी दिनभर भनेजस्तै ऊ भरे कोइली आएर मासुभात खाने कल्पनामा मस्त रहन्थ्यो। तर जब धेरै रात छिपिएपछि पनि कोइली आउन्नथी, अनि लुरे फर्सी गलेझैं गल्दथ्यो; छातीभित्र उठेको नराम्रो पीडालाई सुस्केरामा फाल्ने कोशिश गर्दै ऊ पकाएको मासु-भात लगेर कुकुरलाई दिन्थ्यो। त्यतिबेला उसका आँखाबाट तरक्क आँसु तर्कन्थ्यो। ऊ मनमा ज्यादै वेदनाको बोझ लिएरआफ्नो कोठामा फर्कन्थ्यो र आफ्ना थोत्रा लासा फाँगामा डङ्ग्रङ्ग लड्दथ्यो। अझ पनि उसको मनमा जमुनी माईले उसँग ठट्टा गरेकी हुन् भनेर पत्यार भैसकेको हुँदैनथ्यो। — “के बिरामी पो भै कि कोइली? मालिकले नै आउन दिएन कि? नत्र त माई मामाले पक्का पाउँछ भनेकी।…” ऊ आफ्नी छिमेकी गङ्गा बज्यैलाई सुनाएर बडबडाउँथ्यो। तर गङ्गा बज्यै उसका कुरामा कुनै चाख लिँदैनथिन्। अनि ऊ फेरि उहि छन्दनछौटको लठयौरो सुरमा गोपीचन्द्र अथवा भरथरीको भजन फलाक्न थाल्थ्यो।
यस्तै रात-दिनको पूर्णएकाग्रताले गर्दा त्यो केटी लुरेको प्रत्येक सासमा मिलिसकेझैं लाग्दथ्यो। लुरेका आँखाले उसको मुख बाहेक अरू केही नदेख्ने भएको थियो; उसको श्वासले कोइली बाहेक अरू केही नबोल्ने भएको थियो। ऊ अब प्रायः कोइलीकी आमाको वरिपरि चील घुमेझैँ धुम्न थालेको थियो।
उसको निम्ति अब बालो, बूढो, चिनेको, नचिनेको कसैमा पनि फरक रहन गएन। जसलाई, जहाँ, र जुन अवस्थामा भेटे पनि ऊ पछिपछि लाग्दथ्यो र आफ्नै गुनासो फलाकेर सुनाउँथ्यो। त्यसमा पनि ममाथि त उसको आत्मीयता र विश्वास अझ बढेको देखिन्थ्यो। किनभने, एक त म उसको सबै कुरा बडो धैर्यसँग चाख मानेर सुनिदिने सहानुभूतिशील साथी, दोस्रो उसका आँखामा म अरू मामुली मानिसभन्दा गहकिलो-सुब्बा ! त्यसैले म त्यहाँ पुगेको गन्ध सुँघेर ऊ म भएठाउँमा आइपुग्दथ्यो र आफ्नो वेदना पोख्न थाल्दथ्यो। – मसँगबाट सान्त्वना र दिलासा पाउन।
“कहाँ होली त त्यो सुब्बा बाजे ?”-म नुहाउन लागेपछि ऊ मेरो नजीक बागमतीको सिंढीमा टुक्रक्क बसेर एकसुरमा फलाक्न थाल्दथ्यो। “कोही असनमा छ भन्छन्, कोही त्रिशूलीमा गै भन्छन्। पोइल गएकी हो कि के हो आफूले भेट्या छैन।…दशैंमा टीका लाउन आमा चाहिकहाँ आउँछ रे भन्छ मैया,-हो कि होइन ! मैयाले नै भेटेको रे भन्छ। आउन त पाउली हगि सुब्बा बाजे ?”
अब मैले दिनदिनै उसको अवस्था परिवर्तन भएको देख्न थालेको थिएँ। उसले अड्डा जान पनि प्रायः छोडेको थियो। अब ऊ प्रायः कोइलीको आमाको डेराअगाडिको पाटीमा झोक्राएर बसेको देखिन्थ्यो। उसका वरिपरि प्रायःजसो केटाकेटीहरू झ्यामिरहेका हुन्थे —उसलाई जिस्क्याइरहेका हुन्थे। तर ऊ यिनै केटाकेटीहरूलाई पाएर पनि एउटा ठूलो आधार माने झैं उनीहरूसँगै गन्थन गरिरहेको हुन्थ्यो– “तिमीहरूले देखेका थियौ ?…कहां भेटेका ?… यहाँ आउँदिन रे?… फलानो तिमीलाई सम्झेर रोइरहन्छ भनेनौ ?”
साँच्चै देख्तादेख्तै यो पाँच-सात महीनाभित्रमा लुरेको अवस्था धेरै फरक देखिएको थियो। ऊ निकै गलेको र निकै असहाय देखिन थालेको थियो। अनुहारका रेखा त झन् झन् प्रष्टिदै गएका देखिन्थे, आँखा वरिपरिको कुण्डली झन् झन् गहिरो हुँदै गएको थियो र आँखामा एककिसिमको उन्माद प्रष्टिँदै गएको देखिन थालेको थियो।
यसपटक मैले लुरेलाई भेट्दा अघिल्लोपल्टको भन्दा निकै नै खराब अवस्थामा पाएँ। उसले मलाई देख्नासाथ तरक्क आँसु काढ्यो अनि मेरो अगाडि बसेर कोइलीको कुरा गर्न थाल्यो -“सुब्बा बाजे, मैले त्यसलाई अति माया गरें तर त्यो बैगुनीले मलाई छोडेर गै। ऊ पनि मलाई माया गर्थी; तिम्रो असाद्धे माया लाग्छ, तिमी विष्णु भगवानजस्तै लाग्छ, तिमीलाई छोडेर म कसैसँग पनि जान्नँ; तिमीसँग बस्छु, तिम्रो चाकरी गर्छु, मीठो चोखो तुल्याएर खान दिन्छु भन्थी। तर कसले उसको मन भाँडिदियो, कसले। त्यै मोरो कसाईजस्तो डाइवरले फकाएर लग्यो। बसेकी भए म पनि उसलाई माया गर्थेँ। अब पिन्सिन पनि पाकिहाल्छ; बसेकी भए जागिरको तलब पनि जम्म त्यसको हाताँ हालिदिन्छु भन्या थें।”
लुरे एकोहोरो आफ्नै सुरमा बडबडाउँदै गयो। उसको त्यो बिलौना साँच्चै भित्र मुटुमा नराम्रो चस्का दिनेखालको थियो। म बडा करुणापूर्ण आँखाले उसको अनुहारमा हेरिरहेको थिएँ त्यस बीचमा त्यहाँ उसको अनुहारमा विभिन्न रेखाहरू कोरिए; मेटिए। विभिन्न रंगहरू प्रष्टिए-बिलाए। कहिले उसको अनुहार अबोध बालकको झैं देखिन्थ्यो-कोमल, भावुक, निरीह; कहिले त्यसमा क्रोध, क्षोभ र घृणाको राँको राँकिएको पनि पाइन्थ्यो।
“ऊ पोइल गैसकी रे !…तर पोइल गए पनि उसले सुख पाएकी त छैन रे! गरीबसँग गएकी रे; राम्ररी खान लाउन दिन पनि सक्तैन रे ! पिट्छ रे, बेलुकी घर आएपछि-मारिपिट्छ रे ! बेसरी जाँड खाएर आउँछ रे, अनि मारि-पिट्छ रे !…पाई स्वाद !… अहिले त जसलाई देखे पनि रुन्छे रे; मलाई सम्झेर होला ! तर। सुब्बा बाजे, कतै पिट्दा-पिट्दै पुक्लुक्क पो पारिदिन्छ कि ?”
बोल्दा बोल्दै उसको स्वर थर्केको प्रष्ट आभास हुन्थ्यो; आँखा साउनको बादलझैं-करीब करीब चुहिने स्थितिमा पुगेका थिए र अनुहार ज्यादै पीडित र मार्मिक। यो देखेर मलाई भित्रभित्र ज्यादै पीडाको अनुभव भयो। मैले आफूलाई पनि अपराधको अंशियारको रूपमा राखेँ। किनभने मैले पनि उसका कुरामा सही थापेर आफूतिरबाट झूठ बोलेर उसको हृदयको मरीचिकापूर्ण सपनालाई उकास्ने काममा मद्दत गरेको थिएँ। यस अपराध-बोधले मलाई नराम्ररी चिमट्यो। तर अब पाएर प्रायश्चित्तको बाटो पनि त छैन। “तँजस्तो तीन मुरी चानचुन उमेर खाएको मान्छेसँग आएर आफ्नो सपना धुल्याउन के कोइली बेकुफ छ र?, ऊ आउन्न” भनेर उसको विश्वासलाई एकपटक चकनाचूर गरिदिऊँ ? मलाई लाग्छ, उसको हृदयमा बज्न बनेर जमिसकेको विश्वास यदि टुक्रिन गयो भने उसको भित्रको मान्छे नै छताछुल्ल हुन असम्भव छैन। त्यसैले बरू यो निरीह मान्छे बाँचुञ्जेल (यो अब कति नै बाँचिजाला र ?) यही ‘ऊ एक दिन फर्कन्छे, ऊ मेरी बाहेक कसैकी होइन’, भन्ने विश्वासपूर्ण (झूठ नै भए पनि) सपनामा भुलेर सान्त्वना पाउँछ भने हानि नै के छ र ! मनको घोर-द्वन्द्वपछि मैले उसलाई निराश पारेर उसको जिन्दगी छताछुल्ल पारिदिनु साटो मोहनिन्द्रामा नै लठ्याएर राख्नु उत्तम ठानेर भनिदिएँ-“धन्दा नमान ! ऊ तिमीसँग आउँछे; कसैसँग जान्न ! तिमीलाई ऊ धेरै माया गर्छे, पोइल गै भन्नेहरू फटाहा हुन्।”
लुरेको विश्वासले यसरी झन् झन् टेवा पाइरहेको थियो। त्यसपछि सबैलाई जिन्दगीको व्यस्तताले कैदी बनाए झैं मलाई पनि आफ्नो व्यस्तताले जकडिदियो। मैले धेरैसम्म उससँग भेटगर्ने औसर पाइनँ। सम्पर्क टाढा भएकोले उसको रोमांशको सम्झना पनि धेरै धमिलो चित्रको रूपमा रहन गयो। यदाकदा उसको निर्दोष अनुहार, उसको विचित्र अवस्थाको सम्झना आइहाले तापनि त्यसमाथि धेरैबेर घोरिने समय नै म पाउन्न थें। यसैगरी उसको अस्तित्व नै प्रायः मेरो सम्झनाबाट मेटिदै गैसकेको थियो। तर एकदिन एक्कासि उसको सम्झनाले मलाई नराम्रोसँग चिमट्यो। मलाई उससँग भेटूँ भन्ने इच्छाले नराम्रोसँग ठेल्न थाल्यो। त्यस दिन फुर्सत पनि थियो र म न्वाइध्वाई पनि हुन्छ, लुरेलाई पनि भेटिन्छ भन्ने विचारले बागमतीतिर ओर्लेँ।
माया साहूनी पसलमा खुवा घोट्दै थिई। लुरेको बारेमा जान्न मेरो मनलाई उत्सुकताले हुँडलिरहेको थियो। म मायासँग सोधौं भन्ने सुरसार मात्र गर्दै थिएँ जफति बूढा टक्क आइपुगे।
“ओ हो ! नमस्कार सुब्बा बाजे ! यतातिर पाल्नुनभा त धेरै भयो ! बिचरो लुरे दिनको तीनपल्ट सुब्बा बाजे पाल्नुभो कि? भनेर सोध्न आउँथ्यो।”-जफतिले भने।
“हो साँच्चि त !”, मायाले पनि सही थापी-“ऊ सधैँ आएर सोध्छ। अनि ऊ त्यो माई आमा (कोइलीकी आमा ) को डेराअगाडि पाटीमा झोक्रेर बस्छ। अनि त्यसै बस्छ। अनि त्यसै जान्छ। ऊ कसैसँग कुरा पनि गर्दैन, आजभोलि त तीन चार दिन भयो यता आएन।”
“हँ, मलाई सोध्न आउँछ ?”, मैले हाँसेर सोधे। तर उसको अवस्थाको कल्पनाले मेरो भित्र एउटा खल्लो सहानुभूति दियो। बिचरो ऊ मेरो यत्रो आधार मान्थ्यो। मलाई नपाएर उसले आफूलाई ज्यादै निराधार ठान्यो होला। मेरो मनमा उसलाई भेटेर सान्त्वना दिने प्रबल ईच्छा उठ्यो र म उसको डेरातिर लागेँ।
लुरेको अवस्था त साँच्चै नराम्रो भैसकेको देखियो। अनुहार ज्यादै डढेको र कालो। आँखामा पहिलेको भन्दा निकै बढेको उन्माद। पहिले झ्वास्झ्वास्ति उसले मलाई ठम्याउन सकेन, चिनेपछि भने उसको अनुहारमा कुनै चिरप्रतीक्षित खेलौना अनायास हात पर्दा एउटा बालकको अनुहारमा जस्तो प्रसन्नता खेल्छ त्यस्तै खालको प्रसन्नताको लहर फैलिएको देखियो। ऊ बोल्न नसकेर हडबडाए झै रन्थनिए झैं भएको देखियो।
“ऊ त आई नि सुब्बा बाजे ! दशैंको टीका लाउन आई, अब कहिल्यै जान्न।” -लुरे एकदम कुनै रहस्यको कुरो भनेझैं मेरो कानमा खासखुस गर्न आयो। अनि बडो खातिरसँग मलाई आफ्ना मैलो ओछ्यानमा लगेर बसाल्यो। अनि एकचिलिम तमाखु भरेर टक्रयायो र अनि कोठामा तान्तानतुन्तुन् गर्न थाल्यो।
“के कोइली लुरेकहाँ फर्किछ ?… यस खबरले मलाई बडो हर्षको अनुभूति दियो। अनि आँखाले तत्क्षणै उसको डेराको अवस्थालाई सर्भे गरिहालेँ— सानो कुचुक्क परेको र ध्वाँसै ध्वाँसोले रङ्गिएको कोठा एक कुनामा एउटा एकमुखे चुल्होमाथि घोप्टयाएका एकसरा भाँडाकुँडा— एउटा थाल, एउटा कसौडी, एउटा बीरगञ्जे ताप्के, एउटा कचौरा, एउट लोहोटा, डाडू-पन्यो। अनि अर्को कुनामा अघेना, अघेनैको डिलमा एउटा मकल बनाएको कहतारो, एउटा नरिवलको हुक्का र टीनपाताको चिम्टा। अघेनैमाथि दुइटा मैला मैला ओछयान, त्यसमाथि दलीनमा वारपार गरेर टाँगेको डोरीमा केही अर्धाना लुगा-कपडा।
तर मैले लाख प्रयत्न गरेर खोज्दा पनि लुरे बाहेक अरू कुनै जीवित अस्तित्वले त्यस कोठामा सास फेरेको चिह्न मैले पाउन सकिनेँ। मलाई आश्चर्य लाग्यो। कोइली आई भन्छ यो लुरे। मैले उसतिर हेरेँ। ऊ अझै तान्तान्तुन्तुन् गरिएको थियो। उसले एक कुनाबाट एउटा पुरानो टीनको बाकस ल्याएर मेरो अगाडी तेर्स्यायो। अनि त्यसलाई खोलेर त्यसभित्रका सम्पूर्ण मालसामान मेरो अगाडि बजार लगाइदियो।
“यसपाली दशैं पेश्की दियो र किनेको ! यो मारवाडीको पसलको। उसलाई साह्रै मनपर्यो रे। उसले अस्ति दशैंमा यही लाएर टीका लाई। ऊ ओछ्यान देख्नुभएन ? हो त्यहीँ सुत्छे।”-लुरे बडो रहस्यपूर्ण स्वरमा खासखुस गर्न थाल्यो। मेरोमनका के के रहस्य झैं भान भैरहेको थियो। बाकसबाट झिकेका मालसामानमा दुइटा मझौला खालका जनाना सारी, एउटा हरियो साटनको चोलो, एउटा रातो नाइलीनको सारी, रातो मखमलको चट्टी एक झुत्ता, रातो पोते, चुरा, धागो, ऐना, काँगियो, टीका-बट्टा, तेलको शिशी इत्यादि सम्पूर्ण शृङ्गारका सामान थिए। तर मलाई आश्चर्य लागिरहेको थियो-यी सबै वस्तुहरू पूर्ण-अछुता थिए-उसले दशैंमा लगाएर गई भनिएको लुगा लगायत ओछ्यान, शृङ्गारका सर्दाम सबै चोखै।
मलाई अनौठो लाग्यो। म लुरेको सम्पूर्ण कार्यकलाप विचित्र आँखाले हेरिरहेको थिएँ।
“सुब्बा बाजे ! ऊ असाद्ध राम्री भै छ।… के गरौं म तपाईंलाई देखाइदिन्थे, तर अरूको अगाडि मेरो सामु पनि आउन्न। लाज लाग्छ रे, अरूले रीस गर्छन् रे।… अब मलाई छोडेर कहिल्यै जान्न रे, मेरो खूब चाकरी गर्छु भन्छे।… म तपाईंलाई देखाइदिन्थें, तर ऊ कोही नभएको बेलामा मात्र आउँछे।”- लुरे आफ्नै धूनमा एकोहोरो बडबडाउँदै गैरहेको थियो। अब मलाई छर्लङ्ग भयो लुरेको प्रबल इच्छा र चाहानाले आफूभित्रै एउटा भ्रमको सृष्टि गरिसकेर बाँच्ने आधार बनाएछ। मलाई उसको यो अवस्था देखेर भित्रमित्र रुन मन लागेर आयो। लुरेका गहिरो भावनाका प्रतीक सम्पूर्ण शृङ्गारका वस्तुहरू-व्यवहार नगरीएका चोखा मेरो आँखाअगाडि फैलिएका थिए। लुरे आफ्नै भ्रमित-यथार्थमा मग्न भएर बसेको उसको अनुहार साँच्चै उज्यालो देखिएको थियो। मलाई यो दृश्य हेरिरहन सह्य भएन।
“म जान्छु पनि, मैले नुहाएको पनि छैन।”, मैले भनेँ र म उठेर ढोकातिर बढेँ। तर ढोकाबाट हम्मेसी बाहिर निस्कन सकिनँ। किन किन फर्केर हेर्न मन लाग्यो। ढोकैमा एकछिन उभिएर फर्केर हेरें। लुरे आफ्नो त्यस भ्रमका प्रतीक स्वरूप चुरा-धागो हातमा लिएर एकटक त्यसमा टोलाइरहेको थियो।
(विकलको कथा संग्रह ‘एउटा बूढो भ्वाइलेन : आशावरीको धूनमा’ बाट)
रमेश विकल
२६ असोज २०७८ १५:३३थप समाचार
लोकप्रिय (यो साता)
-
१
अस्ट्रेलियाबाट फर्किएलगतै श्रीमती बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ
-
२
नेपालमा वैकल्पिक राजनीति : गठन र विघटनको दुश्चक्र
-
३
टिकटकबाट गायब भए आयुष र एलिजे, गाली सहन नसकेर कि फलोअर बचाउन ?
-
४
अमेरिकामा जन्मिएको आधारमा स्वतः नागरिकता पाउने व्यवस्था हटाउने ट्रम्पको घोषणा
-
५
नक्कली माओवादी बनेर चन्दा उठाएको खुलासा गर्ने पत्रकारलाई हर्क साम्पाङको धम्की
-
६
इजरायली प्रधानमन्त्रीले दिए सिरियाको बफर जोन ‘कब्जा’ गर्न सेनालाई आदेश
-
७
सुध्रिएनन् ‘भाइरल झाँक्री’ प्रकाश भुजेल, जेलभित्रै झारफकु गर्न थाले चिसोका बिरामी !
-
८
गंगा दाहाललाई सञ्जय दत्तको सन्देश: स्मितालाई बिहेको शुभकामना, चाँडै भेट्न आउने वाचा
न्यूज अपडेट
-
आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्न सक्ने गरी संगठन निर्माण गर्नुपर्छ : उपमहासचिव पुन
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका नेपाली युएईबाट पक्राउ
-
पर्सामा रविको बयान सकियो, बुधबार पोखरा फिर्ता पठाइने
-
वेष्टइण्डिजका पूर्वकप्तान ब्रायन लारा नेपाल आउने
-
एमालेले भन्यो- प्रधानमन्त्रीको चीन भ्रमण सफल भयो
-
विमानस्थलको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन
-
उपनिर्वाचनबाट शहरी क्षेत्रमा धक्का लागेको एमालेको निष्कर्ष
Facebook Comment
Comment