काठमाडौँ। आजबाट काठमाडौँ महानगरभित्रका चौपाया बजारमा खसीबोका र भेडा च्यांग्राको परीक्षण शुरु भएको छ। महानगरपालिकाले संघ सरकारको पशु सेवा विभाग र बागमती प्रदेशको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग सहकार्य गरेर परीक्षण तथा अनुगमन थालेको हो।
परीक्षणको पहिलो दिन कलंकी खसी बजारमा विभागका महानिर्देशक डा. दमयन्ती श्रेष्ठ, विज्ञ केन्द्रका वरिष्ठ पशु चिकित्सक डा. गौरीमान श्रेष्ठ, महानगरको वडा १४ की अध्यक्ष शोभा सापकोटाले निरोगी खसीको सिङमा हरियो रङ लगाएर परीक्षण थालनी गरेका हुन्।

काठमाडौँको ठूलो बजार भएकाले कलंकीलाई व्यवस्थित गरे अन्य ठाउँमा निरोगी चौपाया पुग्ने वडाअध्यक्ष सापकोटाले बताइन्।
महानगरभित्रका दशैँ लक्षित चौपाया बजारहरू कलंकी, खाद्य संस्थान थापाथली परिसर, टुकुचा खसी बजार र बालाजु बाइपास क्षेत्र हुन्। महानगरका पशु विकास अधिकृत डम्मरबहादुर बमले यी बजारमा विहान ७ बजेदेखि १२ बजेसम्म एउटा टोली र १२ बजेदेखि ५ बजेसम्म अर्को टोली गरेर २ वटा टोली नियमित परिचालन गरी परीक्षण गरिने बताए।

काठमाडौँ महानगरसँगै ललितपुरको लगनखेल, भक्तपुरको लोकन्थली, सल्लाघारी, चाल्नाखेलको राँगा बजार, चन्द्रागिरी (थानकोट) दाउरा डिपोका चौपाया बजारमा पनि परीक्षण हुने महानगरले जनाएको छ।
