सुदूरपश्चिममा दुई सातामा भारतबाट भित्रिए ३४ हजार नेपाली

‘‘रातभरी बसको यात्रामा थाकिएको हुन्छ’’, भारतको सिमलाबाट आउँदै गरेका दिलबहादुर बुढाले भने, ‘‘भारी बोकेर नाकामा लाइन बस्दा निकै सास्ती हुन्छ।’’

सुदूरपश्चिममा दुई सातामा भारतबाट भित्रिए ३४ हजार नेपाली
फाइल तस्वीर

महेन्द्रनगर। पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ। दशैं-तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो।

सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य भारतका विभिन्न सहरबाट चाडपर्व मनाउन यहाँको गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको संख्यामा उल्लेखनीय वृद्धि भएको प्रहरीले जानकारी दिएको छ।

बितेको दुई साता यता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन्।

स्वदेश फर्किनेको भीड बढेपछि प्रहरीले सीमा क्षेत्रको सुरक्षा सर्तकता बढाएको छ। ‘‘गड्डडाचौकी नाकाबाट मात्रै दैनिक एक हजारदेखि एक हजार ५०० जनासम्म भित्रिएको तथ्यांक छ’’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले भने, ‘‘नाकामा भीडभाड बढेपछि सुरक्षा बढाउनुका साथै यात्रुको सहजतामा ध्यान दिएका छौं।’’

गड्डाचौकी नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर निगरानी बढाइएको छ। भने यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालयले चाडपर्वका बेला हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजनासमेत बनाएर शान्ति सुरक्षाका लागि खटिएको छ।

त्यसैगरी डोकेबजारस्थित प्रहरीचौकी पचगडियाका प्रहरी नायव निरीक्षक दिपेन्द्र थापाले चाडपर्व मनाउन स्वदेश फर्किने क्रम यहाँबाट पनि बढेको बताए। सो नाकाबाट दैनिक ५०० देखि एक हजार ४०० सम्म दैनिक भित्रिएको तथ्यांकले देखाएको छ।

भारतको दिल्ली, मुम्बै, महाराष्ट्र, पञ्जाव, पुना, बैङ्लोर, सिमला, हरिद्धारलगायतका सहरमा नेपाली रोजगारीका लागि सदियौंदेखि आउने जाने गरेका छन्।

त्यसैगरी भारतबाट घर फर्किनेबाट कोभिड संक्रमणको जोखिम रहेकाले जिल्ला स्वास्थ्य कार्यालयले सीमामा परीक्षण र खोप लगाउने कामलाई अघि बढाएको छ। ‘नाकामा कोरोना परीक्षण गर्ने र सङ्क्रमण देखिए आइसोलेसनमा आश्रय दिने गरिएको छ’, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, ‘‘हामीले चाडपर्वसँगै कोरोनाप्रति सजगता अपनाउन जुरुरी छ।’’

स्वास्थ्य कार्यालयले गड्डाचौकीमा संक्रमण देखिएकालाई कम्युनिटी हेल्थ इन्स्टिच्युट (आइसीएच) को आइसोलेशनमा राख्ने गरिएको बताए। ‘‘अहिले सात जनामा संक्रमण देखिए पनि आइसोलेशनमा रािखएको छ’, उनले भने, ‘नाकामा आउनेलाई व्यवस्थित रुपमा परीक्षण र खोपको व्यवस्थापनमा खटिएका छौं।’’

यता भारतबाट स्वदेश फर्किनेले भने सीमामा घण्टौं लाइन बस्नु पर्दा समस्या भइरहेको गुनासो पोखेका छन्। उनीहरूले स्वास्थ्य सर्तकताका लागि पहल गरिए पनि सहज गर्न माग गरेका छन्। ‘‘रातभरी बसको यात्रामा थाकिएको हुन्छ’’, भारतको सिमलाबाट आउँदै गरेका दिलबहादुर बुढाले भने, ‘‘भारी बोकेर नाकामा लाइन बस्दा निकै सास्ती हुन्छ।’’

स्थानीय प्रशासनले भारतीय नागरिकलाई भने आधार कार्ड, कोराना परीक्षण गरेको कागजात देखाएमात्रै नेपाल प्रवेश गर्न अनुमति दिएको छ। रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved