सुकुमबासी समस्या समाधान दिगो रूपमा गरिनुपर्छ – पूर्वप्रधानमन्त्री भट्टराई

नेपाल भ्यूज

चितवन। जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सुकुमबासी समस्या दिगो रूपमा समाधान गर्नुपर्ने बताएका छन्।

पत्रकारसँग चितवनमा आज (सोमबार) कुराकानी गर्दै उनले वास्तविक सुकुमबासीहरूको पहिचान गरी तिनीहरूको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताए।

उनले भने, “सुकुमबासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो।” आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुमबासी समस्या समाधान गर्नतर्फ सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताए। उनले थपे, “वास्तविक सुकुमबासी पहिचान गरौं, तितरवितर पार्नु समस्याको समाधान होइन।”

फरक प्रसंगमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले विगतमा एकखाले प्रवृत्तिले व्यवस्था पल्टाउने, संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्टाउने, संविधान खतरामा पर्ने दिशातर्फ गएको भन्दै अहिलेको सरकारको गतिविधि त्यसभन्दा फरक हुनुपर्ने बताए।

उनले भने, “अहिलेको सरकारको गतिविधि पहिलाको भन्दा फरक भएन भने जनतामा निराशा आउँछ।” प्रतिगमनविरुद्ध संघर्षबाट बनेको सरकार भएकाले यो सरकार पूर्ण कार्यकाल चल्ने उनको भनाइ थियो। उनले भने, “गठबन्धनको मात्रै होइन लोकतन्त्रमा पूरा कार्यकाल व्यवस्थापिकाले पूरा गरेन भने त्यसले राम्रो सन्देश दिँदैन।”

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved