झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा दुई जनाको मृत्यु, सयौँ बिरामी 

नेपालभ्युज

झाडापखालाबाट कपिलवस्तुको कृष्णनगरमा दुई जनाको मृत्यु, सयौँ बिरामी 

बुटवल। कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ। ५ वर्षका राज कश्यप र ४० वर्षका रामप्रसाद केवटको मृत्यु भएको शिवराज अस्पताल बहादुरगंजले जनाएको छ। झाडा पखालाबाट गम्भीर बिरामी परेका दुवै जनालाई अस्पताल ल्याइँदै गर्दा बाटोमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी रवि उपाध्यायले बताए।

अहिले कृष्ननगरका वडा नं ७, ८ र ९ तथा महाराजगन्जका केही वडाहरूमा तीन दिनदेखि झाडापखालाको प्रकोप फैलिएपछि गम्भीर बिरामी भएर अस्पताल आउनेहरूको संख्या बढिरहेको छ। बिरामीको चाप बढेपछि शैय्याको अभावमा भुईँमा नै राखेर उपचार गरिएको सूचना अधिकारी उपाध्यायले बताए। उनका अनुसार अहिले अस्पतालमा एक सय जतिको हाराहारीमा रहेका छन्।

‘‘अस्पताल पुरै भरिएको छ। गाउँगाउँबाट बिरामीहरू आइरहेका छन्, ‘‘सूचना अधिकारी उपाध्यायले भने, ‘‘कसरी व्यवस्थापन गर्ने भनेर हम्मे हम्मे परेको छ।’’

झाडापखालाका प्रकोप बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले दुई डाक्टरहरूसहितको टोली प्रभावित क्षेत्रमा पठाएको छ। यता नगरपालिकाको स्वास्थ्य शाखाबाट समेत एउटा टोली प्रभावित क्षेत्रमा खटिएको छ।

स्वास्थ्यकर्मीहरुले घरघरमा नै गएर बिरामीको अवस्था बुझिरहेको सूचना अधिकारी उपाध्यायले बताए। उनको अनुमानमा प्रभावित वडामा ८० देखि एक सय  जना जति झाडापखालाका बिरामी छन्।

अस्पतालका चिकित्सक मुकेश चौधरीका अनुसार सिकिस्त भएका ७ जनालाई थप उपचारको लागि अन्यत्र पठाइएको छ। अन्य केहीको भने निजी क्लिनिकमा उपचार भइरहेको छ। नगरपालिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी बढी देखिएका छन्।

नगरपालिकाका प्रमुख रजतप्रताप शाहले झाडापखालाको कारण यकिन हुन नसकेपनि दूषित पानीबाट प्रकोप फैलिएको हुनसक्ने आकलन गरिएको बताए। यसबारेमा बुझ्न लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको टोली प्रभावित स्थलतर्फ जान लागेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved