आर्मी र न्यू डायमण्डलाई भलिबलको उपाधि

नेपालभ्युज

आर्मी र न्यू डायमण्डलाई भलिबलको उपाधि

काठमाडौं। त्रिभुवन आर्मी र न्यू डायमण्ड क्लबले एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेका छन्। प्रतियोगिताको पुरुष तर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन टिपटप हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ट्रफीमा आफ्नो नाम लेखाउन सफल भयो।

सेनाले खेलको पहिलो सेट २६–२४ ले संघर्षपूर्ण रुपमा आफ्नो पक्षमा पार्‍यो। दोस्रो सेट १७–२५ भने हेल्प नेपाललाई सुम्पन पुगेको सेनाले तेस्रो सेट पुन: सम्हालिँदै २५–१८ ले जित्यो। निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक चौथो सेटमा ३३–३१ को संघर्षपूर्ण जितसँगै सेनाले उपाधि जितेको हो।

दशरथ रंगशालामा भएको अर्को खेलमा एपीएफ क्लबलाई ३–० ले पराजित गर्दै पुलिसले भने तेस्रो स्थान प्राप्त गर्‍यो। पुलिसले एपीएफ विरुद्ध २५–१७, २५–१८ र २५–१४ को सहज जित निकालेको थियो।

उता महिला तर्फको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफ क्लबलाई पराजित गर्दै न्यू डायमण्ड क्लबले उपाधि जित्यो। शनिबार सम्पन्न खेलमा डायमण्डले एपीएफ माथि ३–१ को जित निकाल्दै उपाधि उचालेको हो ।

राष्ट्रिय खेलाडीहरुको बर्चस्व रहेको विभागीय टोलीसँगको पहिलो सेट २४–२६ ले गुमाउन पुगेको डायमण्डले त्यसपछि सम्हालिंदै लगातार तीन सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेटमा २५–२१ ले जित निकालेको डायमण्डले तेस्रो सेट २५–१७ र चौथो सेट २५–१५ ले जितेको थियो।

सेनाको त्रिभुवन आर्मी क्लबले भने पुलिसलाई पराजित गदै तेस्रो स्थान प्राप्त गर्‍यो । सेनाले पुलिसलाई २५–१७, २५–२०, २५–१७ को सोझो सेटमा हराएको थियो।

दुवै च्याम्पियन टोलीले उपाधिसँगै ४ लाख नगद पुरस्कार प्राप्त गरे भने उपबिजेता टोलीले नगद २ लाख प्राप्त गरे। प्रतियोगिताका पुरुष तर्फ सेनाका मान बहादुर श्रेष्ठ र महिला तर्फ न्यू डायमण्डकी प्रतिभा माली उत्कृष्ट खेलाडी चुनिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved