१९ किलो काइनेटिक ढुंगासहित २ पक्राउ

काइनेटिक ढुंगाको अन्दाजी मूल्य दुई लाख रुपैयाँ रहेको छ।

१९ किलो काइनेटिक ढुंगासहित २ पक्राउ
सांकेतिक तस्वीर

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट १९ किलो ४० ग्राम काइनेटिक ढुंगा बरामद गरेको छ।

जिप्रका सुर्खेतका अनुसन्धान अधिकृत (प्रहरी निरीक्षक) कनकबहादुर शाही नेतृत्वको प्रहरीले वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलस्थित सुर्खेतबाट सो परिमाणको काइनेटिक ढुंगा बरामद गरेको हो। सोही टोलमा रहेको जयधनी बस्नेतको घरमा अवैध ढुंगाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा त्यहा पुगेर उक्त चीज बरामद गरेको प्रहरी निरीक्षक शाहीले जानकारी दिए।

“बस्नेत र जुनीचाँदे गाउँपालिका ७ जाजरकोट घर भई वीरेन्द्रनगर नगरपालिका–१२ सुर्खेतमा कोठा भाडामा बस्दै आएका ३२ वर्षीय रामकृष्ण घर्तीलाई बस्नेतकै घरमा शंकास्पद रूपमा कुराकानी गरिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएका छौँ”, उनले भने, “जयधनीकै घरमा खान तलासी गर्दा तीनवटा प्लाष्टिकको कट्ठामा अवैध तरिकाले लुकाई छिपाइ राखेको कालो चीज (काइनेटिक ढुंगा) बरामद गरिएको छ।”

उनका अनुसार काइनेटिक ढुंगाको अन्दाजी मूल्य दुई लाख रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएका बस्नेत र घर्तीसहित बरामद चीज आवश्यक अनुसन्धानका लागि खानी तथा भूगर्भ विभाग शाखा कार्यालय सुर्खेतमा पठाइएको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved